सबैभन्दा बढी याद आइरहेको छ, पिएल दाइले भनेको, ‘जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु ।’ सायद उहाँले यो कुरो म भित्रको मलाई भन्नुभएको थियो । लगभग वर्ष दिन पहिले, सायद असोज ९, २०८० को कुरो हो यो । म फेरि पनि लेख्नेछु पिएल दाइ प्रेमलाल सिंहको बारेमा सोचेको थिए । आज पुस १ गते उहाँको देहावसानको समाचार सुने । शान्तिका साथ त्यहाँ रहनुहुनेछ पिएल दाइ ।
लामो समयको अन्तरालमा काठमाडौँ गएको थिएँ । अर्को दिन बिहानै पिएल दाइलाई भेट्न चाक्सीबारी पुगेको थिएँ । तुरुन्तै भेट्न पाएँ र सोधँे तपाईंलाई कस्तो छ ? केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कंदै गरेको लाग्यो । स्वर पुरानै थियो, ‘फिल मच बेटर तर अत्यधिक थकाइको अनुभव र रोगले जन्माएको खानाप्रतिको बेस्वादले दिक्दार लागेको छ ।’ पिएल दाइले मलाई बडो अपनत्वका साथ आफूसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ ।
त्यस दिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौँ । पिएल दाइको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नुहुन्थ्यो । फेरि गफिँदै हामी बालाजु, सोह्रखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक हँुदै न्युरोड गेटसम्म आइपुगेका थियौँ । हिँडाइ लामो भएको थियो । २०४०–०४१ सालतिरको त्यस हिँडाइमा पिएल दाइले बडो बिस्तारका साथ गणेशमानजीको विचार निर्माणको पद्दतिका बारेमा केही कुरा बताउनुभएको थियो । र, बिपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानका लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैलीबारे हाँस्दै भन्नुभा’थ्यो पिएल दाइले, ‘त्यो के ‘ह्यान्डल बिथ केयर’ भन्छन् नि, हो, बिपीको तेही शैली अहिले चाहिन्छ गणेशमान जीलाई डिल गर्न बुझ्यौ ?’
२०४२ सालमा नेपाली कांग्रेसले पञ्चायति व्यवस्थाको विरूद्ध सुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो कांग्रेसको नेतृत्वमा । गणेशमानजी र गिरिजाबाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठुलो मतभिन्नता झांगिँदै गएको देखिन्थ्यो । राजाले केही दाब खेलेका थिए । कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजाबाबु एकाधपटक राजा वीरेन्द्रलाई भेटनुभएको थियो । गणेशमान जीलाई यो मन परेको थिएन । यसले गर्दा सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमान जीलाई लागेको थियो । तर, गिरिजाबाबुको विचार भिन्नै थियो ।
उहाँलाई लागेको थियो, पञ्चायत विरूद्धको लामो संघर्षले साथीहरूमा थकाइ पनि छ । केही साथीहरू पञ्चायततिर लागे पनि । राजासँगको यस्तो भेटले नेपाली कांग्रेसको ‘रिकगनाइजेसन’ बढ्नेछ । शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन्छाउन नसक्ने एक पक्ष रहेछौँ भन्ने धारणा स्थापित पनि हुन्छ । यसरी सोच्नुहुन्थ्यो गिरिजा बाबु । अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नुभएको थियो । विद्युत् महसुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै बेहोराको निवेदनमा आमजनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कुल संख्या उल्लेख गरी राज दरबारमा बुझाउने कुरा थियो गिरिजाबाबुको ।
तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन । पञ्चहरू तथा कम्युनिस्टहरूले यसलाई ‘बिन्तीपत्रको राजनीति’ भनेर प्रचार गरिरहेको थिए । आन्दोलनको लागि कांग्रेसको बढ्दै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्र राजनीतिको आरोप गणेशमान जीको इगोले हम्मेसी स्वीकार्ने विषय थिएन । यसलाई पञ्च र कम्युनिस्टहरूले खुब हौस्याएका थिए । पुरै कांग्रेस वृत्त यसबाट चिन्तित थियो । गणेशमानजी र गिरिजाबाबुका बीच विचारको बुझबुझारथ हुनुपर्ने सबैको चासो थियो । पार्टीभित्र पिएल दाई र शैलजा दिदी–यी दुई जना मात्र थिए जो दुबै नेताका बीच सहज संवादलाई बढाउने सामथ्र्य राख्दथ्यो । म यही बारेको केही कुरा गर्न त्यस बेला पिएल दाइलाई भे्टन गएको थिएँ ।
