काठमाडौँ । पर्यटकीय गन्तव्य सौराहामा आगामी ११ देखि १५ पुससम्म १८औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । १८औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ३ वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो ।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ आगामी ११ देखि १५ पुससम्म गर्न लागिएको बताए । उनले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताए ।
महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत हुने अध्यक्ष गिरीले बताए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया