ललितपुर जिल्ला उत्तरतर्फ सिंहदरबारकै दैलो कुपण्डोलदेखि दक्षिण महाभारत शृंखलासम्मको पहाडी भूभागमा लमतन्न भएर फिजारिएको रहेछ । यही पहाडी भेगमा अवस्थित दक्षिण ललितपुरको दुर्गम र विकट अवलोकन गरियो । ललितपुर जिल्ला समुद्री सतहदेखि ४५७ मिटर उचाइदेखि २ हजार ८३१ मिटरसम्म रहेको छ । कालेश्वर ललितपुरको सबैभन्दा बढी उचाइको ठाउँ हो ।
२०७९ सालको चैत महिना थियो सम्धिनी भुवना गौतमज्यूको फोन आयो । ‘हामी साथीहरू सबै मिलेर कालेश्वर तीर्थ जाने तयारीमा छौँ, हजुर पनि इच्छा भए जाउँ, भनेर सोध्नुभयो’ मैले एकछिन पनि नसोची ‘हस हस जान्छु’ भने । अफिसबाट घर आएपछि मेरो भेट छिमेकी दिदी पार्वती ज्ञवालीसँग हुन्छ । ‘पार्वती दिदी, भुवना गौतमज्यूले कालेश्वर दर्शनका लागि जाने भए जाउँ भन्नुभएको छ हजुर पनि जाने ? पार्वती दिदीले मलाई गाडी लाग्छ तर पनि तीर्थ घुम्न एकदमै रमाइलो लाग्छ हुन्छ नि जान्छु भन्नुभयो ।’
खानेकुरा घरैबाट आफूआफूले एकएकथोक लिएर जाने सल्लाह रहेछ भुवना गौतमज्यूले केही नलिकन आउन आग्रह गर्नुभएको थियो मलाई तर पनि दही हल्लाउँदै लिएर गएँ । काठमाडौँ उपत्यका धार्मिक सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त स्थान हो । ललितपुर पनि विभिन्न मठ मन्दिर र भौगोलिक विकटताको लागि प्रसिद्ध नै छ । यहाँ धेरै प्रकारका तीर्थस्थल भए तापनि आफ्नो एउटा अलग परिचय साथ उभिएको ऐतिहासिक महत्व बोकेको कालेश्वरको मन्दिर पनि एक हो ।
तीर्थाटन गराउने एउटा समूह रहेछ । हामी एउटा बसमा करिब ३० जना जति तीर्थालु थियौँ र मैले चिनेको खासमा भुवना गौतम, बेन्जु गौतम, मीरा गौतम, माण्डवी गौतम, कोपिला केसी, अम्बिका केसी र पार्वती दिदी अरू साथीहरूलाई खासै चिन्दिन थिएँ । एउटै बसमा यात्रा गरेकाले होला हामी सबै एकअर्कामा परिचितजस्तै थियौँ । यात्रामा कोपिला केसीले भजन गाएर थप रमाइलो र उत्साह थप्नुभएको थियो । बसमा सबैजनाको नाच र तालीले गुञ्जायमान भएको थियो । रमाइलो वातावरणमा गाडी भने एकतमासले गुडिरहेको थियो ।
बिहानीको समय मौसमले राम्रो साथ दिएको थियो । जाडो पनि थिएन र गर्मी पनि थिएन । बाहिर सवारीको चहलपल मनज्ञ देखिरहेको थियो । सातदोबाटो हुँदै चापागाउँतर्फ गाडी मोडियो लगनखेलबाट गोटीखेल करिब ५० किलोमिटरको दुरीमा रहेको छ । ललितपुरको प्याङगाउँ हुँदै लेले नल्लु भारदेउ सिमभन्ज्य चौघरे कटवनतर्फ लाग्यो ।
करिब ९ बजेतिर हामी बाटोमै पर्ने कोन्जोस्योम पुग्यौँ, तामाङ भाषामा कोन्जोस्योम अर्थ ब्रह्मा विष्णु महेश्वर रहेछ । भारदेउ भनिने गाउँ पालिकामा हामी बसबाट झरेर त्यहाँ सबैले चिया पियौँ । अगाडि मोटर बाटो तर घर पर पर फाट्टफुट्ट देखिन्थे । तामाङ बस्तीहरूको बाहुल्यता रहेछ । पसल भनेको कुन चराको नाम होलाजस्तो थियो, सुनसान थियो । मानिसहरू हिँडेको बिरलै देखिन्थ्यो ।
