५० वर्षअघिको काठमाडौँ र आजको युरोपका सहर उस्तै देखिन्छन् । हामीसँग पनि कला रहेछ, शिल्प रहेछ, सामग्री रहेछ, सोच र दूरदृष्टि सबै रहेछ । आज त्यस्ता घर कि इतिहास, कि गरिबी, कि पर्यटकीय गन्तव्य मात्रै हुनु दुःखद् छ । अरबको खाडीमा पसिना बगाउने र जम्मा ३ सदस्य भएको परिवारसँग पनि आज ३ तले विशाल घर छ, भलै अगाडि एउटा गाडी पार्किङ गर्ने ठाउँ र पछाडि सागसब्जी उमार्ने ठाउँ नहोस्
यसो पढ्दै जाँदा हाम्रा लागि सबैभन्दा बढी पौष्टिक भोजन त दाल–भात–तरकारी र अचार नै रहेछ । नपढेका हाम्रा पुर्खाले बनाए पनि र अलि गरिबको खानाजस्तो देखिए पनि यो आफैमा ‘ब्यालेन्स्ड डाइट’ रहेछ ।शरीरलाई अत्यावश्यक कार्बोहाइड्रेटदेखि प्रोटिन र फाइबरसम्म दाल र भातबाट अनि भिटामिन्स र अन्य मिनरल्सचाहिँ तरकारीबाट । अझ दाल र भात त प्रोटिनकै लागि पनि एकअर्काका परिपूरक रहेछन् ।
पेटका असल ब्याक्टेरियालाई पनि भोकै राख्न त भएन, साँधेको अचारदेखि एक गिलास मोहीसम्म त्यसैमा जोड्नुस् । मौसम अनुसारको फलफूल त छँदै छ । ‘कर्कमिन’ भनेर आजभोलि ट्याब्लेटमा आउने बेसार पनि त्यहीँ, अनेक रोगको औषधि भनेर चर्चा हुने लसुन र अदुवा पनि त्यहीँ । शरीरलाई नभई नहुने फ्याट पनि त्यहीँ । त्यसमाथि जीरा, धनिया, ज्वानो, मेथी, ल्वाङ् या मरिच जे पड्काए पनि औषधि नै रहेछन् ! पुदिना होस् या गोलभेँडा, तिलको छोप होस् या आलस, भाङ् होस् या टिम्मुर…फुडदेखि सुपरफुडसम्म हाम्रै भान्सामा रहेछन् ।
चट्ट दिउसोको घाममा गुन्द्रीमा बसेर मोहीसँग भटमास र मकै चपाउँदा पाइने प्रोटिनै प्रोटिन पनि चट्ट कोदालो खन्दा पाखुरातिर सुर्किने रहेछ । मोही मथेका पाखुरा त युगौँपछि पनि सुडौल देखिन्छन् । त्यही गुन्द्रीमा एक दाना सुन्तला छोड़ाउने हो भने भिटामिन सीदेखि डीसम्मका रोइकराई बेकार । तर आज टिकटकदेखि इन्स्टासम्म डाक्टर नै डाक्टर । वैज्ञानिक नै वैज्ञानिक । यो खाए सुगर, त्यो खाए थाईरोइड । भात त छोए मात्रै पनि बित्यास नै पर्ला जस्तो । पानीबाहेक अरूले डुबाउँछन् जस्तो । भोकै बसे तन्दुरुस्त भइन्छ जस्तो । आतंक नै आतंक । क्रेज यस्तो कि जीवनकै उच्चतम ‘ग्रोथ फेज’मा भएको बच्चा पनि ‘डाइटिङ्’ गर्ने भन्छ ! खाना आफैमा शत्रुजस्तो ! अझ दालभात खायो भने त गयो नै जस्तो ।
चिन्ताले, तनावले, धुलोले, धुआँले, विषादिले, जीवनशैली र प्याकेटको ‘भिटामिनयुक्त’ फुडले पेट बिग्रियो । पेटले गर्दा रगत र मुटु बिग्रियो । तर दोषचाहिँ दाल र भातलाई । दालभात त महँगोमा बेच्न सकिन्न । यसविरुद्ध मस्तिष्कमा त्रास नरोपी अरू प्रशोधित या आयातीत खानाको व्यापार हुँदैन । यो काम गाह्रो पनि छैन । टिभीको पर्दा र सोसल मिडियाको भिडियोमा जे देखिन्छ, हाम्रो सत्य त्यही नै हो । अब अंकमा क्यालोरी खान छोडेर, प्रोटिन खान छोडेर, मल्टीभिटामिन्स र क्याल्सियम खान छोडेर, प्लास्टिकको जारमा आउने ‘हेल्दी’ आहार छोडेर आफ्नै हातले पकाएको ताजा खाना कसले खाओस् ।
५० वर्षअघिसम्म युरोप र नेपालबीच धेरै कुरामा समानता रहेछ । एकदुई तलाको घर, काठको धुरी खाँबो र दलिन, माटो, ढुंगा या काठकै भित्ताहरू, काठकै डाँडा र भाटाहरू, झिँगटी, ढुंगा या टायलले छाएका छानाहरू, घरअगाडि आँगन, पछाडि करेसाबारी, दुई चारवटा रुखबिरुवा, वरपर काठको बार, त्यसमा बाँसको तगारो, घरभित्र मुदुस या सन्दूक, नजिकै खुला चौर या गौचरन, सार्वजनिक ठाउँमा आँप, कटहर, ऐसेलु, काफल, बड़हर, डुम्री जस्ता फलफूलका बोटहरू ।
