रावणलाई रामले मारेर विजय भएको दिनलाई दसैँको रूपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गा पूजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे ।
खासगरी दसैँ ऋतु पर्व हो । ६ वटा ऋतु मध्ये ४ ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दसैँ हैमन्तिका, वसन्त ऋतुमा चैत्र शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाइने दसैँ गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दसैँ शारदीय भनिन्छ । शात्रीय मान्यतामा के छ भने हेमन्त ऋतुमा देवी भगवती भोजनम् अर्थात भोजनको लागि बस्नुहुन्छ । बसन्त ऋतुमा स्वायनम् अर्थात सुत्नुहुन्छ । गृष्म ऋतुमा परिवर्तनम् भनेको कोल्टे फेर्नुहुन्छ । र शरद ऋतुमा प्रवोधनम् अर्थात उठ्नुहुन्छ भनिएको छ ।
अन्य समयमा पनि पूजा गरिन्छ देवीको । अन्य महिनामा अन्य आसनमा हुने तर, शरद ऋतुमा देवी उठ्ने हुनाले यो बेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडादसैँको रूपमा धुमधामका साथ मनाइन्छ ।
अर्को कुरा त्यो बेला धर्मयुद्ध हुन्थे । अहिले जस्तो मिसायल थिएनन् । अहिलेजस्तो गुरिल्ला थिएनन् । त्यसैले पानी पर्ने र बाढी आउन बन्द भएपछि, खेतीको मैझारो गरेर युद्धको अभ्यास गर्ने गरिन्थ्यो । घटस्थापनादेखि दशमीसम्म, क्रमशः सबै हातहतियार एकैठाउँ भेला गरेर सफा गर्ने, त्यसमा साँध लगाउने अर्थात् उध्याउने, पूजा गर्ने गरिन्छ । बडादसैँको दिन घटस्थापनाको दिन राखिएको घडाको पानीले अभिषेक गरेर अबिर र दहीमा चामल मुछेर सबैलाई लगाइदिने र हर्षबढाइँका साथ हतियार निकालेर युद्धको अभ्यास गर्न निस्कने गर्दथे । यसरी मनाइन थालिएको हो दसैँ । दसैँमा दिने आशीर्वादमा भएका नामहरूको पनि अर्थ छ ।
राज्य, राज्य बीचका लडाइँमा मात्र होइन, रामायण र महाभारतको लडाइँमा गाउँ नै रित्तिनेगरी मान्छेहरू मरे । धेरै विधवा भए । धेरैले सन्तान गुमाए । कति अनाथ भए । यसले परिवारहरू विशृंखलित मात्र भएनन्, वातावरण नै विशाक्त भयो । त्यो अवस्थाले मान्छेको सातो गयो । अहिले भन्दा, मान्छेमा डिप्रेसन भयो । अब केही छैन भनेर पुरै नैराश्यता छायो । त्यो अस्तब्यस्त समाज र निराश मान्छेलाई हौसला बढाउन रामायण र महाभारतको युद्धमा ख्याती कमाएकाहरू जस्तै बन्नु भनेर आशिष दिइएको हो । यसबाट मान्छेमा उत्साह जगाइन्थ्यो । त्यसैले अहिलेसम्म पनि त्यहि आशिष दिइने गरिन्छ ।
दसैँ कसरी मनाउन थालिएको हो भन्ने कुरा दसैँमा के को पूजा गरिन्छ त्यसले प्रष्ट बनाउँछ । दसैँमा हामी रामको कतै पूजा गर्छाैं ? गर्दैनौँ । रामलाई कहीँ सम्झन्छौँ ? सम्झन्नौँ । दसैँमा त देवीको पूजा हुन्छ । दुर्गा भगवतीको पूजा हुन्छ । ९ दिनमा हामी ९ वटा देवीहरूको पूजा गर्छौं । दुर्गा भनेकी शक्तिको प्रतीक हुन् । दसैँ शक्ति उपसनाको पर्व हो । त्यो बेलाका सुर भनेको सत्यको पक्षमा लड्ने र असुर भनेको असत्यको पक्षमा रहेका मान्छे हुन् । तिनै सुरले असुरहरूमाथि विजय प्राप्त गरेको दिन अर्थात् दानवहरूमाथि विजय प्राप्त गरेको दिनलाई विजयको रूपमा मनाउन थालिएको हो ।
