एमाले नेतृका सैद्धान्तिक दरिद्रता

दानवीर मीनबहादुर गुरुङज्युले प्रदान गरेको भवन निर्माणको विषय अदालतमा पुगेको छ र हुनसक्छ यसको फैसला एमालेका विरुद्ध पनि आउन सक्छ । अनि यसैका भरमा हामीले त पहिले ने भनेका थियौँ भनेर फेरि उफ्रिने होला होइन । उषाले त अन्तर्वार्तामा २०६२/०६३ मा गणतन्त्रका लागि लडेको भनेर निक्कै आत्मप्रसंशा गरेको सुनियो ।

मिथिला पोखरेल

एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको हालै हिमालय टेलिभिजनमा प्रसारित अन्तर्वार्ता सुन्दा आफैँ भारी लाज र सरममा परेँ । आफू त हाल पदीय हिसाबले कार्यकर्ता नै हो । एमाले जत्तिको प्रभावशाली पार्टीको केन्द्रीय सदस्य त कम्तीमा तमाम कार्यकर्ताले गर्व गर्ने खालका हुन् भन्ने चहना हुँदो रहेछ । तर यता केही दिनदेखि केही एमाले नेता र नेतृहरूको व्यहोरा हेर्दा र सुन्दा अचम्म लागेको हुँदा यो लेख लेख्दैछु । एकातिर पद्मा अर्यालजस्ता आमकार्यकर्ता र जनताका पार्टी नेतृत्वका सकारात्मक पक्ष चित्त बुझ्ने गरी प्रवाह गरिरहनुभएको छ तर अर्कातिर स्थायी र केन्द्रीय सदस्य रहेका नेतृहरू पाटीलाई खुइल्याउन आतुर देखिन्छन् ।

टेलिभिजन अन्तर्वार्तामा तिम्सेनाले पहिले आफूले बोलका धेरै कुरा ढाँटिन् । कान्तिपुर हेडलाइनमा एमालेले अभियानका रूपमा अगाडि बढाएको मिसन ८४ को, नेकासित मिलेर सरकारको नेतृत्व गर्न बाध्य रहेको र पार्टी भवन शिलान्यास र भवन निर्माण विषमा अराजक भन्न मिल्ने विचार व्यक्त गरेकी थिइन् तर हिमालय टिभीमा ती धेरै कुराहरू छपक्कै छोपिन्, सरासर ढाँटिन् र वार्ताकार पत्रकार पनि एमाले र ओलीलाई खुइल्याउन आतुर र व्यग्र भएकाले उक्त कुरा प्रश्नका रूपमा उठाएनन् । बरु ती पत्रकार त भवन शिलान्यास विषयमा पार्टी सचिवालय बैठकमा सही गर्ने अमुक नेताले मन नपरी नपरी सही गरेको दुःखेसो आफूसित गरेको बताए ।

तिम्सेनाले चाहिँ बिन्दा पाण्डेले सामाजिक सन्जालमा गरेको विरोधलाई आफ्नो फेसबुकमा दुई लाइन मात्र लेखेकामा स्पष्टीकरण दिन बाध्य भइएको बताइन् । तर उनी गल्ती गरे पनि त्यसैमा अड्डी गर्दै थिइन् । उल्टो मैले के गल्ती गरेँ र । सिंगो पार्टी लागेर गरेका काम पत्यारिलो नहुने अनि म एउटी जाबोले बोलेको विषयको यत्रो प्रभाव पर्ने हुनसक्छ भनी प्रश्न गर्दै थिइन् । तर उनलाई बिख धेरै चाहिन्न भन्ने थाहा रहेनछ । उषाकिरणका अलिअलि अंग्रेजी मिसाएर र बडप्पन देखाउने मुखमण्डल र बोलीको हाउभाउ हेर्दा उनी निक्कै घमण्डी स्वभाव रहेको हुनसक्ने डा.पोखरेलले मलाई बताउनुभयो । अझ उषाकिरण तिम्सिनालाई कुनै पनि नेताको मूल्यांकन गर्ने दुई महत्वपूर्ण पक्ष हुन्छन् र ती पूर्ण र अंश हुन् भन्ने पनि थाहा रहेनछ भन्ने लाग्यो ।

