घामदेखि जूनसम्म

खानागावा क्यान, योकोहामा, शिन्सुगिता स्टेसनको तल जेब्राक्रसिङमा पुग्दा २ जना नेपाली भाइहरू कुरा गरिरहेको देखेँ । यो देशमा नेपाली भेट्दा खुसी लाग्ने ठाउँ होइन रहेछ । मेरा दाइ, साथीहरू दुबई, कतार, मलेसिया, युरोप, अमेरिका जाँदा कोही नेपाली देख्दा निकै खुसी लाग्ने । नेपाली नभेटिए भारतीय, त्यो पनि नभेटिए एसियन भेटिँदा पनि खुसी लाग्थ्यो भन्नुहुन्थ्यो, तर मैले त्यस्तो अवसर प्राप्त गर्नै सकिनँ । किनकि म देशको सीमा बाहिर नजाने सोच बोकेर राजधानीमा भौतारिएको थिएँ ।

विजय खत्री

आज एक घण्टा पार्कमा बसेर केही लेख्छु भनी कोठाबाट ल्यापटप र मोबाइलसहितको झोला बोकेर ढोकामा ताला लगाएर यात्रामा निस्किएँ । तेस्रो तलाको भर्याङ तीन खुड्किला झर्दा तलबाट सोही घरमा बस्ने मेरो बाबुसमान उमेरको जापानिज तीन खुड्किला माथि चढेको रहेछ । सिँढीमा दुई जना वारपार (क्रस) हुन गाह्रो होला, भन्ने ठानेर म तीन खुड्किला उक्लिएर उसलाई बाटो छाडिदिएँ । ऊ माथि चढेर धन्यवाद भन्दै शिर निहुर्यायो । मैले मुसुक्क मुस्कुराउँदै ऊ जाने कोठातिर हातले इसारा गरेँ र तल ओर्लिएँ ।

पार्किङबाट साइकल झिकेर मनको गतिमा ओराली लागेँ । पार्कमा आउने बाटोको बीचमा ट्रेनको लिक पर्छ । ट्रेन आउँदा–जाँदा लिकबाट मानिस तथा सवारी साधन आवत–जावत नहोस् भनी आवाज दिँदै करिब एक मिनेट गरालो (खोल्न बन्द गर्न मिल्ने बार) लाग्ने हुन्छ । बज्दासाथै हो भने क्रस गर्न सकिन्थ्यो तर शरीर ठेगानमा भए पनि दिमाग ठेगानमा थिएन । त्यसैले बज्दासाथै क्रस गर्न बिर्सेछु, गरालो लागि हाल्यो । करिब एक मिनेट रोकिएर ट्रेन गएपछि गरालो खुल्यो अनि म बतासिएँ ।

वैदेशिक रोजगार, विद्यार्थी भिजा, ब्यापारिक भिजा र निर्भर भिजा (डिपेन्डेन्ट भिसा) ले गर्दा हाल जापानका प्रत्येक जेब्राक्रसिङ, ट्रेन स्टेसनमा नेपालीसँग ठोकिएकै हुन्छ । म खानागावा क्यान, योकोहामा, शिन्सुगिता स्टेसनको तल जेब्राक्रसिङमा पुग्दा २ जना नेपाली भाइहरू कुरा गरिरहेको देखेँ । यो देशमा नेपाली भेट्दा खुसी लाग्ने ठाउँ होइन रहेछ । मेरा दाइ, साथीहरू दुबई, कतार, मलेसिया, युरोप, अमेरिका जाँदा कोही नेपाली देख्दा निकै खुसी लाग्ने । नेपाली नभेटिए भारतीय, त्यो पनि नभेटिए एसियन भेटिँदा पनि खुसी लाग्थ्यो भन्नुहुन्थ्यो, तर मैले त्यस्तो अवसर प्राप्त गर्नै सकिन । किनकि म देशको सीमा बाहिर नजाने सोच बोकेर राजधानीमा भौतारिएको थिएँ । काल, क्रम र परिस्थितिले यहाँसम्म पुर्यायो, जे भयो ठिकै भयो ।