हेर जेपी उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन र । यसैले त मैले ‘ह्यान्डल विथ केयर’ भनेको हुँ । पिएल दाईले नेपाली कांग्रेसको वीरगन्ज अधिवेशनको कुरो सुनाउनुभयो । वीरगन्ज अधिवेशनमा पार्टीका धेरै ठुला नेताहरूको सभापतिमा सुवर्ण शमशेरलाई समर्थन थियो । गणेशमान जीले सुवर्ण शमशेरलाई सभापति बनाउन चाहनुभएको थिएन । गणेशमानजीले सुवर्णजी को विरूद्ध कुनै बलियो उम्मेद्वार पाउनुभएको थिएन । बिपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नुभएको थियो । यो पनि गणेशमानजीलाई मन परेको थिएन ।
बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनुभयो भने उहाँलाई ठुलो धक्का लाग्नेछ । पैसा र धनका धनीको कांग्रेस भयो । मेरो त्यागको कुनै मान्यता भएन भने कुराले गणेशमान जीलाई बडो दुःखी तुल्याउनेछ । यो ठुलो चिन्ता थियो बिपीलाई । अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना बिश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अह्राउनुभएको थियो । सायद २०१२ सालतिरको कुरो हो यो ।
पिएल दाइले पैदल हिँडिरहेको मलाई सोध्नुभएको थियो, ‘ल भन जेपी, आज कांग्रेसमा को छ र यसरी गणेशमान जीलाई ह्यान्डल गर्ने ? कांग्रेसभित्रको त्यस समस्याको त्यस बेला समाधान भयो । सबैले सत्याग्रहलाई बढाए । राजासमक्ष निवेदन पनि दिइयो । राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले लाखौँ जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन् । राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो ।
अन्ततः गणेशमानजीले कांग्रेस छोड्नुभयो । उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाइँदा र त्यस महायात्रामा हिँड्दा मलाई लागेको थिया, ‘गणेशमानजीको मृत्युलाई त किमार्थ पन्छाउन सकिन्न्थ्यो । तर, यदि त्यस दिन पिएल दाइले भन्नुभए अनुसार बिपीले गणेशमानजीलाई सम्हाल्ने गरेजस्तै त्यस बेलाका नेताहरूले सम्हालिदिएको भए शोभा भगवतिसम्मको गणेशमानजीको यात्रा अझ महान हुने थियो ।
त्यस दिन रूग्ण पिएल दाइसँगै उनको सानिध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेर आयो ।
पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन । यसबीच पिएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । मैले गहिरिएर उहाँलाई हेरँे । आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाइ वातवातमा मेरो नाम लिनुपर्दा जेपी आनन्द बोल्नुहुन्थ्यो । यो नयाँ कुरा थिएन । तर यसले मेरो उहाँसँगको लामो सम्बन्धको झल्को दिन्थ्यो । अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन् ।
धेरै बेर कुरा भयो । मेरो गाउँको घर पनि पुगेको संझना आयो उहाँलाई । एकसरो धेरै कुराहरू सुनाउनुभयो । सबैभन्दा बढी याद आइरहेको छ, पिएल दाइले भनेको, ‘जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु ।’ सायद उहाँले यो कुरो म भित्रको मलाई भन्नुभएको थियो । लगभग वर्ष दिन पहिले, सायद असोज ९, २०८० को कुरो हो यो । म फेरि पनि लेख्नेछु पिएल दाइ प्रेमलाल सिंहको बारेमा सोचेको थिएँ । आज पुस १ गते उहाँको देहावसानको समाचार सुनेँ । शान्तिका साथ त्यहाँ रहनुहुनेछ पिएल दाइ ।
प्रतिक्रिया