रावणलाई रामले मारेर विजय भएको दिनलाई दसैँको रूपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गापूजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे । गंगाको किनारमा विकास भएको संस्कृति बाहुनहरूले ल्याए । दुइटै संस्कृति उल्लासबाट सुरु भए पनि आएको समय र पृष्ठभूमि फरक छ । तर पछिपछि बिस्तारै सामान्य हँुदै आयो । हाम्रोमा पनि तराईतिर रावणलाई जलाएर दसैँ मनाउने गरेको पाइन्छ र उनीहरूले सँगसँगै दुर्गा पूजा पनि गर्न थाले ।
खास कुरा के हो भने मनमुखी बोलेको हो या गुरुमुखी बोल्या हो भनिन्छ गाउँमा । अहिले मान्छे आफैँले बोल्दै छ या अरूका लागि बोली दिँदै छ, भन्ने नै बुझ्न गाह्रो पर्न थालेको छ । आफ्ना लागि भए सत्य कुरा खोजेर पनि बोल्छ । अरूका लागि बोल्नेलाई जे जे भने पनि भो । तथ्यबिनाकै कुरा ल्याइदिए पनि भयो । दसैँ जनजातिको होइन, रावणलाई मारेर सुरु गरिएको उल्लास हो भन्नेहरू आफूले देश जानेर बोलेका होइनन् । मनमुख होइन, गुरुमुख भएर अरूका लागि बोलिरहेका छन् । अहिले केही जनजाति भन्नेहरूले मनको देशलाई माया गर्नेगरी होइन कि अरूको देशमा गएर पैसा कुम्ल्याएर आएकाहरूले यस्तो बोलिरहेका छन् । हिन्दू सभ्यता मास्ने आदिवासी जनजातिको पहिचान मास्ने, देशका जातजाति लडाएर देश तहसनहस बनाउने सात समुन्द्र पारिका क्रिस्चियनहरूको योजनामा अर्थात् गुरुमुख बोलिरहेको छ ।
दसैँ मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नुजस्तै हो । राष्ट्रियता बचाउने भए आफू जन्मेर हुर्केको सभ्यता बचाउनुपर्यो । देशको माया लाग्छ हाम्रो संस्कृति बचाउन लागौँ, होइन भने फेरि सुर र असुरको लडाइँ लड्न तयार हुनुपर्छ हामी । हाम्रो सभ्यतामाथि क्रिस्चियनको आक्रमणविरुद्ध उभिनु पर्यो नि । हिजो राष्ट्रियताका लागि भएको युद्धमा हासिल गरेको जितमा दसैँ मनाउन थालिएको हो, अब फेरि अर्को लडाइँ चले पनि तयार रहौँ भन्छु म त ।
टीका त पहिले जनजातिले मात्र होइन, खसआर्यहरूले पनि सेतो नै लगाउँथे । किनकी आज पनि हाम्रोमा रातो रङ बन्दैन भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु ? नेवार बजारमा बस्थ्यो । ऊ ब्यापार पनि गथ्र्यो । त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो । पछिल्लो समयमा अबिर आयो, सबैले रातो टीका लगाउन थाले ।
साँच्चै भन्ने हो भने बाहुनहरू हानबैरी गर्ने जात नै होइनन् । हुन त अहिले सेनामा बाहुन छन् । हिजो क्षत्री, ठकुरी, गुरुङ, मगरहरू मात्र सेनामा हुन्थे । आजजस्तो सेना, हातहतियार थिएनन् । शत्रुलाई मार्न नजिकै गएर काट्नै पथ्र्यो । जनजाति सुरा थिए । सुरा जनजातिहरू मार हान्नेमा हुन्थे । देउराली, देवीथानमा मार हान्ने र त्यसबाट चुहिएको रगत थालको चामलमा चुहाइन्थ्यो र त्यो रगतमा मुछिएको चामल सबैलाई तिनै मार हान्नेले शक्तिको प्रतीक मानेर लगाइदिन्थे । अहिले आएर रातो टीका रगत हो, हाम्रो होइन भन्न पाइन्छ ? पाइन्न । किनकी संस्कृति जोगाउने जिम्मा हामी पहाडमा सभ्यता लिएर आएका जनजातिहरूको नै हो । त्यसबेला लडाका जाति भनेका दुश्मनलाई उत्तानो पारेर, पछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, छाती चिरेर मुटुको रगत झिकी त्यसको टीका लगाउने प्रमुख जाति हुन् हाम्रा पुर्खा । यसमा त गर्व पो गर्नु पर्यो । हाम्रा पुर्खाको त्यो शानको ब्याख्या पो गर्नु पर्यो । उल्टो भाग्ने होइन नि ।
