शनिबार सभापति देउवाको गृहक्षेत्र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पुगेर डा. कोइरालाले भने, ‘‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधानअनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’
नेपाली कांग्रेसको २०७८ मंसिर २९ गते सम्पन्न १४औँ महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला प्रकाशमान सिंह, बिमलेन्द्र निधी र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । पहिलो चरणको निर्वाचनमा कसैले पनि आवश्यक ५० प्रतिशत मत कटाउन सकेनन् । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । पहिलो चरणमा देउवाले २ हजार २५८ मत पाएका थिए भने शेखरले १ हाजर ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाए, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।
कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि विधानअनुसार सबैभन्दा धेरै भोट ल्याउने देउवा र दोस्रो भोट ल्याउने डा. कोइरालाबीच फेरी प्रतिस्पर्धा भयो । तेस्रो हुने सिंह, चौथो हुने निधी र पाँचाँै हुने गुरुङले दोस्रो चरणको निर्वाचनमा विज्ञप्ति निकालेरै देउवालाई साथ दिए । देउवाले २ हजार ७२४ मत ल्याए भने कोइरालाले १ हजार ८१७ मत प्राप्त गरे । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४ हजार ५७४ मत खसेको थियो । त्यसमध्ये ३३ मत बदर भएको थियो । यसरी देउवा करिब ६० प्रतिशत मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका थिए । यसअघि २०७२ फागुनमा भएको १३आँैै महाधिवेशनमा देउवाले १ हजार ८२२ मत पाएका थिए भने प्रतिस्पर्धी रामचन्द्र पौडेलले १ हजार २९६ मत ल्याएका थिए ।
विधानतः नेपाली कांग्रेसको महाधिवेशन ४ वर्षमा हुनुपर्छ । १४औँ महाधिवेशन सम्पन्न भएको पनि गत मंसिर २९ गतेदेखि ३ वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । सभापति देउवाको कार्यकाल अब आगामी मंसिरसम्म मात्रै हो । तर काबु बाहिरको परिस्थितिका कारण निर्धारित समयमा महाधिवेशन हुन नसकेको भन्दै १ वर्ष म्याद थप्ने अभ्यास नेपाली कांग्रेसमा हुँदै आएको छ । यसपटक पनि यसरी नै म्याद थप्ने रणनीतिमा सभापति देउवा छन् । गत महाधिवेशनमा डा.शेखरको प्यानलबाटै चुनाव लडेका महामन्त्री गगन थापाले म्याद थप्ने मामिलामा सभापति देउवालाई साथ दिने संकेत देखिएको छ । अब छिटै केन्द्रीय समितिको बैठक बोलाएर म्याद थप्ने तयारीमा सभापति देउवा छन् ।
यता सभापति देउवाका प्रतिस्पर्धी डा. कोइराला भने विधानद्वारा निर्धारित समयमै १५औँ महाधिवेशन हुनुपर्ने भन्दै देश दौडाहमा निस्केका छन् । शनिबार सभापति देउवाको गृहक्षेत्र सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा पुगेर डा.कोइरालाले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधानअनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नका लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।
अब बस्ने केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले म्याद थपका लागि प्रस्ताव राख्ने निश्चितजस्तै छ । संस्थापन पक्षको करिब दुईतिहाइ बहुमत भएका कारण सो प्रस्ताव केन्द्रीय समितिद्वारा पारित हुने पनि निश्चितजस्तै छ । तर, डा.कोइरालाले आफ्नो प्रतिवद्धताअनुसार उक्त निर्णयमा नोटअफ डिसेन्ट लेख्लान कि, नलेख्लान् ? महामन्त्री थापाले कित्ता क्लियर गर्लान कि, नगर्लान् ? भन्ने प्रश्न आमकांग्रेसजनका लागि निकै चासोको विषय बनेको छ ।
एकातिर पार्टी विधानमा उल्लिखित लगातार २ कार्यकालभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था र अर्कातिर उमेरजन्य शारीरिक तथा मानसिक समस्याका कारण देउवा १५औँ महाधिवेशनमा उम्मेदवार बन्ने छैनन् । तर देउवाले जसलाई अघि सार्नेछन्, उसको पल्लाभारी हुने अवस्थालाई आकांक्षीहरूले नजरअन्दाज गरेका छैनन् । त्यसैले डा. कोइरालाबाहेक बाँकी आकांक्षीले उम्मेदवारी घोषणा नगरेका हुन् । डा.कोइरालाले सभापति देउवाको ‘गलत कार्यशैली’लाई नै आफ्नो एजेन्डा बनाएका छन् । आफ्नो मुख्य प्रतिस्पर्धा देउवाले अघि सार्ने उम्मेदवारसँग हो भन्ने कुरामा डा.कोइराला स्पष्ट देखिन्छन् । तर अन्य आकांक्षीहरू देउवाको आशीर्वाद प्राप्त गर्ने पर्खाइमा देखिएका छन् । यो पर्खाइमा उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला त हुने नै भए, गत महाधिवेशनमा डा.कोइराला प्यानलमा रहेका महामन्त्री थापा पनि यही पर्खाइमा छन् ।
