परिवर्तन

मापदण्ड परिवर्तन भइरहनु नीतिगत भ्रष्टाचार हो है भनेर हाम्रो दिमागलाई सोच्ने फुर्सद कहाँ छ र ? हामी तस्कर र माफियाको जालोमा पलपल फसिरहेका छौँ । जबसम्म सम्पूर्ण पद्धतिप्रति प्रहार गर्नुपर्ने रहेछ भनेर बुझ्दैनौ तबसम्म व्यक्ति, दल, तन्त्र वा राज्यका संरचना विशेषका समर्थन वा विरोधमा हामीलाई लडाइरहिनेछ । तस्करतन्त्रमा वा माफियातन्त्रमा सबै मिलेर नै यी काम भइरहेको हुन्छ भन्ने कुरा परिवर्तनले कहिले हाम्रो दिमागमा घुसाउला ? राजनीतिक तन्त्रका हातमा राज्य छैन भन्ने कुरा कहिले थाहा देला ? पटकपटक नीति परिवर्तन हुनुको पछाडि नीतिगत भ्रष्टाचार प्रमुख कारण हो, देश विकास गर्ने लक्ष्य होइन भनेर हामीलाई कहिले ज्ञान होला ?

मोहनप्रसाद सापकोटा

कुनै पनि मुद्दामा अमुक व्यक्ति दोषी हुनु वा नहुनु भन्ने कुरा गौण हो । जेजस्ता मुद्दाले जेजति राज्यलाई हानि भयो त्यसको शोधभर्ना जरिवानासहित भइरहेको छ छैन भन्ने कुरा महत्वपूर्ण हो । सतहमा उफ्रन त जसका जिउमा उपैयाँ बनेर सल्कँदा पनि उफ्रन पाइन्छ ।

दोषीबाट मैले के पाएँ भन्दा पनि राज्यले शोधभर्ना पायो कि पाएन भन्ने कुराले महत्व राख्दछ अर्थात् पद्धति बसाउने कुराले महत्व राख्दछ । अर्बौैं खाने करोड दिएर चोखिने, करोडौँ खाने लाख दिएर चोखिने कुपद्धतितिर हामी वास्ता गरिरहेका छैनौँ ।

कुनै पनि सरकारी वा राजनीतिक वा समाज सेवाका पदमा बसिरहेका व्यक्तिको वैध आयले तिनको रातारात बढिरहेको अचम्मलाग्दो जीवनशैलीलाई समर्थन गर्दैन । कतै न कतैबाट कुनै न कुनै उपायले राज्यलाई नचुसी कसैको पनि जीवनस्तर यसरी उकासिँदैन ।

आफू आफू मिलेर आयोग वा समिति बनाइनु, मुद्दा चल्नु र पक्ष वा विपक्षमा फैसला हुनुले मात्र हामीले चाहेको परिवर्तनको संकल्प पूरा नहुँदो रहेछ । हामीले यस्ता प्रक्रिया त आधा शताब्दीदेखि हेर्दै आइरहेकै हो । तर पनि अर्थव्यवस्था चलि नै रहेको छ । मनले जीवनस्तरलाई वैध आयले समर्थन नगर्ने जति सबै आय अवैध आय हुन भन्दछ तर प्रायोजित कानुनले यसो नभन्दो रहेछ ।

ऋण लिएको पनि हो, सापटी लिएको पनि हो, कमाएको पनि हो तर देश दुब्लाउँदै जाने र व्यक्ति मोटाउने प्रथाको भने अन्त भएन । भ्यागुताको जस्तो भुँडी लागेको देख्दादेख्दै पनि ‘केही नखाँदा पनि भुँडी लाग्दोरहेछ’ भनेर कसैले भन्दा हामी ‘ए ए होला होला’ भनेर नै पत्याउने गरिरहेका छौँ । देश सुक्ने तर व्यक्ति उक्सने भनेको सुकेनास रोग लागेको जस्तै हो । सुकेनास रोग लाग्दा अरू सबै अंग सुकेको हुन्छ तर भुँडी भने पिर्लिक्क बाहिर आएको देखिइरहेको हुन्छ । हामीलाई यस्तै किसिमका विकास भिराइ रहिएको छ ।

व्यक्तिमा चाँडो प्रगति गर्ने चाहना हुनु सामान्य कुरा हो । तर, उसले अपनाउने तरिका सबै सही हुन्छन् भन्ने हुँदैन । स्वास्नी, लोग्ने, बाउ, आमा र सन्तान आदि सबै नाता धन कमाउनका लागि प्रयोग गर्न थालिएको छ । यसले पनि नसके, नभए शरीरका अंग बेच्ने गरिन्छ ।

अनि पतिले पत्नी मारेछ, पत्नीले पति मारिछे, बाउआमाले सन्तान मारेछन्, सन्तानले बाउआमा मारेछन्, जानीजानी आफैँले आफ्नो कारखानामा आगो लगाएछ, जानीजानी सवारी साधन खोलामा खसालेछ, आत्महत्या गरेछ आदि समाचार नआए के आउँदछ त ?

