सिंहको निधनपश्चात रिक्त भएको ठाउँलाई पूर्ति गर्नु असम्भव छ, तर सुयोग्य पिताका सुयोग्य सुपुत्रको रूपमा प्रकाशमान सिंहले केबल गणेशमान सिंहको राजनीतिक विरासतलाई मात्रै सम्हालेर निरन्तरता प्रदान गरेका छैनन, अपितु नेपाली कांग्रेसलाई सबल प्रदान गर्नमा पनि महत्वपूर्ण भूमिकाको निर्वाह गर्दै आएका छन् ।
नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा, सर्वमान्य नेता र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहको त्याग, समर्पण र बलिदानलाई कृतज्ञ राष्ट्रले कहिल्यै बिर्सने छैन । राजधानी काठमाडांैको सम्पन्न र खानदानी परिवारमा जन्मेका सिंहले मोज–मस्ती र आनन्दपूर्ण जीवनयात्राको ठाउँमा कठीन र संघर्षमय जीवनयात्रालाई मन पराए । गिरफ्तारी–यातना, जेल जीवन र निर्वासनलाई नै आफनो जीवनको अंग बनाएका सिंहको स्मृति दिवस गत साता देशभरि नै मनाइयो । उनको स्मृति दिवसलाई केवल नेपाली कांग्रेसले मात्रै होइन, देशका सम्पूर्ण राजनीतिक दलहरूले मनाउनुपर्ने हो, किनभने २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनको नेतृत्व उनले नै गरेका थिए, आज देशमा यदि लोकतन्त्र संघीयता र गणतन्त्र छ भने त्यो त्यसै आन्दोलनको परिणाम हो ।
१९७२ कात्तिक २४ गते काठमाडाँैमा जन्म लिएका सिंहको देहावसान २०५४ असोज २ गते भएको थियो । नेपालमा ‘प्रजातन्त्रका पिता’ ‘लौहपुरुष’ र सर्वमान्य नेताको उपाधि उनले जनता र आन्दोलनकारीहरूबाटै पाएका थिए । १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई देशवाट राणाशासन हटाउने आन्दोलनमा होमिएका थिए । भद्रगोल जेल फोरी भागेका सिंह निकै कम उमेरमा राणा हटाउ आन्दोलनका प्रभावशाली नेताको रूपमा स्थापित भइसकेका थिए । २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारु र सशक्त नेतृत्व प्रदान गर्नमा उनी सफल भए । २००७ सालको क्रान्तिका एक नेताको रूपमा उनले वीरगन्जको मोर्चामा सशस्त्र संघर्ष पनि गरेका थिए । संघर्षको दृष्टिकोणले बिपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्रको पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका प्रमुख सहयोगीको रूपमा नेपाली कांग्रेसलाई सशक्त बलियो बनाउनमा जीवनपर्यन्त लागि रहे ।
सिंहलाई राणा सरकारले जन्मकैदको सजाय घोषित गरेको थियो । २००१ सालमा जेलको पर्खाल नाघेर फरार भएका व्यक्ति २००७ सालको क्रान्तिमा राजा त्रिभुवनलाई दरबारबाट भगाएर पाल्पा पुर्याउने योजनासमेत बनाएका थिए । नेपालमा जन्मकैदको सजाय पाएका सिंहलाई त्यतिबेला नेपाल नजान बिपी कोइराला र सुवर्ण शमशेरले सुझाव दिँदा पनि उनी मानेनन् र आफैँ ज्यानको बाजी थापी भारतबाट काठमाडाँै आए र पक्राउ परे । २००७ सालको क्रान्ति सफल नभएको भए उनलाई फाँसीको सजाय पनि हुन सक्दथ्यो । मृत्युबाट कहिल्यै नडराउने उनी, डरलाई जितिसकका थिए ।
कम्युनिस्टहरूमाथि कठोर शब्दको प्रयोग गर्ने, व्यंग्य गर्ने उनी पञ्चायती व्यवस्था र कम्युनिस्टहरूप्रति एककिसिमले तीक्ष्ण शाब्दिक वाणको प्रयोग गर्दथे । उनले राजाविरुद्ध कम्युनिस्टहरूलाई लौरोको रूपमा प्रयोग गर्ने गरेका थिए । २०३६ सालको जनमत संग्रहमा नेपालका अधिकांश कम्युनिस्टहरू बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विरोधमा उभिएका थिए । कम्युनिस्टहरूले या त निर्दलीय व्यवस्थाको पक्षमा मतदान गरेका थिए अथवा तटस्थ थिए । बिपी कोइराला बाँचुन्जेलसम्म नेपालका कम्युनिस्टहरूको, नेपाली कांग्रेससित धेरै राम्रो सम्बन्ध थिएन । केबल सामान्य शिष्टाचार सम्मको मात्रै सम्बन्ध रहेको थियो ।
