ठिक्क प्रजातन्त्र, बाँकी ‘ठोकतन्त्र’

संसदीय समिति गठन हुनुपर्ने केस होइन यो । रविको नाममा प्रहरीमा उजुरी परिसकेपछि प्रहरीले मुद्दा चलाउनुपर्ने थियो । रविसँग प्रहरी डराएर मुद्दा चलाउन सकेन । जिबी राईसँगको सम्बन्ध, उनको पुरानो पृष्ठभूमि र गोर्खा मिडियामा रहेको उनको प्रत्यक्ष संलग्नताले उनी सहकारी ठगीमा संलग्न छैनन् भन्ने आधार छैन । तर, लाज पचाएर प्रतिवाद गर्छन् र दुनियाँलाई उल्लु बनाइरहेका छन् ।

ताराबहादुर कोइराला

विधि, पद्धति र आफ्नै आस्था विपरीत जबरजस्ती गर्ने, कज्ज्याउने, फतुर लगाउने, दिक्क पार्ने, ठेगान लगाउने र पराजित गर्ने रणनीति नेपालको राजनीतिमा गज्जबले फस्टाएको छ । २०४६ को परिवर्तन पछि नेपाली कांग्रेसको नेतृत्वमा संविधान निर्माण गर्ने जटिलतम काम सम्पन्न भयो । किसुनजीको साहस, चातुर्यता र अडान कमजोर भएको भए राजालाई संविधान भित्र बाँध्न सम्भव थिएन । नेकपा एमाले अब्बल बन्न संविधानलाई आलोचनात्मक समर्थन भन्यो ।

२०४८ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११४ सिट सहित पूर्ण बहुमत प्राप्त गरेर सरकार बनायो । पञ्चायतको विरासतको रुपमा आएको विकृति विसंगति माथि प्रहार गर्न सकेन । मकै पिस्दा घुन पनि परे होलान, तर मल्लिक आयोगको सिफारिसमा परेका पञ्चायतकालिन केहि उच्च पदस्त कर्मचारीहरु बर्खास्त गरेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कर्मचारीतन्त्रमा सुधार ल्याउन खोजेका थिए । अदालतले ब्रेक लगाई दियो । मुद्दा जितेर पुनर्बहाली भएका तिनै कर्मचारीलाई एमालेले उपयोग गर्यो ।

त्यतिबेलासम्म नियुक्तिहरुमा विना स्वार्थ योग्यता क्षमता र जेष्ठतालाई प्राथमिकता दिइएको थियो । विधिको शासन स्थापना, आर्थिक विकासको आधार खडा गर्ने र विकास निर्माणको क्षेत्रमा केहि काम भएका पनि थिए । एमालेले कांग्रेस सत्तामा बसेको सहन सकेन । सडक र संसद दुबै मोर्चामा बबाल मच्चाउन थाल्यो । संसद चल्न दिएन । संसदका कुर्सी भाच्यो । गोल्छे सार्की उचालेर तत्कालिन मन्त्री रामचन्द्र पौडेलको जुत्ताले गाला पड्कायो । नेकपा एमाले धेरै पटक सरकारमा गयो । माधव नेपाल, झलनाथ खनाल र खड्ग ओली प्रधानमन्त्री भए । ओली त चार पटक प्रधानमन्त्री भैसके । मदन भण्डारीकी धर्म पत्नी स्वयम विद्या भण्डारी राष्ट्रपति सम्म भइन ।

मदन भण्डारीको हत्या थियो कि दुर्घटना वा आफै भित्रको षड्यन्त्र थियो । खोजी गर्न एमाले नेताहरुले आवश्यक ठानेनन् कांग्रेसलाई अप्टी लगाएर वितण्डा खडा गरे । रत्नपार्कको रेलिङ भाचे । उधुम मच्चाए । एक बालक समेत कतिको ज्यान गयो । कांग्रेसलाई थाल खाँउ कि भात खाँउ पारे । काम गर्न दिएनन् ।