उनी त घनश्याम भुसाल, भीम रावल, माधव कुमार नेपाल प्रचण्ड सबै सबैलाई बाम आन्दोलनका हस्ती भन्दै थिइन् । उनका कुरा अंशमा सही हुन् तर समग्रमा सरासर गलत हुन् । समग्रमा ती कति कम्युनिस्ट हुन र जबज पक्षधर हुन् भन्ने कुरा अहिले र पहिलेका गतिविधिले स्पष्ट पार्छ । ओलीलाई सरकार बनाउनै नदिने निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई परिचालित गरियो । बहुमत प्राप्त एमालेलाई सरकार बनाउन २ महिना ढिला गर्नु र सरकार बनेका दिनदेखि दुबै मिलेर सरकार विरोधी फलाको गर्नु र दुईतिहाइको सरकार अनेक खोलखेलेर गिराउनु,पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्नु, अनेक फरेबी विषय उठाएर पार्टी अध्यक्ष ओलीको राजनीति समाप्त पार्छु भन्नु विरोधी शक्तिसित मिलेर पार्टीलाई ध्वस्त पार्न भूमिका खेल्नुजस्ता गतिविधिमा एकध्यान र मन गरेर लागेका होइनन् ? अनि ढाँट कुरा गरेर हुन्छ ? अनि यस्ता खालका पात्रलाई देवत्वकरण गर्नु एउटा नेताका लागि दिवालियापन हो ।

यस्ता विषय सरासर खारेजयोग्य छन् । भीम रावललाई के चाहियो त अब ? अध्यक्षसित चुनावी प्रतिस्पर्धा गर्ने हैसियत नभए पनि त्यसैमा रडाको गर्ने, उपाध्यक्ष बस्नुस् भन्दा नमान्ने सधैँ जोरी मात्र खोज्ने । निर्वाचनमा हारेपछि सल्लाहकारमा बस्नुस् भन्दा पनि नमान्ने, अध्यक्ष ओलीलाई आइमाइको किड्नी लगाएको आदि नानाथरि मुखमा आए जति बोल्ने रावललाई महान् भन्न मिल्दैन । त्यसैगरी जहिल्यै पार्टी अध्यक्षबारे मनपरी बोल्ने पार्टीका आफ्नू जिम्मेवारीअनुसार खास काम नगर्ने पार्टी र अध्यक्षविरुद्ध बोलेर दुनियाँ हँसाउने घनश्याम भुसाल अहिले पनि तिम्सेनाका आदर्श पात्र रहेको सुन्दा त म छाँगाबाट खसेँ ।

प्राडा बद्रीविशाल पोखरेलका प्रायः सबै लेख पढ्ने गरेकी हुँदा पनि मूल्यांकनका माक्र्सवादी दृष्टिकोणलगायत विषय आफूलाई थाहा भएको हो । अक्सर कामले काम सिकिन्छ तर तलतल कामे नगरेको वा नसिकेका काँचा मान्छे विभिन्न आधारमा माथि लाने कुराले पार्टी बन्देन । मूलतः जनतामा मात्रै निर्भर अनि संगठित सदस्य पार्टी र मोर्चा संगठनको जगमा मात्र जीवित रहने पार्टीमा उपरोक्त खाले भद्रगोल हुन थालेपछि पार्टी सशक्त बन्दैन । एमाले विरुद्ध भित्री र बाहिरी शक्ति निरन्तर लागिरहेको देखिन्छ । स्वतन्त्र न्यायालय भनिएको निकायसमेत एमालेविरुद्ध फैसला गर्छ ।