एउटा उदाहरण दिउँ । संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाउँका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दसैँको समयमा बाहुन दही र केरा बोकेर मुखिया मान्न पुग्थे । अन्यले बलि दिएका कुरा लिएर जान्थे ।
बाहुन त जाँडरक्सी नखाने, मासु नखाने जात हो । तर बाहुन बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो । ती बात लागेकाहरूलाई गंगाप्रसादको आँगनमा बोलाइन्थो । गोबरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो । अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे । उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घोषणा गर्थे । त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो ।
त्यस्तै तनहुँको भीमादमा विष्णुवीर आले अहिले पनि हुनुहुन्छ । उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्काएको कुरा सुन्न अहिले पनि सकिन्छ । अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौँ त ? त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदै हुँदैन ।
पुराना यस्तै गाउँहरू अनगिन्ती छन् । पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ । त्यो मुसलमानहरूको बस्ती भएको ठाउँ हो । त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो । त्यहाँ रहिमद अली र महमोद मिया गाउँका मुखिया थिए । दसैँको बेला त्यहाँ वरिपरिका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे । त्यो मुसलमानलाई हिन्दूले गाउँको मुखिया मानेको परम्परा मुसलमान देशमा छ ? ल देखाउन् त ? हाम्रोमा छ । त्यसैले दसैँको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन । त्यसकारण दसैँ विशिष्ट समन्वयकारी संस्कृति हो । यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ । अनि अपमानको कुरा कहाँबाट आयो ?
पैसाका लागि यस्तो प्रचार भएको हो । हाम्रो इतिहास मास्न गरिएको नियोजित प्रचार हो । इतिहास जोगाउनुपर्नेमा उल्टो यसरी गलत प्रचारले मार्न पाइँदैन । चीनमा लामो समय लडाइँपछि माओले राज्य गरे । लडाइँको समयमा सबै भत्काइयो । तर, जब चीनले ओलम्पिकको आयोजना गर्यो । चराको गुँडजस्तो स्टेडियम बनायो । त्योबेला चीनले आफ्ना ५ हजार वर्ष पुराना कुरा झल्काउने गरी त्यो स्टेडियम बनाएको थियो । हरेक देशले आफू बलियो देखाउन गर्ने भनेकै आफ्नो इतिहासमा गर्व गरेर हो, मासेर होइन । त्यसलाई भनिन्छ सिंहावलोकन । हामीले पनि यहि गर्नुपर्छ ।
सुरुका बेलामा खान र सेन राजाका हातमा राज्य थिए । मगर पुजारी र बाहुन पुरेत थिए । कसरी मिलेर बसेका थिए ? बडादसैँको पूजा गर्दा पनि राज्याधिकारीका वडागुरुज्यूका प्रतिनिधि बाहुन पुरोहितले संकल्प वाक्य भन्ने र कोटको मुख्य व्यक्तिले पानी समातेर मौलो पूजा गर्ने परम्परा छ । कोट भनेको कोठा हो । त्यहाँ मगर पुजारीबाहेक अन्य कोही बाहुन पनि पस्न पाउँदैनथ्यो । देशभरीका बडादसैँको मौलो पूजा गर्ने ठाउँमा तिनै वीर उमराउले पूज्ने गर्थे । वीर उमराउहरू प्रायः तागाधारीभन्दा आदिबासी नै छन् । अनि हाम्रो दसैँ होइन भन्न कहाँ पाइन्छ ?