यस्तै सोच्दा–सोच्दै झ्याप्प हरियो बत्ती बल्यो, हातले ह्यान्डिल समाउँदा खुट्टाले प्याडल थिच्यो । म अगाडि बढेँ, ती भाइहरू कता गए हेर्नै बिर्सिएछ ।
मेरो अगाडि चर्को घाममा बस स्टेसनको पर्खाइमा पल्टिएको जस्तो देखिन्थ्यो भने प्रतिक्षालयमा यात्रीहरू आफ्नो रुटको गाडी आउने दिशातर्फ हेर्दै कोही जुस पिइरहेका थिए, त कोही मोबाइल कोट्याइरहेका देखिन्थे । बस स्टेसनलाई दायाँ पारेर फूलको सानो बगैँचामा आँखा डुलाउँदै । सिस्टमले चलेको देशमा साइकल पनि सिस्टममा लाइन मिलाएर राखेका थिए । त्यहाँ साइकल राखेबापत पैसा तिर्नुपर्ने रहेछ । पैसा तिर्दा कुनै व्यक्तिलाई बुझाउनु नपर्ने सिधै मेसिनमा पैसा राख्यो कि साइकलमा पार्किङको लक खुल्ने । त्यहाँ तिरेको पैसा सरकारको भए सिधै सरकारसँग, व्यक्तिगत भए सम्बन्धित व्यक्तिसँग पुगेर आम्दानीबापतको सरकारलाई कर तिर्छन् र पो देश धनी हुन्छ ।

यसो भनिरहँदा जनता दोषीजस्तो देखिएला त्यसो पनि होइन, सरकारले सेवा दिए पो जनताले सेवाबापतको कर तिर्ने । यस्तै सोच्दै ३० तले घरले ओझेल (छाया) पारेको बाटो हुँदै अर्को जेब्राक्रसिङमा पुगेँ । म पुग्दा ठ्याक्क हरियो बत्ती बलिरहेको रहेछ । खुट्टाले गति बढाएसँगै दायाँ–बायाँका गाडी हेरेको त राष्ट्रपतिको सवारीमा झैँ साना ठूला सवारी साधन टक्क रोकिएका थिए । जब हरियो बत्ती झिपझिप गर्न थाल्यो तब गाडी स्टार्ट गरेको आवाज सुनियो । म लगायत बटुवा र साइकलयात्रीले बाटो काटिसक्दासम्ममा गाडीको लागि हरियो बत्ती बल्यो । ट्याँट्याँ र टुँटुँ केही नगरी आवाजविहीन आफ्नो यात्रामा अगाडि बढे ।

म पनि आफ्नो बाटोमा लागेँ । अलिक अगाडि आएपछि दायाँ मोडिएँ । मोडिँदै गर्दा आडमा स्वचालित पसल (भेन्डिङ मेसिन) रहेछ । गर्मी मौसम भएकोले त्यहाँ चिसो पानी, जुस, कफी, चिया र आइसक्रिमहरू थिए भने त्यसको आडैमा फोहोर राख्ने बाकस पनि थियो । बाटोमा चकलेटका कागज, आइसक्रिमको प्लास्टिक, पानीका बोतल कतै भेटिँदैनन् ।

बाटोको बायाँतर्फ गेटविहीन पार्कले चौबिसै घण्टा आगन्तुकलाई स्वागत गरेको हुन्छ । मभित्र छिरेँ । पार्कको दायाँतर्फ महिला–पुरुष शौचालय, आडमा चिसो पानीको धारा, बाँयातर्फ खेल खेल्ने ठूलो प्ले ग्राउन्ड र सावारी पार्किङ स्थल छ । म शौचालयलाई दायाँ पारेर अगाडि बढेँ । पार्कभित्र घाँस काट्ने कार्य भइरहेको रहेछ । मेसिनको सहायताले केहीले घाँस काट्ने, केहीले घाँस संकलन गर्ने त केहीले बाटोसम्म आएका घाँसका फोहोर ब्लोरले उडाउने गरिरहेका थिए । चर्को घामले गर्दा मैले बस्ने ठाउँ खोजिरहेको भए पनि बस्न शीतल ठाउँ कहीँ भेटिन । धेरै समय घुमे डुलेपछि नीलो समुद्रलाई अगाडि राखेर, ल्यापटप काखमा च्याप्ने निर्णय गरेँ र विना फोहोरको वर्षैं पुरानो कुर्सीमा शरीर बिसाएँ ।

शरीर पछाडिबाट घामको मन्द ताप, हावाको मन्द वेग र अगाडिको सुन्दर समुद्रले मन आनन्दित तुल्यायो । शनिबारको दिन भएर पनि होला, १५–२० जना मानिसहरू हातमा बल्छी ल्याएर माछा सिकारमा तल्लीन देखिन्छन् । हाम्रोमा उखान छ अल्छीलाई बल्छी । बस्नुभन्दा पहिले धेरै समयसम्म उभिएर हेरेको थिएँ, तर कसैले पनि बल्छीमा माछा अड्काउन सफल भएका थिएनन् । त्यसले अल्छीलाई बल्छी उखानलाई प्रष्ट्याएको थियो ।