गाडी एकतमासले गुडिरहेको थियो स्वच्छ हरियाली र छर्लंग देखिएको हिमालले भने मन लोभ्याइरहेको थियो । पार्वती दिदीसँग गफ गर्दै मनमोहक प्रकृतिका दृश्य र पहाडका डाँडाहरू रातै गुराँस फुलेको दृश्य देखाउँदै रमाउँदै अगाडि बढिरहेका थियौँ । त्यसपछि कच्ची बाटो सडकमा हुनुपर्ने आवश्यक मापदण्ड पूरा नभएका पहाडीसडक, सानासाना बाटो घुम्तीले गर्दामनसिरिङ हुन्थ्यो । चालक भर्खरको ठिटो थियो थियो । पुरानो बस जतिजति बस उकालो चढ्छ उति उति कहाली लाग्थ्यो । म डराएको देखेर कसै कसैले समूहमा भुवानालाई तिम्री सम्धिनी त उल्कै डराउँदी रहेछिन् भनेछन् ।
हामी यिनै दृश्यहरू नियाल्दै बिहान ११ बजेतिर ललितपुरको महाँकाल गाउँपालिकामा पर्ने गोटीखेल बजारमा पुग्यौँ । गोटी खेलमा अलिअलि चहलपहल सानो बजार गाउँ देखियो । खुवाको लागि प्रसिद्ध रहेछ । फर्कंदा केही साथीहरूले खुवा किनेर घर ल्याउनुभयो ।
प्राचीन किंवदन्तीअनुसार यमराजले काल महादेवको तपस्या गरेको र मूलखोला, धामीखोला र मसान खोलाको संगममा रहेको यहाँको त्रिवेणीमा नुहाएका थिए रे भन्ने रहेछ । कालले नुहाएको भएर त्यो स्थललाई कालमोचन भनेर नामकरण गरिएको रहेछ । कालेश्वरको दर्शन गर्नुभन्दा पहिला बाटोमै नर्मल जल कलकल बगेको वैतरणी नदी धाम आउँछ । बैतरणीमा नुहाएर नदीको जल कालेश्वरमा चढाउने परम्परा रहेछ । सोहीअनुसार हामीले वैतरणी नदीमा स्नान गर्यौँ । पित्रीलाई सम्झेर जलअर्पण गर्याँै र पूजा गर्यौँ ।
अर्को अचम्मको कुरा त यहाँको मसान नदी दक्षिणबाट उत्तरतिर बगेको देखेर हामी छक्क पर्यौँ । उत्तरवाहिनी नदीको धर्मशास्त्रमा पनि ठूलो महत्व रहेछ । यो वैतरणी आजका दिनसम्म सफा र कञ्चन छ । ढल नमिसाइएको पवित्र र कञ्चन नदी काठमाडौँ उपत्यका आसपास देख्न अब कहाँ पाउन् ? छेवैमा मानव निर्मित कलात्मक जलाशय रहेछ । यहाँको ६४ शिवलिंगको पनि परिक्रमा गरियो । हामी सबैले तस्बिर लियौँ ।
अब यहाँबाट जल लिएर हामी कालेश्वर जान ठाडो उकालो चढ्नुपर्ने रहेछ । बसको यात्रा मन भने साह्रै डराएको थियो । अगाडि सडकको बाटो भने रूपरेखा मात्र कोरिएको एकदमै खराब थियो र कतै ढुंगे बाटो निर्माण सम्पन्न नभएको थियो । कतिपय ठाउँमा ठूलो बसलाई निकै सकस भयो उकालो तान्न निकै कठिन भएको थियो । यस्तो बाटोमा ठूलो बसभन्दा जिप र मोटरसाइकललाई सजिलो हुने रहेछ । बाहिर साग र तोरीभन्दा अरू केही बाली देखिएन । बाटोमा जताततै लोठ सल्लाको जंगल देखियो । लोठ सल्लाको जंगलभित्र परेर साथीहरूले ठोस्नेका मुन्टा टिप्नुभयो ।
जाँदाजाँदै बाटैमा चुनढुंगा भनिने सानो ढिस्कोमा अडिएको ठूलो चट्टान देखियो । हामी सबैले फोटो खिच्यौँ उहिले काल देउताले यसै ढुंगामा घोटेर चन्दन कालेश्वरलाई चढाउने गर्थे भन्ने जन भनाइरहेछ । विशाल यो चुनढुंगा यति सानो ठाउँमा कसरी अडिएको होला ? के ले अड्याएको होला ? को यो दृश्य हेर्दै अचम्म लाग्दो छ । पटकपटकको भूकम्प र प्राकृतिक प्रकोपमा पनि यो चनढुंगालाई केही नोक्सान पुर्याउन नसकेको देख्दा साँच्चिकै दैविक चमत्कारजस्तो लाग्छ । स्थानीयहरू पनि कुनै दैविक शक्तिको विश्वास गर्दछन् ।