तर २०४६ सालमा देशमा प्रजातन्त्रको पुनःस्थापनाका लागि भएको आन्दोलनमा कम्युनिस्टहरूले नै प्रस्ताव राखेका थिए कि, गणेशमान सिंहको नेतृत्वमा आन्दोलन सम्भव हुन सक्नेछ र कम्युनिस्टहरूलाई उनको नेतृत्वमा काम गर्न समस्या छैन । उनलाई सर्वमान्य नेताको उपाधि दिइयो । सर्वोच्च कमान्डरको पदवी पनि दिइयो । नेपालका कम्युनिस्टहरूलाई सिंहको नेतृत्वमा काम गर्न अप्ठयारो अथवा असहज भएन । आन्दोलनको सफलतापश्चात टँुडिखेलमा आयोजित विजय र्यालीलाई सम्बोधन गर्ने क्रममा गिरिजाबाबुले आन्दोलनको सफलतालाई कांग्रेस, कम्युनिस्ट र पञ्चहरूको पनि जित भएको सम्बोधन दिएपछि, भिडबाट गिरिजाबाबुको हुटिङ हुन थाल्यो । तर सिंहको पहलले यो भिड चाँडै नै शान्त पनि भएको थियो ।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात तात्कालीन राजा श्री ५ वीरेन्द्रले उनलाई सरकारको नेतृत्व गर्न निम्तो दिएका थिए, तर सिंहले त्यस प्रस्तावलाई अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए । २०४८ सालको आमनिर्वाचन पनि नेपाली कांग्रेसले सिंहकै अनुहार र नाममा लडेको थियो । चुनावमा सिंहले अथक परिश्रम गरी नेपाली कांग्रेसलाई बहुमतसम्म पुर्याए, तर नेपाली कांग्रेसकै एक गुट विशेषको षड्यन्त्रका कारण श्रीमती मंगलादेवी सिंह र प्रकाशमान सिंहले पराजय भोगेका थिए । चुनावमा हार जित भइरहन्छ, तर चुनावपश्चात पार्टी पंक्तिबाटै पराजयप्रति व्यंगमयपूर्ण आक्षेप हुन थालेपछि जो कोही पनि व्यथित हुनु स्वभाविक हुन्छ ।
२०४८ सालको आमनिर्वाचन छि नेपाली कांग्रेसले एकमना सरकारको गठन त गर्यो, तर जातिवाद, परिवारवाद र गुटीय राजनीतिले प्राथमिकता पाउन थाल्यो । यसबाट व्यथित भएर सिंहले आफूलाई सक्रिय राजनीतिबाट टाढा राख्न थाले । उनको निधनपश्चात लाखौँ जनताले अश्रपूर्ण भएर उनलाई अन्तिम बिदाई दिएका थिए । उनी मरेर गए पनि आफ्नो त्याग, समर्पण, बलिदान, दृढ अडान आदिका कारण अमर छन् । पदबाटै व्यक्तिको मूल्यांकन हुँदैन, त्यागको बढी महत्व छ ।
सिंहको निधनपश्चात रिक्त भएको ठाउँलाई पूर्ति गर्नु असम्भव छ, तर सुयोग्य पिताका सुयोग्य सुपुत्रको रूपमा प्रकाशमान सिंहले केबल गणेशमान सिंहको राजनीतिक विरासतलाई मात्रै सम्हालेर निरन्तरता प्रदान गरेका छैनन, अपितु नेपाली कांग्रेसलाई सबल प्रदान गर्नमा पनि महत्वपूर्ण भूमिकाको निर्वाह गर्दै आएका छन् । विगत ५–६ चुनावदेखि काठमाडौँबाट निरन्तर रूपमा चुनाव जित्दै आएका प्रकाशमानको योग्यता, क्षमता, अनुभव र समर्पणको यथार्थ मूल्यांकन त्यतिबेला मात्रै हुन सक्नेछ, जतिबेला उनलाई देशको प्रधानमन्त्री र पार्टीको सभापति पदको जिम्मेवारी प्रदान गरिनेछ ।
राष्ट्रिय राजधानी काठमाडाँै र उपत्यकामा समेत नेपाली कांग्रेसको जनाधार बढाउने र यहाँबाट बढी सिट जिताउने क्षमता उनीबाहेक अन्य कुनै पनि नेतामा छैन । पार्टी संगठनका प्रायः सबैजसो जिम्मेवारीहरूको सफलतापूर्वक निर्वाह गरेका र सरकारका मन्त्रीको रूपमा पनि सबै खाले जिम्मेवारीको निर्वाह गरेका प्रकाशमानले केवल शीर्ष पदको जिम्मेवारीको निर्वाह गर्न मात्रै बाँकी छ । लौहपुरुष गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न पनि नेपाली कांग्रेसले एकपटक उनलाई शीर्ष नेतृत्वमा ल्याउनुपर्छ ।
प्रतिक्रिया