घाम ढल्किँदै गर्दा कोही सपरिवार घुम्न आएका थिए । कोहीले घरकै सदस्य कुकुरलाई महँगोजस्तो देखिने ट्रलीमा राखेर डुलाउँदै थिए, त कोही कुकुर डोर्याउँदै उसले गरेको दिसा झोलामा राख्ने, पिसाब पानीले पखाल्ने गर्दै थिए । कहीँकतै र कसैबाट पनि फोहोर नहोस् भन्ने समाज देख्दा लोभ लागेर आयो । यो संस्कार सिक्न कति समय लाग्यो होला, कसरी विकास भयो होला भन्दै निकैबेर घोत्लिरहेँ ।

सूर्य अर्कै भूगोलमा पुगिसक्दासम्म पनि हावाका झोक्काहरूले समुद्रको पानीलाई शान्त गरी बस्न दिएका थिएनन् । पानीलाई टिलपिल टिलपिल पार्दै एक ठाउँबाट अर्को ठाउँमा, अर्को ठाउँबाट अर्को ठाउँमा पुर्याएजस्तो लागिरहन्थ्यो । समयको चक्रले सूर्यलाई डुबाएपछि निदाउनै लागेको समुद्रलाई झ्याउँकिरीहरूले साथ दिँदै लोरी सुनाउन थाले । पार्कमा मानिसहरू पातलिन थाले पनि बल्छीवालहरू बल्छी खेलिरहे । यहाँ त बल्छीमा पनि बत्ती जडान गरिएको हुनेरहेछ । समुद्रमा बल्छी फाल्दा मलाई त आकाशका तारा झरेजस्तै लागे पनि मनोकामना पुकार गरिन ।

दिनभरको चर्को घामपश्चात् मिलेको यो शीतलता अनुपम लागिरहेको थियो । समुद्रको किनारका व्यावसायिक भवनमा सेता र क्रिम रङका बत्तीहरू लगातार बलिरहे भने समुद्रले त्यसको नक्कल गरिरह्यो र टल्काइरह्यो । सामुद्रिक जहाजमा सामान लोड–अनलोड गर्ने अग्ला–अग्ला क्रेनहरूले पनि थरिथरीका बत्तीहरू चम्काइरहे । जति घडीले सुई घुमायो उति नै माछा मार्नेहरूको संख्या बाक्लियो तैपनि वातावरण शान्त नै रह्यो । उनीहरू एकअर्कामा कोही बोलिरहेका छैनन् ।

आफ्नो कामभन्दा अन्यत्र कसैले कसैको ध्यान दिँदैनन् । त्यो, यी जापानिजको प्रकृति नै हो । म भने ल्यापटपमा औँला चालिरहँदा पनि उनीहरूले के गरिरहेका छन्, माछा पर्यो कि परेन, चारो खाएर माछा फुत्कियो कि, माछा नपर्दा बल्छीवालको अनुहार कस्तो देखिन्छ पढ्न खाजिरहेँ तर उनीहरूको अनुहारमा कुनै क्रिया–प्रतिक्रिया देखिन । सायद उनीहरू समतामा हुन्छन् नत्र कुनै हाउभाउ देखाउनुपर्ने हो । माछा परे पनि–नपरे पनि उनीहरू बल्छी हानिरहे म हेरिरहेँ ।

आकाशको नीलो रङ समुद्रमा पोखियो, चन्द्रमाले सूर्यबाट अलिकति उज्यालो मागेर धर्ती उज्यालो बनायो, बच्चाहरू बास बस्न गएपछि खेल खेल्ने मैदान निदायो, बोटविरुवालाई हावाले नचाइरह्यो, बाटाहरूले गाडीको लोड कम भएको महसुस गरिरहे । यस्तै पर्यावरण नियाल्दै थिए । एउटा प्लेन आकाशको बाटो हुँदै मेरो देशतर्फ उड्यो । ऊ सञ्चै छ र उसको परिवार, आफन्त, साथीहरूलाई सकुसल रहनु, बस्नुहोला भन्दै भावुक भएको थियो । विजय छिट्टै फर्की आउनेछ भनिदिनु भनी खबर पठाएँ । ल्यापटप झोलामा राखी सबै बल्छीवाललाई नियालेँ, उठेँ र झोला पछाडि भिरेर पार्कलाई एक फन्का लगाई कोठातर्फ लागेँ ।

प्रतिक्रिया