सभापति पदका सबैजसो आकांक्षीहरू देउवाको आशीर्वादको पर्खाइमा रहनु अस्वभाविक होइन । पार्टीभित्र देउवाको ठूलो पकड छ । खासगरी आफ्नो गृह क्षेत्र सुदूरपश्चिम प्रदेशबाट देउवाले ८० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै आएका छन् । २०५७ सालमा पोखरामा सम्पन्न १०औँ महाधिवेशनमा बहालवाला सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध चुनाव लड्दासमेत देउवाले सुदूरपश्चिमबाट ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए । तर, अब देउवा आफँै उम्मेदवार नहुने अवस्थामा सुदूरपश्चिमको मत एकढिक्का रहने संभावना कम छ । यही संभावनालाई ख्याल गर्दै डा.कोइरालाले धनगढीमा पुगेर शनिबार निर्णायक सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा डा.कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे भने, अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र, त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए ।
पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एकढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्ने उनले बताए । उनले भने, ‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टीजस्तो बन्दै गइरहेकोले आफू चिन्तित हुनुपरेको हो ।’
उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनका लागि प्रजातान्त्रिक सेनानीको भूमिका महत्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नुपर्ने बताए । उनले, ‘विगतमा पार्टीभित्र लोकतान्त्रिक संस्कृति रहेका थियो । अहिले त्यो छैन । त्यसका लागि तपाईंहरूले पहल गर्नुपर्छ ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताए । उनले भने, छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौँ ।’ तर सो अनुसार परिणाम दिन नसकेको उनले बताए ।
एक फरक प्रसंगमा उनले भने, एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्प्रर्धा सँगसँगै गर्नुपरेको बताए । उनले भने, ‘सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्छ ।’ सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरूसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरूको तोकिएको समयमा महाधिवेशन हुनुपर्ने बताए ।
सभापति पदमा चुनाव जित्नका लागि डा. कोइरालाले गत महाधिवेशनको भन्दा कम्तिमा पनि ११ प्रतिशत बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । तर गत महाधिवेशनभन्दा उनका लागि केही परिस्थितिहरू सहज छन् । पहिलो कुरा त गत महाधिवेशनमा डा.कोइराला सभापति पदको उम्मेदवार बन्दै गर्दा आफूमाथि अन्याय भयो भन्दै बयोवृद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल धुरुधुरु रोएका थिए । पौडेलमाथि अन्याय भएको सन्देश गएको थियो । तर, अब डा. कोइराला उम्मेदवार बन्दै गर्दा कसैमाथि अन्याय भएको सन्देश जाने अवस्था छैन । उनी मुख्य हकदार हुन् भन्ने कुरा स्पष्ट भइसकेको छ ।
त्यसैगरी गत महाधिवेशनमा आफ्नै समुहका प्रकाशमान सिंहलाई विद्रोह गर्नबाट डा. कोइरालाले रोक्न सकेनन् । प्रकाशमानको विद्रोहमा डा.शेखरकै बहिनी सुजाता कोइरालाले साथ दिइन् । कोइराला परिवार एक ढिक्का हुन नसकेको सन्देश गयो । तर अब प्रकाशमान सिंह उम्मेदवार भइहाले भने पनि संस्थापन पक्षकै बढी भोट काटिने अवस्था छ । सुजाताले विद्रोह गर्ने संभावना कम छ । १४औँ महाधिवेशन हुँदै गर्दा देउवा बहालवाला सभापति मात्रै होइनन्, बहालवाला प्रधानमन्त्रीसमेत थिए । तर, डा.कोइराला सांसदसमेत थिएनन् । प्रधानमन्त्रीलाई चुनाव हराएर गैरसांसदलाई सभापति बनाउनुभनेको नेपाली कांग्रेस तत्काल सत्ताच्युत हुनु हो भन्ने सन्देश त्यतिबेला गएको थियो । तर अब त्यो सन्देश जाने अवस्था छैन ।
प्रतिक्रिया