न्यूयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरे । यो भेटवार्ताले परम्परागत बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै परस्पर विश्वासलाई पनि बलियो बनाएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए, जसलाई मोदीले सहर्ष स्वीकार गर्दै अनुकूल समयमा नेपाल आउने वाचा पनि गरे ।
संयुक्त राष्ट्र संघको ७९औँ महासभा कतिपय कारणले नेपालको निम्ति उपलब्धिमूलक सावित हुने निश्चित छ । पहिलो त, प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन निकै प्रभावकारी, दूरदर्शी र उपलब्धिमूलक रह्यो । ‘समिट अफ द फ्युचर’ कार्यक्रमको सहअध्यक्षता गर्दै उनले नेपाल, क्षेत्रीय राजनीति, तेस्रो विश्वका समस्या, पर्यावरण र विश्वले भोगिरहेका समस्याहरूको बारेमा व्यक्त गरेका विचार पनि निकै चर्चामा रह्यो । दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सौहार्दपूर्ण वातावरणमा भएको भेटवार्ताले दुई पक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने निश्चित छ । त्यसबाहेक संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरससहित भुटान, कुबेत, बंगलादेशलगायत विश्वका कतिपय देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसित भएको भेटवार्ताले हाम्रा मैत्रीसम्बन्धलाई थप बलियो बनाउने निश्चित छ । कूटनीतिको दृष्टिकोणले पनि प्रधानमन्त्री ओलीको यो भ्रमण सफल सावित भएको छ ।
संयुक्त राष्ट्र संघको ७९औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवअधिकार, महिलाअधिकार तथा लैंगिक समानताप्रति नेपालको कटिबद्धतालाई दोहोर्याए । एक दशक लामो सशस्त्र संघर्षको सामना गरेको नेपालमा अब स्थायी शान्ति कायम भएको छ र जनजीवन पनि सामान्य भइसकेको छ । प्रधानमन्त्री ओलीले द्वन्द्वबाट उदाएको मुलुक भएकाले नेपालले शान्ति र राजनीतिक स्थिरताको महत्व बुझेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन संसद्ले विधेयक पारित गरेको जानकारीसमेत विश्व समुदायलाई गराए । मुलुकको द्वन्द्वकालीन घाउलाई निको पार्न क्षतिपूर्ति र मेलमिलापको शैली अपनाइने जानकारी पनि उनले दिए । नेपालमा शान्ति प्रक्रियालाई निष्कर्षसम्म पुर्याउन संयुक्त राष्ट्र संघका प्रणालीलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समर्थनको प्रशंसा पनि उनले गरे ।
सम्बोधनका क्रममा उनले नेपाल, दक्षिण एसिया र विश्वकै लागि महत्वपूर्ण र चासोका विषयहरूलाई पनि विश्व समुदायसमक्ष राख्ने काम गरे । विश्व अहिले इतिहासकै कठिन क्षणमा रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन, राष्ट्र संघको भूमिका, बृहत् लोकतन्त्र लगायतका विषयलाई पनि उठाए । उत्तरी र दक्षिणी ध्रुवका देशहरूबीच बढ्दो आर्थिक असमानताको चर्चा गर्दै धनी र गरिबबीचको अन्तर सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश अहिलेको जस्तो विगतमा कहिल्यै नभएको टिप्पणी पनि प्रधानमन्त्री ओलीले गरे । हातहतियारको खरिद बिक्री बढेको, सैन्य खर्चमा वृद्धि भइरहेको र आणविकहरूको खतरा पनि बढेकोमा चिन्ता व्यक्त गर्दै उनले विश्व समुदायको ध्यान त्यतातिर आकर्षित गराए ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, कम विकसित देशहरूमा गरिबी र अभाव, दिगो विकास लक्ष्य, रुस–युक्रेन, इजरायल प्यालेस्टाइन द्वन्द्व लगायतका विषयलाई पनि आफ्नो सम्बोधनमार्फत उठाए ।
