सोलुखुम्बू । सोलुखुम्बूको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन १८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकोप्टर र जहाज गरी १८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै बिहीबार हेलिकोप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२÷१२ उडान तथा सीता एयरलाइन्सले ८ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले जानकारी दिए ।
बिहीबार भएका हवाई उडानबाट ३९६ जना विदेशी र १३६ जना नेपाली गरी ५३२ जना पर्यटक लुक्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त संख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी ४६२ जना पर्यटक हवाई उडानमार्फत् लुक्लाबाट बाहिरिएका छन् । नाम्चेबाट ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा ३०३ जना विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ ।
‘सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ । तर, चिसो मौसम सुरु भएकाले फर्किने क्रम पनि त्यत्तिकै छ,’ सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । चिसो सुरु भएसँगै खुम्बूबाट बाहिरिने पर्यटकको संख्या पनि बढ्दै गएको छ । मंसिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको संख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बूले जनाएको छ ।
प्रतिक्रिया