मेरो घर कास्कीको याङजाकोटमा हो । यहाँ पनि दसैँको पूजा हुन्छ । माथि डाँडामा याङजाकोट छ । त्यहाँको घरलाई कोट घर भनिन्छ । औंशीको दिन पनि बिहानै नगराको पूजा हुन्छ । नगरा बजाउँदै कोटघर पुगेर फर्किइन्छ । यो दसैँ आयो है भनेर सबैलाई जनाउ दिइएको हो । यो नगरा बजाउने काम नगर्चीले गर्छ ।
घटस्थापनाको दिनमा मगर पुजारीकी श्रीमतीले नुहाएर चोखोनिधो गरेर मार्सी चामलको जाँड राख्छे । त्यो जाँड फूलपातीमा बसाउन थाल्छ । त्यो जाँड मीठो भएन भने दुर्गा रिसाइन् भन्ने हुन्थ्यो । अब कालरात्रीको मध्यरातमा जुन ढल्केपछि मगर पुजारीले केराको पातमाथि जाँडको पोको पारेर कालीलाई चढाउँछ र बाहुन पुरोहितले संकल्प भन्छ । ९–९ वटा बोतामा पूज्ने जमरा राखिएको हुन्छ । त्यो टीका लगाउँदा प्रयोग गरिँदैन । टीका लगाउँदा लगाइदिने जमरा घटस्थापनाको दिन राखिन्छ ।
फूलपातीको दिन पुरानो खुँडा, खुकुरी सफा गरेर, साँध लगाएर, रातो सेतो ध्वजा लगाएर सिंगारेर दुर्गा देवीको स्थान स्थापना गरिन्छ । त्यसलाई दुर्गा जगाउने, खाँडो जगाउने भनिन्छ । खाँडो भनेको शक्ति हो । यसलाई खड्गसिद्धी पनि भनिन्छ । अष्टमीको दिन बिहान झुल्के घाममा बलिपूजा गर्ने गरिन्छ । बलिपूजा मुख्य पूजा हो । कोटमा बाहुन पुरोहित र कोटको प्रमुख कर्ता हुन्छ । अनि नगरा बजाउँदै राग मध्येको पनि बादशाह राग सबैभन्दा राम्रो राग बजाउँदै लगिन्छ ।
जुन राग शाही कालमा ठकुरीको विवाहमा बाहेक बाहुनको विवाहमा पनि बजाउन पाइँदैनथ्यो । त्यो बजाउने नगर्ची हुन्छन् । मालसिरी धुन बजाइन्छ । त्यो पनि नेपालीमा छ । त्यो खासमा त्यो बेलाका सेनाको हौसला बढाउन बजाइएको हो । त्यसमा चारै दिशा नेपालले डंक फिँजायो भनेर लेखिएको छ । सेनाका प्रमुख बाहुन पनि थिए तर अधिकांश जनजाति थिए । अनि हाम्रो होइन दसैँ भनेर गलत प्रचार गर्न पाइन्छ ?
दसँैको टीकाको दिन घटस्थापनामा राखिएको घडाको जलले अभिषेक गरी टीका लगाएर रमाइलो गर्ने चलन छ । काठमाडौँका नेवारहरूले दसैँको दिन सेतो फेटा गुथेर सेतै जामा लगाएर हातमा खुँडा बोकेर नगर परिक्रमा गर्ने गर्दछन् ।
प्रतिक्रिया