युरोप आज पनि उस्तै छ । एकदम बाक्लो सहरभित्र अग्ला केही अपार्टमेन्टबाहेक आवासीय घरहरू आज पनि उस्तै छन् । काठ र इँटाले बनेका । काठकै दलिन र डाँडाभाटा, अनि ढुङ्गा र माटोका टायलहरू । अझै पनि घरभित्रका फर्निचर काठकै छन्, गार्डेनका पर्खालहरू काठकै छन् । पार्कहरूमा बस्ने बेन्चदेखि खेल्ने सामग्रीसम्म अधिकांश काठ नै छ ।
घरहरू कत्ति पनि हेभी छैनन् । जमीनमुनि हात्तीपाइले गाडेर छड र कंक्रीटले बनेका छैनन् । सीमेन्टको त निश्चित आयु हुन्छ । पचास वर्ष, साठी वर्ष । भोलि तिनलाई कसरी भत्काउने, त्यो सहरका सहर घरहरू कहाँ लगेर फाल्ने, अर्काको जगसमेत छुने हात्तीपाइलेलाई के गर्ने भन्ने समस्या त्यहाँ छैन । धेरै जसो सामग्री पुनप्र्रयोग हुन्छ, अरू माटोमा मिल्छ, सकिन्छ । आज बन्ने घर पनि उस्तै छन्, जुन दुई सयवर्षअघि बनेका थिए ।
हाम्रो परम्परित निर्माण पद्धति पनि यस्तै नै रहेछ । अझ हाम्रो त बार्दली पनि हुने, गोला गोला आकारका पनि हुने, पिँढी र कौसी पनि हुने । तल भान्सा, भकारी र बैठक, माथि कोठा । युरोपका आजका घरभन्दा सुन्दर, ती भन्दा बलिया र ती भन्दा ठूला । ढोका होस् या आँखी झ्याल, तिनमा अद्भुत कलाकारिता र कुँदाइ । युरोपमा तीन वटा कोठा भएको घरलाई ठूलो मानिन्छ । हाम्रो ग्रामीण डिजाइन र निर्माण शैलीका घरमा कोठै कोठा । युरोपमा टेरेस अर्थात् भित्तो जोडिएका घर हुन्छन्, हाम्रा त स्वतन्त्र उभिएका । त्यस्तो ‘डिट्याच्ड’ घर युरोपमा निकै महँगो हुन्छ । अनि भत्कायो भने कुनै ठूलो ‘फुटप्रिन्ट’ बाँकी नरहने वातावरणमैत्री संरचना । हाम्रो ग्रामीण घरको सबै सामग्री स्थानीय ।
हामी धनी हुँदै गयौँ । टायल र झिँगटीको ठाउँ टीनले लियो । बर्खामा बोलेको आबाज सुन्न नसकिने अनि चिसोमा तपतप शीत चुहिने जस्तापाता हाम्रो राष्ट्रिय छानो भयो । पाँच तला बनाउनेलाई र दुई तला बनाउनेलाई उस्तै उस्तै हात्तीपाइले र विशाल पिलर हाम्रो नीति भयो । काठ हरायो । विदेशबाट ढुवानी गरी ल्याउने निर्माण सामग्रीभन्दा देशमा उत्पादन हुने काठ महँगो भयो । जंगललाई कसरी राष्ट्रिय जीवन र अर्थतन्त्रसँग जोडेर लैजाने भन्ने भएन । घरनिर्माण जस्तो अत्यन्त संवेदनशील विषयमा हाम्रो राष्ट्रिय नीति र दृष्टि नै बनेन । आज न गरिबले घर बनाउन सक्छ, न घर स्थानीय सामग्रीले बन्न सक्छ । न घाम र उज्यालो कति चाहिन्छ भन्ने नीति छ, न कति संख्याको परिवारलाई कति ठूलो घर आवश्यक छ भन्ने सोच छ । न घर निर्माणमा कम्तिमा यति अंश पुनप्र्रयोग हुने सामग्री चाहिन्छ भन्ने छ, न अबको सय वर्षपछि यो कङ्क्रीटको जंगल फाल्ने ठाउँ नै छ । यो आजको कुरो भयो ।
तर, पचास वर्षअघिको काठमाडौँ र आजको युरोपका सहर उस्तै देखिन्छन् । हामीसँग पनि कला रहेछ, शिल्प रहेछ, सामग्री रहेछ, सोच र दूरदृष्टि सबै रहेछ । आज त्यस्ता घर कि इतिहास, कि गरिबी, कि पर्यटकीय गन्तव्य मात्रै हुनु दुःखद छ । हामी अलि बढी बदलियौँ या उनीहरू पुरानै रहे । आजचाहिँ घर मात्रै हेर्ने हो भने हामी धेरै धेरै धनी देखिन्छौँ । अरबको खाडीमा पसिना बगाउने र जम्मा तीन सदस्य भएको परिवारसँग पनि आज तीन तले विशाल घर छ, भलै अगाडि एउटा पार्किंग र पछाडि सागसब्जी उमार्ने ठाउँचाहिँ नहोस् । कम्तिमा हाम्रो सहर हेरेर कसैले हामीलाई गरिब भन्न सक्दैन ।
तर मनमा लागेको कुरो के भने फरक छ । त्यही स्थानीय सामग्री र डिजाइनकै घर बनाउन पाइने नीति हुन्थ्यो भने शायद घर बनाउनकै लागि अरब जान पर्दैनथ्यो, घाम छेकेर पाँच तले घर साँधमा उभिन्नथ्यो भने तीन जनाको परिवारले तीन तले टावर बनाउन पर्दैनथ्यो ।
प्रतिक्रिया