कांग्रेसले पनि मति विगार्यो । आफ्नै झगडाले सरकार ढाल्यो । कांग्रेसका केहि मन्त्री र मानिसहरू कमिसन खान र सत्ताको दुरुपयोग गर्न नलागेका होइनन् । तर गति छाडेर कांग्रेसले काम गरेको थिएन । टनकपुर सम्झौता धोका हो भनेर एमालेले कांग्रेसको उछित्तो काड्यो । पछि महाकाली सम्झौता अनुमोदन गर्न ज्यान छाडेर लाग्यो । एमालेले सर्वोच्च अदालतको फैसला मानेन । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको विरुद्ध नारा जुलुसै गर्यो । गिरिजाप्रसादको पुत्ला त दिनको सात चोटी डढायो होला । कर्मचारी, प्रहरी र सरकारका सबै निकायलाई त्रासमा राखेर नियन्त्रण गर्न केहि हदसम्म सफल भयो । कांग्रेसले गल्ती गरिरहेको हो कि भन्ने भ्रम पनि सिर्जना भयो ।

एमालेको फर्मुला सफल बन्यो । २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेस भित्र भएको झगडाबाट फाइदा लिएर नेकपा एमालेले सबैभन्दा ठुलो पार्टीको हैसियतले सरकार बनायो । राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता नपाएर विघटनको संघारमा पुगेको एमालेले जिबन पायो । भ्रष्टाचार, कांग्रेसीकरण र विधि पद्धतिको नारा दिएर आएको एमालेले भ्रष्टाचारलाई संस्थागत बनायो । विधि पद्धति र परम्परा भताभुंग बनायो । कर्मचारी तन्त्रमा आतंक मच्चायो र आफ्नो संजाल निर्माण गर्यो । यसरी एमालेकरण गर्यो की, संबैधानिक देखि पिउन सम्मको पदमा आफ्ना कार्यकर्ता भर्ना गर्न सुरु गर्यो । योग्यता नपुगेको मानिसलाई आइजीपी बनाउन खोजेर प्रहरीमा बबाल मच्चायो । मासिक एक सय बृद्ध भत्ता बाडेर ख्याति कमायो । गिरिजाप्रसादलाई फालेर आफ्नो प्रधानमन्त्री बनाउन एमाले पल्टन भारत गयो । दिल्ली दरबारमा लम्पसार पर्यो । समय क्रममा एमाले आफुलाई सच्याउने बाटोमा त आएको छ तर त्यही फर्मुला अरुले समाई दियो । अहिले आफ्नै गलपासो बनेको छ ।

नेकपा माओवादी सशस्त्र द्वन्द र त्यसबाट भएको धनजनको क्षति औचित्यपूर्ण थिएन भन्ने कुरा आज आएर प्रमाणित भएको छ, तर हिंसाको आतंक खडा गरेर प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । सुरुमा एमाले र अन्य वामपन्थीहरूलाई साथ लिएर काँगेस काट्ने, सेर्ने र लखेट्ने काम गरे । एमालेका कार्यकर्ता माओवादीको नाममा राती राती राँके जुलुस निकाल्थे । पछिल्लो चरण एमालेलाई पनि ठोक्न थाल्यो । आफ्नो राजनीतिक प्रभुत्व कायम गर्न विरोधीका घुँडाका पाँग्र्रा खुस्काउने, अंगभंग बनाउने, लुटपाट मच्चाउने र मानिस मारेर वाक्कदिक्क बनायो ।

शान्ति वार्ता गरेर बाह्र बुँदे सहमति गर्न गिरिजाप्रसाद र राजनीतिक दलहरु बाध्य भए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आन्दोलनको जनादेश पनि थिएन बाह्रबुँदे सहमतिको सर्त पनि थिएन । माओवादी र अन्य केही शक्तिहरुलाई कसैले उपयोग गर्यो ? तर दबाबमा यी एजेन्डाहरु देशले मान्नु पर्यो । कांग्रेस एमाले लछारिएर सहमतिमा गए । जनता तताउन अब्यबहारिक र उग्र नारा लगायो । असंभव सपना बाडेर मानिस उफार्यो । सरकारमा रहदा यो प्रवृत्तिलाई विरोध गर्ने माओवादीले सरकारबाट खुस्केपछि त्यही एजेन्डा समाउने गरेको छ । यो लैबरी चरित्रले माओवादी पार्टीलाई पतन गराउछ । आफुलाई सुधार गरेर अस्तित्व जोगायो भने पनि भोग्ने नियति त यही नै हो ।