अन्ततः हामी हाम्रो गन्तव्य स्थान कालेश्वरको दर्शनको व्यग्रता पूरा हुन लागेको थियो । झन्डै ४९ किलोमिटरको यात्रापछि कालेश्वरको मन्दिर फेदमा पुग्यौँ, बसको यात्रा यहीँसम्म रहेछ । अब यही फेदबाट मन्दिर पुग्न छंगाछुर भिरमा खोपिएको करिब १ मिटर चौडाइ जतिको ढुंगे पदमार्ग रहेछ । समय खेर नफाली हामी गन्तव्यतिर लम्कियौँ । कहालीलाग्दो भिर, त्यसमाथि पनि साँघुरो बाटो । यो २ किलोमिटरको पैदलयात्रा सँचैकै रोमाञ्चक थियो । जुत्ता चप्पल हातमा लिएर खाली खुट्टाले टेक्दै बिस्तारै उक्लियौँ । भिरबाट तल हेर्दा कहालीलाग्ने खोँच छ करिब ३० मिनेटको हिँडाइपछि हामी आफ्नो गन्तव्य महाकाल–३, गोटीखेल, सिसवनमा विराजमान कालेश्वर मन्दिरमा पुग्यौँ । बैतरणी नदीबाट ल्याएको जल शिवलिंगमा अभिषेक गर्यौँ । पुजारीले शिवलिंगको पूजा विधि सिकाउँदै आशीर्वाद दिए ।
मन्दिर दर्शनपछि हामीले त्यहाँबाट देखिने पहाडहरूको दृश्य अवलोकन गर्यौँ । जंगलको हरियाली र शीतल हावाले मन्दिर यात्रालाई एक अनुपम अनुभव दिलायो । जंगलमा पन्छीहरूको चिरबिराहट झरनाको मधुर आवाज र प्राकृतिक सुन्दरता जताततै छरिएको थियो । कालेश्वर मन्दिरको यात्राले मलाई नेपाली धार्मिक र सांस्कृतिक धरोहरप्रति गर्व महसुस गरायो । यस यात्राले न केवल आध्यात्मिक शान्ति प्रदान गर्यो । तर, प्राकृतिक र सांस्कृतिक सम्पदाको पनि सम्झना गरायो । कालेश्वर मन्दिरको टुप्पोबाट तराईलगायत काभ्रे मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङटाङ हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्व बोकेको कालेश्वर एक उत्कृष्ट र सम्भावनात्मक पर्यटक क्षेत्रको रूपमा परिचित हुँदै गइरहेको छ ।
कालेश्वरमाथि मन्दिरको दर्शन गरेर घर फर्कने क्रममा हामीले एकछिन बसेर त्यहाँ घरबाट लगेका खानेकुरा दही चिउरा अचार तरकारी खुब रमाइलो गरेर खायौँ । झट्ट सुन्दा ललितपुर राजधानी काठमाडौँसँगै हात मिलाएर बसेको नेपालकै सुगम विकसित ठाउँ होला जस्तो लाग्छ । तर ललितपुर जिल्ला उत्तरतर्फ सिंहदरबारकै दैलो कुपण्डोलदेखि दक्षिण महाभारत शृंखलासम्मको पहाडी भूभागमा लमतन्न भएर फिजारिएको रहेछ । यही पहाडी भेगमा अवस्थित दक्षिण ललितपुरको दुर्गम र विकट अवलोकन गरियो । ललितपुर जिल्ला समुद्री सतहदेखि ४५७ मिटर उचाइदेखि २ हजार ८३१ मिटरसम्म रहेको छ । कालेश्वर ललितपुरको सबैभन्दा बढी उचाइको ठाउँ हो । यहाँको महत्वलाई व्यापक प्रचारप्रसार र आकर्षक बनाउन स्थानीय र सरकारको तर्फबाट तर्फबाट पहलको जरुरी लाग्यो । कालेश्वर र वैतरणी नदीलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिन्छ । सबैको ध्यान आकर्षण होस् ।
प्रतिक्रिया