बढेको अलैँचीको भाऊ र किसानको खुसी

अलैँची मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मिहिनेत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरैभन्दा धेरै आम्दानी गर्न सक्छन्, फाइदा लिन सक्छन् । तर, त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनु जरुरी हुन्छ ।

निनाम लोवात्ती

नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । आर्थिक वर्ष (आव) २०७९–८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ । आव २०७९–८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८ – ८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैँची निर्यात भएको देखिन्छ ।

४ वर्षपछि यो वर्ष अलैँचीको भाऊ उच्च दरमा बढेको छ । नेपालको मध्यम खालको मौसम र हावापानीमा मात्रै फल्ने वा भनौं खेती गर्न सकिने अलैँची विश्वभरि नै मरमसला, अत्तर एवं औषधिजन्य प्रगोगमा बढी आउने गरेको छ । अलैँची खेतीका लागि समुन्द्री सतहबाट ७ सय मिटरदेखि २२ सय मिटरसम्म उपयुक्त मान्ने गरिएको छ भने, तापक्रम चाहिँ ८ डिग्री सेन्टीग्रेटदेखि २० सेन्टीगे्रट उपयुक्त हुन्छ भन्ने विज्ञहरुको भनाइ रहेको छ ।

नेपालका पहाडी तथा हिमाली भूभागका जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, उदयपुर, गोरखा, कास्की, लमजुङ, पर्वत, स्याङ्जमा, बागलुङ, सल्यान, अछाम, दैलेख, बाजुरालगायत लगभग ४२ जिल्लामा अलैँचीको खेती भई रहेको छ । तापनि नेपालमा अलैँची खेती हुने प्रमुख जिल्ला चाहिँ ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा नै मुख्य रुपमा मानिने गरेको छ । विगतका दिनमा नेपालमा प्रमुख तीन जातका अलैँची मात्रै उत्पादन हुने गरेको थियो । पछिल्लो पटक चाहिँ अरु दुई जातको अलैँची पनि विकास गरेर पाँच जातको अलैँची खेती गर्न भनेर नेपालका किसानहरुलाई सिफारिस गरेको छ, इलाम जिल्लाको फिक्कलमा रहेको ‘अलैँची विकास केन्द्र फिक्कल’ ले ।

हामीलाई थाहा नै छ, हाम्रो देश नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको छ । तापनि नेपाल हरेक क्षेत्रमा, हरेक चिजबिचमा र, हरेक साधन–स्रोतहरु खसगरिकन प्राकृतिक स्रोत साधनमा विश्वका कयौं देशहरुभन्दा निक्कै नै धनी रहेको छ । जस्तो कि विश्वमा पूmल फुल्ने बिरुवाहरुमध्ये दुई दशमलब दुई (२.२) प्रतिशत हाम्रो देश नेपालमा पाईन्छ । (स्रोतः ‘नेपाल नखुलेका पाटाहरु’ नामक किताबमा डा. तीर्थबहादुर श्रेष्ठले लेख्नू भएको ‘कमलो पहाड, दुर्बल वासिन्दा’ शीर्षकको लेख )

त्यस्तै गरेर हाम्रो देशमा हजारौं प्रकार जडीबुडी जन्य वनस्पती, भ्mयाउ, लेउ, बुट्यान, लहरा, ठूलठूला रुख जस्तै वर, पिपल, खयर, शमी आदि पाईन्छ । नेपालमा हुने धेरै प्रकारका नगदे बालीहरुमध्ये चिराइतो, अलैँचीं, अम्रिसो आदि प्रमुख रहेका छन् । एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७३–०७४ मा नेपालका अलैँची किसानहरुले १२ हजार ८४७ मेट्रिक टन अलैँची उत्पादन गरेका थिए । सन् २०१६ मा विश्व बजारमा निर्यात भएको अलैँचीको कुल अंशमा वा भनौं भागमा नेपाल एक्लैको ६८ प्रतिशत रहेको थियो । त्यसपछि भारतको २२ प्रतिशत अंश रहेको थियो भने, भुटानको चाहिँ ९ प्रतिशत अंश मात्रै रहेको थियो ।

हुन त सुकमेललाई पनि अंग्रेजी भाषामा ‘कार्डामोम’ नै भनिन्छ, जसरी अलैंचीलाई ‘कार्डामोम’ भन्ने गरिन्छ । त्यस्तै अलैँचीलाई वैज्ञानिकहरुले दिएको नाम चाहिँ ‘इलेटेरिया कार्डामम–काडाम’ हो भने गाउँघरमा चलेको भाषामा चाहिँ ‘खोल्से सुन र कालो सुन !’ हो । नेपालका प्राचीन जातिहरुमध्ये एक कुलुङ जातिको भाषामा अलैँचीलाई ‘चुरुम्सी’ भनिन्छ । जानकारी अनुसार अहिलेसम्म नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला भन्ने देशमा मात्रै राम्रो सँग अलैँची खेती हुने गरेको छ । भनाइको मतलब हाल नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला नामक देशका किसानहरुले जुन अलैँची खेती गर्ने एवं विश्व बजारमा बिक्री–वितरण गर्ने काम भई रहेको छ, त्यो अलैँचीलाई ठूलो र कालो अलैँची अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ भनिन्छ ।

