फोहोरजन्य पदार्थको एउटा मझौला उद्योगले दैनिक ८०० केजी बायो ग्यास उत्पादन गर्छ । प्रांगारिक मल दैनिक रूपमा ९ टन उत्पादन गर्छ भने उसले वार्षिक ७६ करोड रुपैयाँको एलपी ग्यास विस्थापित गर्न सक्ने भयो । वार्षिक ९८ करोड रुपैयाँको रासायनिक मल विस्थापित गर्न सक्ने भयो । यस्ता कम्तीमा १०० वटा उद्योग चल्ने हो भने देशका लागि कति ठूलो योगदान होला । देश साँच्चीकै समृद्ध बन्न सक्छ । यस्ता १०० वटा उद्योग चल्ने संभावना नेपालमा छ ।
२०८१ मंसिर १ गते शनिबारको शुभ बिहानीमा जुझारु उद्योगीहरू चितवन सौराहाको मदरल्याड रिर्सोटमा जम्मा भएका थिए । नेपालको नयाँ उद्योगमा प्रवेश गरी नयाँ अनुभव बटुलेका उद्योगीहरूको सौराहा सम्मेलन अर्थपूर्ण थियो । नयाँ उद्योगी भनेर यस अर्थमा भनिएको हो कि, उनीहरू खेर जाने मात्रै होइन सरकारको टाउको दुःखाइको विषय हुने गरेको सहरी फोहोरलाई मोहोरमा परिणत गर्न अहोरात्र खटेका छन् । फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने उद्योग नेपालमा मेरै अग्रसरता तथा पहलमा सुरु भएको हो । मेचीदेखि महाकाली सम्मका ठुला–साना बायो ग्यास तथा प्रांगारिक मल उत्पादक कम्पनीका सञ्चालकहरूको भव्य जमघट थियो । सडकको खराबीका कारण सुर्खेत र धनगढीका उद्योगी उपस्थित हुन सक्नु भएन । धरानका अस्वस्थ्यका कारण र ठोरीका श्यामबदन जरुरी कामले काठमाडौँ जानुपरेको कारण उपस्थित हुन सक्नु भएन । सर्लाही र रंगेलीका सञ्चालकहरू उपस्थित हुन नसक्नुको कारण बुझिएन ।
जे होस, फोहोरजन्य पदार्थको उद्योग अर्थात ‘वेस्ट इस्ड्रस्ट्री’मा संलग्न व्यवसायीहरूले नेपालमा ४ अर्ब रुपैयाँ जति लगानी गरिसकेका छन् । यसमा ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वेस्ट टु इनर्जीमार्फत डेभलपरहरूलाई ‘प्लान्ट’ तथा मेसिनरीमा लाग्ने रकमको ४० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । जसमा डेभलपर कम्पनीहरूले ४ देखि ५ करोड रुपैयाँसम्म अनुदान पनि प्राप्त गरिसकेका छन् । यो प्रारम्भिक प्रोत्साहित चरणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र धन्यवादको पात्र छ । तर वायो ग्यास उत्पादन गरे पनि ‘मार्केट’ सहज उपलब्ध छैन । वायो ग्यासको कसरी बिक्री–वितरण गर्ने ? सरकारको कुनै नीति–नियम छैन ।
विदेशबाट आयातित महँगो एलपी ग्यासको सट्टामा स्वदेशमै उत्पादिन सस्तो वायो ग्यास प्रयोग गर्न सक्दा देश र जनतालाई कैयौँ गुणा लाभ हुन्छ । तर बजारमा वायो ग्यास प्रयोगका लागि कतिपय आवश्यक सामग्री उपलब्ध छैनन् । त्यसका लागि आवश्यक प्रविधि ‘डेभलपर’ स्वयंले पनि खोज र विकास गर्नुपर्ने हुन्छ । तर, अधिकांश ‘डेभलपर’हरूको आर्थिक स्थिति बैंकबाट लिएको कर्जाको व्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । आफ्नै देशमा प्राप्त कच्चा पदार्थ प्रयोग गरेर उद्योग खोलेका छन् । केही हदसम्म बेरोजगारी समस्या हल गरेका छन् । वातावरण तथा जलवायु परिवर्तनजस्ता संसारकै लागि चिन्ताको विषय बन्दै गइरहेको स्थितिलाई समाधानमा योगदान पुर्याएका छन् । मिथेन ग्यास उत्सर्जन हुन नदिने किसिमका यस्ता उद्योगको बारेमा सम्बधित मन्त्रालय या निकायले ध्यान नदिनु दुःखको कुरा हो । साथै सञ्चार माध्यमहरूले पनि यस विषयमा ध्यान दिन सकेका छैनन् । यी र यस्तै कारण हुन् आज देश पछि पर्नुका ।
सरकार र सम्बन्धित निकायको गम्भीर ध्यान पुगेर यो क्षेत्रलाई अगाडि बढाउन प्रोत्साहित गर्ने नीतिनिर्माण हुनसके देशका लागि पनि बृहत् र बहुआयामिक प्रभाव पर्ने निश्चित छ । जस्तै फोहोरजन्य पदार्थको एउटा मझौला उद्योगले दैनिक ८०० केजी वायो ग्यास उत्पादन गर्छ । प्रांगारिक मल दैनिक रूपमा ९ टन उत्पादन गर्छ भने उसले वार्षिक ७६ करोड रुपैयाँको एलपी ग्यास विस्थापित गर्न सक्ने भयो । वार्षिक ९८ करोड रुपैयाँको रासायनिक मल विस्थापित गर्न सक्ने भयो । यस्ता कम्तीमा १०० वटा उद्योग चल्ने हो भने देशका लागि कति ठूलो योगदान होला । देश साँचीकै समृद्ध बन्न सक्छ । यस्ता १०० वटा उद्योग चल्ने संभावना नेपालमा छ । देशका अर्थ विज्ञ हौँ भन्नेहरूले यो यथार्थताको मनन गरी सरकारको नीतिनिर्माणमा सहयोग पुर्याउने भूमिका निर्वाह गरुन् ।
यस किसिमका उद्योग सञ्चालन गर्दा फोहोर व्यवस्थापनमा लाग्ने खर्चसमेत घट्छ । जसले वातावरण प्रदूषण अन्त्य गर्नुका साथै कार्बन टे«डको माध्यमद्वारा देशलाई आम्दानीको स्रोत दिन्छ । त्यस्ता कम्पनीहरू रुघ्ण अवस्थामा पुगेकोले देशभरीका, मेचीदेखि महाकालीका लगानीकर्ताहरूको सबैलाई पायक पर्ने ठाउँ चितवनको सौराहमा सम्मेलन गर्न उपयुक्त ठानिएको हो । यस्ता मामिलामा सम्बन्धित सरकारी, अर्धसरकारी तथा गैरसरकारी निकायको ध्यानाकर्षण गर्नुपर्छ र रुघ्ण अवस्थामा पुगेका यस्ता उद्योगहरूलाई सुविधा जनक कर्जा प्रवाह गरेर राहत दिनुपर्छ । यस्ता उद्योगमा प्रयोग हुने पार्टपुर्जाको व्यवस्था गरेर सहज उपलब्ध गराउने वातावरण बनाउनुपर्छ । यी उद्योगहरूद्वारा उत्पादित वस्तुहरूको बजारको व्यवस्थाका लागि सरकारद्वारा सहजीकरण हुनुपर्छ । जस्तो छिमेकी देश भारतमा यस्ता उद्योगहरूले उत्पादन गरेको ग्यास सहजै किनिदिने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित निकाय, विज्ञ र सरकारसमक्ष हाम्रा यी दर्दहरू र यथार्थता जानकारी गराउन एउटा ठुला वायो ग्यास तथा प्रांगारिक मल उत्पादक संघको परिकल्पना गरी तदर्थ समिति बनाई सबैको ध्यानाकर्षण गर्ने प्रयत्न भएको छ । जसको संयोजकमा युवराज घिमिरे रहनुभएको छ । यसैगरी सदस्यहरूमा श्रीराम अधिकारी, देशबन्धु कार्की, भेषराज अर्याल, दिलीप शर्मा, अजयकुमार मण्डल, मिनाल तिम्सिना रहनुभएको छ ।
प्रतिक्रिया