प्रधानमन्त्री ओलीले पृथ्वी, जनता र समृद्धिका लागि जलवायु परिवर्तन सबैभन्दा गम्भीर खतराका रूपमा देखापरेको भन्दै त्यतातिर पनि विश्व समुदायको ध्यान आकृष्ट गराए । जलवायु परिवर्तनबाट नेपाल नराम्ररी प्रभावित भएर यसको ठूलो जोखिममा रहेका देशहरूमध्येको एक रहेकोले यो हाम्रो निम्ति निकै चिन्ताको विषय रहेको बताए । प्राचीन हिमालय आफ्नो विशाल हिउँको भण्डार गुमाउने सम्भावना बढ्दै गएको र यसबाट हुने हानिनोक्सानीले नेपाललाई त क्षति पुर्याउने बताए । साथै सीमाभन्दा धेरै टाढासम्म फैलिएको तल्लो क्षेत्रमा बस्ने अर्बौं मानिसहरूका लागि पनि पानीको उपलब्धता खतरामा पार्नेतिर विश्व समुदायको ध्यान आकृष्ट गराए । वन, पर्वत र नदीका माध्यमबाट पृथ्वीको स्वास्थ्यमा नेपालको योगदान रहेको र विभिन्न प्रयासहरूका बावजुद पनि नेपालले जलवायु परिवर्तनको भार झेलिरहेको प्रति उनले सबैको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले महासभामा खास गरेर कम विकसित देशहरूमा गरिबी र अभाव केन्द्रित रहेको स्मरण गराउँदै यसमा कमी ल्याउन अर्थपूर्ण सहभागिता र सहकार्यलाई बढावा दिन नेतृत्वदायी भूमिकाको निर्वाह हुनुपर्ने आवश्यकतामाथि जोड दिए । सामूहिक इच्छाशक्ति र एकीकृत कार्यहरूबाट मात्रै कम विकसित देशहरूमा व्याप्त गरिबी र अभावमा परिवर्तन गर्न सकिने सुझाव उनले दिए । गरिबी र अभावमा परिवर्तन गर्नसके मात्र सबैका लागि स्थायी शान्ति र साझा समृद्धिको युगमा प्रवेश गर्न सकिने बताए ।
प्रधानमन्त्री अोलीले सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित (एलडिसी) को दर्जाबाट मुक्त हुने बताउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्यहरू (एसडिपी) प्राप्त गर्न नेपाल लगनशील भएर काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले नेपाली भूमि हिन्दु र बौद्ध धर्मका प्रबुद्ध ऋषिहरूको ज्ञान, विशेष गरी गौतमबुद्धको शिक्षाले धन्य भूमि रहेको बताए । यस गहन विरासतले विश्वव्यापी सद्भाव, शान्ति र सुरक्षा खोज्ने नेपालको विश्व दृष्टिकोणलाई आकार दिएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले शान्ति र स्थिरता सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको वडापत्रमा निहित सार्वभौम समानता, गैरहस्तक्षेपको सिद्धान्तलाई कायम राख्नु महत्व रहेको बताए ।
अमेरिकाको न्युयोर्कमा नै ‘द समिट अफ द फ्युचर’ विषयमा एउटा कार्यक्रमको आयोजना गरियो । जसले वर्तमान र भविष्यका विश्वव्यापी चुनौतीहरू, वातावरणीय संकट, अन्तर्राष्ट्रिय द्वन्द्व र शासन प्रणालीमा देखिएका खाडलहरूलाई सम्बोधन गर्ने विहगम दृष्टि दिएको छ । यस अघिको सन् २०२१ को समिटमा ‘हाम्रो साझा एजेन्डा’ विषयक प्रतिवेदन पेस गरिएको थियो । जसले बहुपक्षीय सहकार्यलाई पुनः जीवित गर्दै दिगो विकास लक्ष्य (एसडिपी), सन् २०१५–२०३० समयमै र पूर्ण रूपमा कार्यान्वयन गर्नेमा जोड दिएको थियो ।
समिटको पहिलो दिन सहअध्यक्षता गरेका नेपालका ओलीले एकदशक बित्दासम्म एसडिपीका लक्ष्यमध्ये केवल १७ प्रतिशत मात्र सही गतिमा भएको भन्दै पुरै विश्वलाई नै सोच्न बाध्य पारिदिए । विश्वभरि गरिबी, भोकमरी र असमानता बढिरहेको भन्दै कम विकसित, भूपरिवेष्ठित र स–साना टापुहरू रहेका देशहरू अति विकासशील देशहरू विकसित देशभन्दा कैयौँ गुणा बढी जोखिममा रहेको बताए । अझ नयाँ जोखिमहरूको सामना गर्नुपर्ने जस्ता मुद्दा प्रस्तुत गरेर उनले विश्व समुदायको ध्यान नेपालतिर आकृष्ट गराए ।
न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरे । यो भेटवार्ताले परम्परागत बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै परस्पर विश्वासलाई पनि बलियो बनाएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए, जसलाई मोदीले सहर्ष स्वीकार गर्दै अनुकूल समयमा नेपाल आउने वाचा पनि गरे । अहिले दुवै देशबीचको सम्बन्ध सकारात्मक दिशामा अगाडि बढिरहेको छ । नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको छ र दुई पक्षीय ऊर्जा व्यापारमा नेपाल अहिले नाफामा पनि देखिएको छ । अब क्रमशः नेपाल नाफा नै रहने निश्चित छ ।
प्रतिक्रिया