राज्य भनेको घटना विशेषलाई उरालेर वा थचारेर जनताको ध्यान मोड्न स्थापना गरिने संस्था होइन । पद्धति बनाएर कडाइका साथ सबैलाई समान किसिमले पालना गर्न लगाउने संस्था हो । हामी भित्रभित्रै बाँडीचुँडी खाने र बाहिर दुईतिर फर्केर बित्तण्डा मच्चाउने र आमनागरिकलाई भ्रमित बनाउने संस्थालाई राज्य मानिरहेका छौँ ।

परिवर्तनले हाम्रो दिमागलाई फेन्सिडिल खुवाएर भ्रमित बनाइदिएको छ । साउनमा आँखा फुटेको गोरुजस्तो बनाइदिएको छ, आफ्नाले जे गरे पनि सबै हरियो नै देख्ने खालको बनाइदिएको छ । यो मूल रोग जबसम्म नाश हुँदैन तबसम्म देश कंगाल नै भइरहनेछ । हामी अर्बौंको लगानीमा बनेका भ्यूटावर माथि चढेर अझै सैयौँ वर्षसम्म कर्मचारीलाई तलब खुवाउन दाता कता छ । साहु कता छ भनेर दूरबिन समाएर खोजिरहेकै अवस्थामा हुनेछौँ ।

बिजुली स्याटलाइटबाट बेच्छुभन्दा पनि पत्यायौँ । त्यसले सकिएन प्रसारण लाइन बनाउँछुभन्दा पनि पत्यायौँ । गाउँगाउँमा सडक पुगे देश विकास हुन्छ भने, त्यो पनि पत्यायौँ । यस्ता अनेक थरी आश्वासन बाँडियो हामीले पत्यायौँ । आश्वासन बाँड्न क्रम जारी छ, हामी सबै पत्याइ नै रहेका छौँ ।

अभूतपूर्व विकास हुँदासम्म देशभित्र नागरिक नै बाँकी नरहने स्थिति बनिरहेछ । यतातिर कोही गम्भीर छैन । ऋण जति हाम्रा थाप्लोमा नाफा जति अन्तै चुहिने गरी द्रूतगतिमा परिवर्तन भइरहेछ । सुकुलगुण्डा हुन आम्दानी चाहिन्न त्यसैले परिवर्तन अब भूउपग्रह प्रक्षेपणको तयारीमा लागिरहेछ । जीवित हुँदासम्म जसरी भए पनि उपियाँलाई पाल्नु नै पर्दछ भनेर काइते योजना बुनिरहेछ । उपियाँ, उडुस पाल्नु पनि विकास नै त हो ।

जताबाट आयो नाफा जति सबै उतै जाने योजनाले देश विकास हुन्छ भनेर सोच्नेजति सबै मूर्ख हुन् । दसैँ आउन लाग्यो रेल कार्यालयका कर्मचारी, अनि पानीजहाज कार्यालयका कर्मचारी अब भू–उपग्रहको कार्यालयतिर सरी म्यारिज खेल्न थाल्नेछन् । पालिएका पत्रकार त्यहाँ गएर तास खेलिरहेको भिडियो खिची मोलतोल गर्दै दसैँतिहार खर्चको जोहो गर्नेछन् । विदेशमा गई रगत र पसिना चुहाउनुलाई प्रगति ठान्ने नागरिक दसैँतिहारमा केहीदिन रमाउन स्वदेश फर्कनेछ । उसलाई विकासको यथार्थता चासोको विषय हुँदैन । केही दिन बस्नेछ, परिवारसँग रमाइलो गर्नेछ, राजनीतिक दासताको धुङधुङति बाँकी भएकोले त्यसैको केही छाद छाद्नेछ र फेरि उतै फर्कनेछ ।

विकासको नमुना हेर्नलाई विकास भइरहेछ । प्रयोजन के थाहा छैन, सञ्चालन अवस्था मतलव छैन, भविष्य के वास्ता छैन, कसले किन र के का लागि विकास गरिरहेछ बाल मतलव । परिवर्तन यसरी नै चलिरहेछ ।

नदी, सडकका विवाद चलिरहेछन्, चलिरहनेछन् । बेच्ने, बेच्न तारतम्य मिलाएर भुँडी भर्नेजति सबै चोखा भइरहनेछन् । जो जीवनभरको कमाइ लगाएर फस्दछ सबै दोषजति उसैका थाप्लोमा हालिनेछ । त्यही निरीह राजनीतिक दास हरेक गतिविधिमा दण्डित भइरहनेछ । मापदण्ड परिवर्तन भइरहनु नीतिगत भ्रष्टाचार हो है भनेर हाम्रो दिमागलाई सोच्ने फुर्सद कहाँ छ र ? हामी तस्कर र माफियाको जालोमा पलपल फसिरहेका छौँ ।

जबसम्म सम्पूर्ण पद्धतिप्रति प्रहार गर्नुपर्ने रहेछ भनेर बुझ्दैनौ तबसम्म व्यक्ति, दल, तन्त्र वा राज्यका संरचना विशेषका समर्थन वा विरोधमा हामीलाई लडाइरहिनेछ । तस्करतन्त्रमा वा माफियातन्त्रमा सबै मिलेर नै यी काम भइरहेको हुन्छ भन्ने कुरा परिवर्तनले कहिले हाम्रो दिमागमा घुसाउला ? राजनीतिक तन्त्रका हातमा राज्य छैन भन्ने कुरा कहिले थाहा देला ? पटकपटक नीति परिवर्तन हुनुको पछाडि नीतिगत भ्रष्टाचार प्रमुख कारण हो, देश विकास गर्ने लक्ष्य होइन भनेर हामीलाई कहिले ज्ञान होला ? सम्भवतः राज्यले दासहरू किनबेच गर्न पाउँदासम्म यी कुरा रहरिहनेछन् ।

प्रतिक्रिया