काठमाडौँ । युरोपेली युनियन (इयू) ले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । विगत ११ वर्षदेखि इयूको कालो सूचीमा पर्दै आएको नेपाल यस पटक सूचीबाट हट्ने अपेक्षा गरिएको थियो ।
तर, इयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘इयू सेफ्टी लिस्ट’ मा नेपाल यस वर्ष पनि परेको हो । इयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै वायुसेवा कम्पनीलाई सो सूचीमा कायमै राखेको हो । नेपाली हवाई क्षेत्र सन् २०१३ देखि इयूको कालो सूचीमा पर्दै आएको छ । इयूको कालो सूचीबाट हटाउन पटक–पटक प्रयास गरे पनि नेपाली जहाजहरू दुर्घटनामा पर्ने क्रम नरोकिएपछि इयूले सूचीबाट हटाउन मानेको छैन । कालो सूचीमा परेपछि नेपाली विमानले युरोपको आकाशमा प्रवेश गर्न पाउँदैनन् ।
यसपटक इयूले १५ देशका १२९ एयरलाइन्स कम्पनीलाई कालो सूचीमा राखेको छ । रसियाका २२ वटा एयरलाइन्स कम्पनी, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरानको असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेजलगायत कालो सूचीमा छन् ।
तान्जानिया यस पटक कालो सूचीमा थपिएको हो भने पाकिस्तानको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स कालो सूचीबाट हटेको छ । यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आइकाओ) को ‘ग्रे लिस्ट’मा समेत नेपाल परेको थियो । तर, उड्डयन सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा ग्रे लिस्टबाट भने हटाएको थियो ।
प्रतिक्रिया