वस्तुत : दुःखको जड अहंकार

इतिहास साक्षी छ कि प्राचीन समयदेखि नै दास र दास मालिक, विपन्न र सम्पन्न, पराजित र विजेता, कमजोर र बलशाली यतिसम्म कि महिला र पुरुषकोे सम्बन्धमा आधिपत्य गर्ने प्रवृत्तिले धेरैलाई नराम्रोसँग दुःख दिएको छ । धेरैजसो मानिसमा यो प्रवृत्ति यत्तिको हावी भएको छ कि तिनले आफ्नो आदर्शको रूपमा त्यही प्रवृत्तिलाई ग्रहण र अबलम्बन गर्न आरम्भ गरे ता कि आफ्नो आधिपत्य जमाउन सकुन् ।

लोकनारायण सुवेदी

कुन प्रवृत्तिहरू दुःखका सबैभन्दा ठूला कारणहरू रहेका छन् ? अनि कुन प्रवृत्तिहरूलाई कम गर्नाले या हटाउनाले दुःख दर्द कम गर्न सकिन्छ ? यी गम्भीर प्रश्नहरू हुन् । धेरैजसो गम्भीर र ब्यापक समस्याहरूको गहिराईमा जाने हो भने कतै न कतै टुट्दै र बिग्रदै गरेका मानवीय सम्बन्धहरूको भूमिका देखिन्छन् नै । मानिसहरूका बीचको आपसी सम्बन्धको एउटा कमजोरीमध्ये एकले अर्र्कोमाथि आधिपत्य जमाउने, शासन गर्ने, आफ्नो बढप्पन सिद्ध गर्ने प्रवृत्ति हो । धेरैजसो एकअर्काका हक खोस्ने, अधिक सञ्चय गर्ने या अधिक लोभको प्रवृत्ति जोडिएर रहेका छन् । तर जहाँ यो लोभ छैन त्यहाँ पनि अहंका कारण आफ्नो उच्चता वा श्रेष्ठता स्थापित गर्ने या आफ्नो कुरा मनाउने प्रायः देखिने गरेको छ । त्यसैले कारण लोभ होस् या अहंकार मानिसको आपसी सम्बन्धमा आधिपत्य जमाउने प्रवृत्ति सर्वत्र बहुतै सशक्त र ब्यापक रहेको छ ।

एकातिर जनसाधारणको दैनिक जीवनमा यस्ता प्रवृत्तिले अनेकौँ किसिमका दुःखकष्ट उत्पन्न गरेका छन् भने अर्कोतिर युद्ध मैदानमा यस कारणले भयानक खुन खराबी या रक्तपात पनि मच्चिएको छ । इतिहास साक्षी छ कि प्राचीन समयदेखि नै दास र दास मालिक, गरीब र धनी, पराजित र विजेता, कमजोर र बलशाली कतिसम्म भने महिला र पुरुष बीचको सम्बन्धमा पनि यो आधिपत्य गर्ने गराउने प्रवृत्ति हाबी हुने गरेको छ । जसले गर्दा धेरैजसो मानिसहहरूलाई यसले अत्यन्तै असहनीय किसिमले दुःख दिएको छ । धेरैजसो मानिसहरूमा यो प्रवृत्ति यति धेरै हावी हुन पुग्यो कि उनीहरूले आफ्नो आदर्श नै त्यसलाई मान्न थाले । त्यसरी नै आफ्नो आधिपत्य जमाउन सकिन्छ भन्न थाले । सोच विचार गर्ने तरीका, कुराकानी, कथा कुथुंग्री, यतिसम्म कि इतिहासमा पनि तिनै मानिसहरूलाई अत्यधिक महत्व दिइन थालियो र प्रायःजसो प्रशंसाको भावनाबाट दिने गरियो । जसले आफ्नो आधिपत्यलाई अधिक फैलाउन सफलता प्राप्त गरे । चाहे त्यो प्रयासमा तिनले धेरै मानिसहरूलाई अनाहकमा अथाह दुःखकष्ट दिएको किन नहोस् ।

अर्कोतिर विभिन्न धर्मगुरुहरू, दार्शनिकहरू र समाज सुधारकहरूले मानिसका यी मूल कमजोरी र यससँग जोडिएका दुःखदर्दलाई बुझ्ने र मानिसहरूलाई तिनबाट जोगाउने बचाउने प्रयास गरे । तीमध्ये अनेक प्रयासहरूको असर टाढाटाढासम्म पर्न गयो र त्यो धेरै लामो समयसम्म रह्यो । त्यसैले इतिहासमा यस्तो कालखण्ड पनि आयो जतिबेला आधिपत्यमा आधारित मानव सम्बन्धहरूलाई धेरैजसो मानिसहरूले एउटा खराबीकारूपमा बुझे त्यसको साटो भाइचारा, समता, सहनशीलता, एकअर्काका विचारहरू इज्जत गर्ने र बुझ्ने प्रयास गर्ने प्रवृत्ति अपनाए ।

कुनै समय र स्थानमा ती विचारहरूको प्रसार विभिन्न धर्म र पन्थहरूको रूपमा भयो । अनि अन्य अवसरमा तिनको नयाँ अर्थ–राजनीतिक विचारधाराहरू र तीसँग सम्बन्धित क्रान्तिहरूको रूपमा भयो । विभिन्न सराहनीय सुरुआत हुँदाहुँदै पनि ती प्रयासहरूमा प्रायः केही न केही कमजोरीहरू आउने नै गर्दछन् र फेरि आधिपत्यकारी प्रवृत्ति फेरि प्रबल हुने या पहिलाकोभन्दा बढी प्रबल हुने मौका मिल्ने गर्दथ्यो । अद्यापि गरिरहेको देखिन्छ । सुरुसुरुमा यस्तो प्रवृत्तिलाई हावी गराउने अवसर कुनै व्यक्तिहरूको सानो समूहको स्तरमा नै मिल्न सक्तथ्यो । तर पछिबाट आधिपत्यको महत्वाकांक्षाको असीमित बिस्तार गरेर यस्ता साम्राज्यहरू स्थापना गरियो जसले लाखौँ पराजित मानिसहरू र दासहरूमाथि आधिपत्य गर्न सके ।

जबसम्म शक्तिशाली मानिसहरमाथि यो विचारधारा हाबी थियो, यो स्वभाविक नै थियो कि तिनले उपलब्ध संसाधनहरूको र नयाँ नयाँ उपायहरूको उपयोग त्यसको बिस्तारका लागि गर्ने गर्दथे । यस प्रवृत्तिको विश्वव्यापी बिस्तारको अवसर १५औँ र १६औँ शताब्दीमा नयाँ सामुन्द्रिक मार्गहरू र स्थानको खोजीबाट भयो । युरोपका देशहरूका लागि सबैभन्दा ठूलो खोज के थियो भने अमेरिकी महाद्वीपहरू त्यहाँका बहुमूल्य खनिज पदार्थहरूका बारेमा उनीहरूले थाहा पाए । त्यसका साथै विश्व इतिहासको सायद सबैभन्दा निर्मण शोषण र बर्बादीको आरम्भ भयो ।

युरोपबाट धन सम्पत्ति र जमीनको लोभमा गएका मानिसहरूले त्यहाँका मूल निवासी (रेड इन्डियनहरू)माथि अनेक किसिमका अत्याचार गरे । तिनीहरूबाट जबर्जस्ती मजदुरी गराइन्थ्यो, तिनको जमिन खोसिन्थ्यो । विभिन्न ठाउँमा तिनको आमहत्या पनि गरिन्थ्यो । करोडौँका संख्यामा त्यहाँका मानिस अर्थात मूल निवासीहरू मारिए । हजारौँ वर्ग माइल ओगट्ने क्षेत्रहरूबाट तिनलाई समाप्त नै पारियो । अमेरिकी महाद्वीपमा कोलम्बसको आगमनको समयमा (वर्ष १५०० को सेरोफेरोमा) लगभग त्यहाँ १० करोड मानिसहरू बस्ने गर्दथे । युरोपका मानिसहरू त्यहाँ गएपछिको डेढ सय वर्षमा नै त्यहाँका ९० प्रतिशत मूल निवासी मानिसहरूको मृत्यु हुनपुग्यो । उनीहरूमध्ये केवल १० प्रतिशत मात्र बाँचे ।

अस्ट्रेलिया महाद्वीपका मूल निवासहरूमाथि पनि त्यस्तै अत्याचार भयो । उता अमेरिकाका मूल निवासीहरू ठूलो संख्यामा मारिँदै थिए, यता युरोपका लुटेराहरूले अफ्रिकाका दासहरूलाई पक्रेर अमेरिकाका खेत र खानीहरूमा पठाउन सुरु गरे । झण्डै झण्डै २०० वर्षसम्म जारिरहेको त्यस मानव ब्यापारमा झण्डै डेड करोड अफ्रिकाबासीहरूलाई दासकोरूपमा अमेरिकी महाद्वीपमा पठाइयो । त्यो पठाउने तरिका पनि यति क्रूर र निर्दयी थियो कि लाखौँ दासहरूलाई त यात्राको क्रममा नै मारिएको थियो । अनि अधिकांश अरूको मृत्यु निर्मम शोषणका कारण केही वर्षभित्रै हुनपुग्यो । त्यसैगरी एसियाका अधिकांश देशहरूमाथि पनि कठोर शोषण गरियो । भोकमरी र अनिकालबाट लाखौँ मानिसहरू मर्न थाले । यसमा भारतको बंगाल प्रान्त होस् या इन्डोनेसियाको जाभा प्रान्त युरोपका शासकहरू आएको केही समयपछि नै त्यहाँको जनसंख्याको एकतिहाइदेखि एकचौथाइ हिस्सा अकालबाटै मरेर सकियो ।

औपनिवेशिक कालखण्डले कतिपय देशहरूलाई बाहिरी लूटको आधारमा भौतिक सुख–सुविधाहरू सम्पत्तिको यस्तो व्यवस्था खडा गर्न दियो जसलाई कायम राख्नका लागि आज पनि अनेक किसिमका उपायहरू गैरअन्तर्राष्ट्रिय स्तरमा विषमता र आधिपत्यको प्रवृत्तिलाई जारी राख्ने गरिएको छ । विभिन्न राष्ट्रहरूको आन्तरिक अवस्था पनि यस्तो छ कि त्यहाँ सम्पत्ति तथा आयको वितरणमा घोर विषमता छ र त्यसलाई बलपूर्वक कायम राखिने गरिएको छ । यसको अतिरिक्त अधिकार खोस्ने र आधिपत्य जमाउने तथा केही आफ्ना लागि सञ्चय गर्ने प्रवृत्ति पनि हावी छ । यो लोभलालच यस्तो प्रमुख कारण त हो, तर मानिसहरूको आपसी सम्बन्धमा आधिपत्य जमाउने प्रवृत्तिको एक मात्र कारण भने यो होइन ।

जहाँ यस्तो लोभलालच र खोसाखोसको भावना छैन त्यहाँ पनि आफ्नो मत स्थापित गर्न, आफ्नो श्रेष्ठता सावित गर्ने अहंकारले मानिसहरूको आपसी सम्बन्धमा आधिपत्यलाई कायम राखेको छ । यो आधिपत्यको सम्बन्धमा यद्यपि उपरी र तत्कालीनरूपमा क्षति केवल दबाइएका मानिसहरूकै हुन्छ, तर गहिरो र दीर्घकालीन स्तरमा क्षति दबाउने या कुल्चिने व्यक्तिहरूको पनि हुनपुग्छ । जसले अर्काको शोषण दमन गर्ने निर्दयताको व्यवहार गर्छ तिनले यस्ता अपराधबोधबाट पीडित हुनुपर्दछ जसले तिनको जीवनको सुख शान्तिलाई खोस्छ । अथवा त्यस्तो अपराधबोधबाट बच्नका लागि तिनले आफ्नो जीवनमा यत्तिका धेरै संवेदनहीनता ल्याउनु पर्दछ कि ती जीवनका विभिन्न प्रसन्नता र सन्तोष दिने विभिन्न अनुभवहरूबाट वञ्चित हुन पुग्छन् । त्यसको असर तिनको जीवनको सबैभन्दा नजिकको नातामाथि पनि पर्नसक्छ ।

यही कारण हो कि आज जहाँ आधिपत्यको आधारमा धेरै भौतिक सम्पत्ति आर्जित गर्ने गरिन्छ त्यहाँ तनाव, अवसाद र नैतिक पतनबाट जीवन बर्बाद रहने गर्दछ । त्यस्ता ऐतिहासक सच्चाइहरूलाई बुझ्दै आधिपत्य, अन्याय र अहंकारका अभिशापलाई कम गर्ने कुरा मानव प्रगतिको एउटा महत्वपूर्ण आधार बन्नुपर्छ ।

इतिहास साक्षी छ कि प्राचीन समयदेखि नै दास र दास मालिक, विपन्न र सम्पन्न, पराजित र विजेता, कमजोर र बलशाली यतिसम्म कि महिला र पुरुषकोे सम्बन्धमा आधिपत्य गर्ने प्रवृत्तिले धेरैलाई नराम्रोसँग दुःख दिएको छ । धेरैजसो मानिसमा यो प्रवृत्ति यत्तिका हावी भएको छ कि तिनले आफ्नो आदर्शकोरूपमा त्यही प्रवृत्तिलाई ग्रहण र अबलम्बन गर्न आरम्भ गरे ता कि आफ्नो आधिपत्य जमाउन सकुन् । उनीहरूको सोच्ने, बुझ्ने ढंग, कुराकानी, कथा–कुथुंग्री यतिसम्म कि इतिहासमा पनि ती मानिसहरूलाई अधिक महत्व दिइयो र प्रायः प्रशंसाको भावनाले नै त्यसो गर्ने गरियो, जसले आफ्नो आधिपत्य फैलाउने सफलता हासिल गरे, चाहे त्यस प्रयासमा तिनले कैयौँ मानिसहरूलाई अनाहकमा अथाह दुःख कष्ट पुर्याएको किन नहोस् । अर्कोतिर विभिन्न धर्मगुरुहरू, दार्शनिकहरू तथा समाज सुधारहरूले मानिसको यस मूल कमजोरी र यससँग सम्बन्धित दुःख कष्टलाई बुझे ।

प्रतिक्रिया