विकल्पको खोजीमा रहेका जनताले रास्वपालाई साथ दिए । नीति, नेतृत्व र इतिहास नभएको रास्वपा विधि, पद्धति र नैतिक मुल्य मान्यताबाट पनि च्युत भएको रहेछ । पत्रकार हुदा सरकारी निकायले गर्नु पर्ने न्याय निसाब आफै गर्दै हिडे । सरकारको विरोधमा भएका राजनीतिक दलले रविलाई उचाले । बर्तमान परिस्थिति सँग असन्तुष्ट जनमतले साथ दियो । उनी हाईहाई भए । पत्रकार सालिकराम पुडासैनी को आत्महत्या दुरुत्साहन काण्डमा हुल प्रदर्शन गरे । अनुसन्धान र न्यायीक निकायमाथि दबाब सिर्जना गरेर उम्किए ।

उनका सवारी चालक दिल बहादुर थापा छतबाट खसेको र उपचारको क्रममा मृत्यु भएको भनिए पनि घटना प्रकृति र घटनाक्रमले उनको स्वभाविक दुर्घटनाबाट मृत्यु भएको मान्न धेरै मानिस तयार छैनन् । दोहोरो नागरिकता र पासपोर्ट काण्डमा उनिसँग भएको जनमत देखेर सम्बन्धित निकाय डरायो र उन्मुक्ति पाए । सहकारी विवादमा लामिछानेको नामबाट पैसा गएको छ । सोही नाम गरेको ब्यक्ति अर्को छैन । मैले सहि गरेकै होइन भन्छन । जीवी राई उनका पाटनर, कहाँ छन् थाहा छैन भन्छन् । संसदीय समितिले लामिछाने भएकै कारण सहकारी ठगी ठहर गर्न सकेन । गोरखा मिडियाको रकम अपचलन भनेर उम्कियो ।

संसदीय समिति गठन हुनुपर्ने केश होइन यो । रविको नाममा प्रहरीमा उजुर परिसकेपछि प्रहरीले मुद्दा चलाउनु पर्ने थियो । रविसँग प्रहरी डराएर मुद्दा चलाउन सकेन । जिबी राईसँगको सम्बन्ध, उनको पुरानो पृष्ठभूमि र गोरखा मिडियामा रहेको उनको प्रत्यक्ष संलग्नताले उनी सहकारी ठगीमा संलग्न छैनन् भन्ने आधार छैन । तर लाज पचाएर प्रतिवाद गर्छन् र दुनियाँलाई उल्लु बनाइरहेका छन् । अमेरिका देखि देश भित्र दर्जनौं मुद्दा रविको नाममा चलिरहेको छ । उनै ईमानदार ।

संसदीय छानबिन समितिले पेस गरेको प्रतिवेदनको आधारमा प्रहरीले रविको मुद्दा अगाडि बढाएको छ । अहिले पनि प्रहरी र अदालतलाई दबाब दिन र प्रभावमा पार्न पोखरामा हुल जम्मा गरेर चुरिफुरी गरिरहेका छन । जनसागर त प्रहरी फोहराको घेरैमा सिमित थियो । तर पनि जनमतको धाक लगाएर थर्काइ रहेको छ । इजालसको मर्यादा राख्दैन । प्रहरीलाई आरोप लगाउछन् । प्रहरी नियन्त्रणमा छन् । पत्रकार सम्मेलन गर्ने छुट पाउछन् ।

भोलि अदालत र प्रहरी पनि प्रभावमा परे भने सहकारी पीडितले न्याय खोज्न कहाँ जाने ? यस्तो खाले जबरजस्ती प्रवृत्ति राजनितीमा कहिले सम्म उपयोग हुने हो ? भ्रम र झुठको खेतीमा नेपाली जनता कहिलेसम्म रमाउने हो ? जनता भ्रष्टाचारको विरोध गर्छ । भ्रष्टचारीको पक्षमा जुलुस निकाल्छ । धन्य नेपाली जनता ! तिम्रो विवेक ।

गम्भीर राजनीतिक चिन्तन र चरित्र, परिपक्व र इमान्दार कार्यशैली, दृढ अठोट र संकल्प अनि आँट, धैर्य र देश बनाउने कार्ययोजना भएको दुरदर्शी नेतृत्व देशले कहिले पाउला ? ठिक्क प्रजातन्त्र बाँकी ठोकतन्त्र ! यही हो देश बनाउने मूल सूत्र ! बन्द गर सबै खाले छाडातन्त्र ।

प्रतिक्रिया