विश्वमा कहिले र कहाँदेखि ठूलो र कालो अलैँची अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ को व्यवसायीक खेती गर्न सुरु गरियो होला ? अहिलेसम्म कसैले ठोकेर भन्न नसके तापनि, थाहा नभए तापनि नेपालमा चाहिँ सर्व प्रथम तत्कालीन सिक्किम देश (हाल भारत देशमाको एक राज्य) बाट ल्याएर अलैँची खेती सुरु गरिएको भन्ने भनाइ रहेको छ ।

अलैँची मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मिहिनेत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरै भन्दा धेरै आम्दानी गर्न सक्छन्, फाइदा लिन सक्छन् । तर त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनु चाहिँ जरुरी हुन्छ । अझ त्यसमा पनि उत्तिस जातको रुख मुनि अलैँचीको बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ । विगतका दिनमा (२५–२६ वर्षअघि) पनि नेपाली अलैँची खेती गर्ने किसानले अलैँचीबाट धेरै राम्रो आम्दानी गर्ने गरेका थिए । तर बीचमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा एक त अलैँचीको बोट नै ओईलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही वेला भाऊ घटेर गटेर गयो । कल्पनै गर्न नसकिने गरी नेपाली अलैँचीको भाउ घटेर प्रति मन (४० किलो) को ११– १२ हजार देखि बढीमा १४–१५ हजार मात्रै पाउने स्सिथति बन्यो । नेपाली अलैँची किसानहरुले अलैँचीको अझ बढी भाउ पाएमा १७–१८ हजार रुपैयाँसम्म पाउने स्थिति अथवा भनौं बेच्नु परेको दुःखद र निराश लाग्दो अवस्था पनि आई परेको थियो ।

खासमा सुरुका दिन (वर्षमा) मा नेपालका पूर्वी भेगका किसानहरुले धेरै राम्रो आम्दानी गरेको देखेपछि नेपालका पहाडी क्षेत्रका प्रायः सबै क्षेत्रका, खास गरी मध्य, पश्चिम र मध्यपश्चिमसम्मका किसानहरुले पनि अलैँची खेतीमा हात हाले । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालको पूर्वी भागमा मात्रै सीमित रहेको अलैँची खेती नेपालको मध्य, पश्चिम र मध्यपश्चिमसम्म फैलियो, विस्तार भयो । तर बीचको समयमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन , सकेनन् सकेका थिएनन् भन्ने कुरो माथि उल्लेख भएकै छ । त्यसमाथि बीचको समय (१२–१५ देखि) अलैँचीमा अनेक खाले रोग लाग्न थाल्यो । जस्तै बोट नै सुक्ने, फुल नफुल्ने, फल नलाग्ने, अलैँचीँको बोट मर्ने रोगले अलैँची खेती गर्ने किसानहरु हतोत्साही भए ।

विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा नगदे बालीका रुपमका अलैँची खेतीबाट किसानहरुले राम्रो आम्दानी गर्दै आएका थिए, छन् । यस वर्ष नेपाली ‘अलैँचीँ’को मूल्य प्रतिमन (४० केजीको) ९२ हजारभन्दा पनि माथि पुगेको छ । हालै विभिन्न पत्रपत्रिकामा आएको समाचारहरुमा जनाईएअनुसार (क) वर्गको ‘अलैँचीँ’को मूल्य प्रतिमन (४० केजी) ९२ हजारदेखि ९६ हजारसम्म पुगेको छ भने (ख) वर्गको अलैँचीको मूल्य प्रतिमन (४० केजी) ८८ हजारदेखि ९० हजारसम्म पुगेको छ । यसअघि ७७–७८ हजारदेखि ७२–७३ हजारसम्ममा बिक्री भई रहेको थियो । हुन पनि आर्थिक वर्ष २०७१–०७२ मा अलैँचीँको मूल्य प्रतिमन (४० केजी) को एक लाख ५ हजारसम्म पुगेको थियो । यसरी हेर्दाखेरि अलैँचीँको मूल्य बढेसँगै नेपाली किसानहरुको खुसी पनि बढेको छ । यो हाम्रा लागि धेरै खुसीको कुरो हो ।

‘बिग ब्ल्याक कार्डामोम’ पनि भनिने ठूलो अलैँचीको महत्व कति छ भन्ने त गएको केही वर्ष अघिदेखि चीन, मध्यपूर्वका खाडी देशहरु, युरोप महादेशका देशहरु, उत्तर अमेरिकी महादेशका देशहरु, दक्षिण अमेरिकी महादेशका देशहरु एवं अफ्रिका महादेशका देशहरुमा समेत बढ्दो क्रममा यसको निकासी हुन थालेको पनि देखाउँछ नै । तर, हामी नेपालीहरुका लागि अलैँची निकासीमा मुल समस्या भनेको भारतीय व्यापारीहरु र भारत सरकारले नेपालमा उत्पादन भएका अलैँचीलाई आफूले मात्रै किन्ने र त्यही अलैँची फेरि आफूले ब्रान्डिङ गरेर अरु देशलाई आफ्नो देशको उत्पादन भनी बेच्ने गरेको छ । जुन काम सरासर गलत हो । त्यसैले यस्तो कामलाई तत्कालै रोक्न र नेपाल आफैले आफ्नै ढंगले हामीले उत्पादन गरेको अलैँचीको ब्रान्डिङ गर्नेतर्फ नेपाल सरकार र सम्बन्धित निकायले कदम चालिहाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया