काठमाडौँ । सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर वृद्धि गर्न व्यावसायिक उडानको समय घटाएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चर्चा पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २३ कात्तिकदेखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेपछि यी २ अन्तर्राष्ट्रिय विमानस्थलले चर्चा पाएका हुन् । रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुँदै गर्दा यो सँगै बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान छ । पर्यटकीय राजधानीे राजधानी पोखरमा रहेको यो विमानस्थलमा व्यावसायिक उडान हुन सकेको छैन ।
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको ११ दिनमा कुल ४६ उडान अवतरण भएका छन् । विमानस्थल कार्यालयले तयार पारेको विवरणअनुसार यो समयमा कुल १ हजार ३२६ जना यात्रुले सेवा लिएका छन् । हाल यो विमानस्थलमा थाइ एयर, एसिया, जजिरा एयरवेज, कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमले व्यावसायिक उडान गर्दै आएका छन् । जसमध्ये थाइ एयर एसिया र जजिरा एयरवेजले मात्र सिधा उडान गर्दै आएका छन् भने बाँकी वायुसेवाले ट्रान्जिट उडान गर्दै आएका छन् ।
विमानस्थलका अनुसार पछिल्लो समय भैरहवामा अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गर्ने यात्रुको संख्या वृद्धि हुँदै गएको छ । सीधा उडान गर्दै आएको जजिरा एयरवेजको कुवेत–भैरहवा–कुवेत दुईतर्फी उडानमा अकुपेन्सी राम्रो रहेको उनले बताए । यस्तै, बैंकक–भैरहवा–बैंकक दुईतर्फी सिधा उडान गरेको थाइ एयर एसियाको यात्रु अकुपेन्सी पनि वृद्धि हुँदै गएको बताइएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन थालेपछि त्यसक्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले धमाधम उडान सञ्चालन गर्न थालेपछि यस क्षेत्रमा विदेशी पर्यटक बढ्ने र यसले क्षेत्रीय पर्यटन प्रवद्र्धन हुने व्यवसायीको विश्वास छ । भैरहवामा उडान सञ्चालन हुँदा यसले तराई क्षेत्रमा पर्यटकीय सम्भावना उजागर गर्ने उनीहरूको भनाइ छ ।
प्रतीक्षामा पोखरा विमानस्थल, पर्यटन व्यवसायीमा छटपटी
उद्घाटन भएको २ वर्षमा केही ‘चार्टर’ उडान भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै १ खर्ब रुपैयाँ लगानी थपिएको बताइन्छ ।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रेदश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायीलगायतले पटक–पटक संघ सरकारसमक्ष आग्रह गरे पनि हालसम्म कुनै परिणाम निस्कन सकेको छैन । मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल सहितको टोलीले सोही आग्रह गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक रहेको र सोका लागि पहल गर्ने बताएको मन्त्री बस्यालले जानकारी दिए ।
‘प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्रीज्यू र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसमक्ष अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘दुवै पक्षबाट पोखरा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पहल र तयारी गर्ने प्रतिबद्धता आएको छ, छिट्टै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा हामी आशावादी छौँ ।’ मन्त्री बस्यालले संघ सरकारले कूटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘विमानस्थल उद्घाटन भएको पनि २ वर्ष बित्न लाग्यो, नियमित अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा विभिन्न प्रश्नहरू उब्जेका छन्, नागरिकमा पनि गुनासो बढ्दो छ’, उनले भने, ‘ऋणमा बनेको विमानस्थल भएकाले पूर्ण रूपमा सञ्चालनमा नआउँदा राज्यले उल्टो घाटा बेहोरिरहनुपरेको छ, केही प्राविधिक समस्याहरू छन् भने पनि तिनलाई तत्काल समाधान गरेर अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल बनाउने ५० वर्षदेखिको पोखरेलीको सपना पूरा भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् भएको बताए । सरकारले शीघ्र कूटनीतिक पहल सुरु गरेर अन्तरदेशीय उडान सुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबारे अनेक टीकाटिप्पणी हुन थालेको भन्दै उनले विमानस्थल पूर्ण सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन नसक्ने उनको भनाइ छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने उनले बताए । सरकारको नीति अनुसार उचित सहुलियत (प्याकेज) घोषणा गरी पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।
पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेको बताए । ‘पोखराको पर्यटन क्षेत्रमा करिब ६ खर्बको लगानी रहेको अनुमान छ, अहिले पनि तारे होटल धमाधम बनिरहेका छन्, विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी अहिले समस्यामा छन्’, उनले भने, ‘सरकारले जतिसक्दो चाँडो पोखराबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने हाम्रो माग छ ।’
पोखरा र सिंगो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने उनले बताए । विमानस्थल बनेको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्न नसकेकामा उनले दुःख पोखे । उनले भने, ‘विमानस्थल बन्दा उत्साहित बनेका पोखरेलीहरू अहिले निराश छन् ।’
छिमेकी देश चीन र भारतसम्म नियमित उडान सेवा सुरु गर्न सके पनि पोखरामा बर्सेनि ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । व्यवसायीहरूले पोखराबाट अन्र्तराष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्ने लगायतका माग राख्दै आएका छन् । हवाई मार्गबाट देशका ठूला सहरसँग जोडिएको पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा भने नियमित उडान हुन सकेको छैन । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संघीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवा लगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।
प्रतिक्रिया