चारैतिरबाट विपक्षले घेरा हालेका बेला केन्द्रीय सदस्य, स्थायी समिति सदस्यलगायत उच्च तहका नेताले सम्हाल्नेभन्दा भड्काउने काम गर्न सुहाउँदैन । दानवीर मीनबहादुर गुरुङज्युले प्रदान गरेको भवन निर्माणको विषय अदालतमा पुगेको छ र हुनसक्छ यसको फैसला एमालेका विरुद्ध पनि आउन सक्छ । अनि यसैका भरमा हामीले त पहिले ने भनेका थियौँ भनेर फेरि उफ्रिने होला होइन । उषाले त अन्तर्वार्तामा २०६२/०६३ मा गणतन्त्रका लागि लडेको भनेर निक्कै आत्म प्रसंशा गरेको सुनियो ।

तर म आफैँ र सुनसरी र इटहरीका धेरै महिलाहरू सडक आन्दोलनका क्रममा १३ सशस्त्र गण कपलीमा थुनामा परेका थियौँ । अझ हामी त श्रीमान् र श्रीमती दुवै थुनिएका थियौँ । तिम्सेना त कसैले नगरेको त्याग र बलिदान आफूले गरेको भनेको सुन्दा आदरणीय दिदीहरू अष्टलक्ष्मी शाक्य, सुशील क्षेष्ठ, सहाना प्रधान र विद्या भण्डारीले ज्यानकै बाजी लगाएर गरेको योगदान सम्झिएँ । सायद् तिम्सेनाले पढेकै छैन कि जस्तो लाग्यो । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीका बारेमा लिखित एक किताब छ । महिला मुक्ति । यसमा तारा राईको एउटा लेख छ । त्यसमा विद्या भण्डारी र म समेत भनेर घरबाट डेरामा खान ल्याएको चामल आफ्नू पेट काटेर पार्टी र अनेम संघको कामका लागि खर्च जुटाउने गरेको कुरा छ ।

अझ विद्याले ससाना छोरी च्यापेर गरेका कामको विवरण उषाले सुनिन् भने उनका आँखाबाट आसु झर्लान् । आगामी बहुमतको सरकार बनाउने लक्ष्यप्रति नै गुनासो जस्तो लाग्ने कुरा गर्दै थिइन् । एमाले नै एउटा आशा र भरोसाको एक मात्र पार्टी हो । ओलीका कमजोरी भए हिजोकै सरकारले बाँकी राख्थ्यो होला । ओलीका कमजोरी आँखा च्यातेर हेर्दा पाइनन् र आफैँ मरिच झैँ चाउरिए । सबै यसै भन्छन् भनेर स्याल हुइयाँका पछिपछि लाग्नु हुँदैन कम्तीमा नेताले । अब आइन्दा जे मन लाग्छ जहिले मन लाग्छ तहिले तहिले नबोल्न्ु होला ।

संयोगले पाएको केन्द्रीय स्तरको जिम्मेवारी होसपूर्वक पूरा गर्नुहोला । एमाले र यसको प्रभावशाली शीर्ष नेतृत्व पाउँदा पनि आफैँ गर्व नगर्ने एमाले हुन सक्तैन । कमजोरी होलान् र हुनसक्छन् त्यसको उपचार विधि पनि छ र हुन्छ । तर अलिकति तलमाथि पर्ने बित्तिकै डाडु पन्युँ लिएर सडकमा जात्रा देखाउनु हुन्न । भारतविरुद्ध हामी केही नै गर्दैनौँ भनी तमसुक गर्ने र २०४६ को पूर्व सन्ध्यामा भारतीय सेना नेपालमा प्रवेश गराएर गणतन्त्र ल्याउनुपर्छ भन्नेको आरती उतारेको देख्दा उदेक लाग्छ । आफ्ना पार्टीको केही पनि राम्रो नदेख्ने अनि कम्युनिस्ट आन्दोलनलाई अन्तध्र्वंश गर्नेको गुणगान एमाले नेता भएर कसरी गर्न सकिन्छ । मदन भण्डारीले भनेझैँ झण्डा र नारा बोक्तैमा सबै सच्चा कम्युनिस्ट हुँदेनन् मित्र ।

(इटहरी निवासी लेखक अनेम संघ केन्द्रीय सल्लाहकार हुन्)

प्रतिक्रिया