वातावरणीय विनाश न्यूनीकरणका उपाय

बढ्दो मात्रामा कोइला, पेट्रोल र डिजेलको प्रयोग गर्नाले विश्वको वातावरण दिनहुँ दूषित भइरहेको छ । हाइड्रोजन ग्यासको प्रयोगले उक्त इन्धनहरूको प्रयोग घटाई वातावरण विनाश घटाउन सकिन्छ । हाइड्रोजन ग्यासको प्रयोग गर्न सके प्रत्येक वर्ष बिदेसिने ठुलो धनराशि सञ्चित्त भई अन्य विकास कार्यमा लगानी गरी युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।

केबी बस्नेत

विकास एक निरन्तर प्रक्रिया हो । जुन विश्वभरि नै तीव्र रुपले सञ्चालन भइरहेको छ । यसकै आधारमा संसारभरिका देशहरू विकसित, विकासशील, विकासोन्मुख र अति कम विकसित देशको रुपमा वर्गीकरण गरिन्छ । धेरैजसो देशहरूमा विभिन्न क्षेत्रको विकास गर्ने क्रममा वातावरण विनाश भइरहेको छ । यी देशहरूमा बाटोघाटो निर्माणका लागि बढ्दो डोजरको प्रयोग, वनजंगल फडानी भइरहेको छ । डढेलो, विकास निर्माणको कामहरू अव्यवस्थित रुपबाट सञ्चालन, विभिन्न उद्योग तथा कलकारखानाहरूबाट निस्कने धुवा, कार्बनमोनोक्साइड, कार्बनडाइअक्साईड जस्ता विषालु ग्यास, विभिन्न किसिमका यातायातका साधनहरूको बढ्दो प्रयोग, जाडोमा तताउने र गर्मीमा चिस्याउने साधनहरूको बढ्दो प्रयोग र विद्युत, डजेल र पेट्रोलबाट चल्ने यातायातका साधनहरूको बढ्दो प्रयोगबाट धुवा र ताप बढ्दो रुपमा उत्सर्जन भइरहेको छ । यसबाहेक, एकतर्फ, हरित ग्यास उत्सर्जनको असर बढिरहेको छ भने अर्कोतर्फ ओजोन तहमा प्वाल पर्नाले सूर्यको परावैजनी किरण पृथ्वीमा आई सम्पूर्ण मानव जातिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ ।

वातावरण विनाशको कारणले आज विश्वभरि नै जलवायु परिवर्तन एवं तापक्रम वृद्धि भएको छ । फलतः विश्वमा वनजंगल, जैविक विविधता, कृषि सम्पदा, हिमालय पर्यटन, ऊर्जा र स्वास्थ्य जस्ता प्रमुख पक्षहरूमा अगाध असर परेकोले सम्पूर्ण मानवजातिमा अस्वस्थकर प्रभाव परेको छ । सन् २०१५ मा आईसीडीले गरेको एक अध्ययनअनुसार आजको गतिमा विश्वव्यापी तापक्रम बढ्ने हो भने सन् २०६० सम्मका विश्वको कुल गाहर््स्थ्य उत्पादनमा एक प्रतिशतदेखि तीन दशमलब तीन प्रतिशतसम्म र सन् २१०० मा दुई प्रतिशतदेखि दश प्रतिशतसम्म नोक्सानी हुनेछ । यसबाट विश्व अर्थतन्त्र झनझन ओरालो लाग्नेछ र भोकमरीको समस्या विकराल हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको वल्र्ड इकोनोमिक आउटलुकमा उल्लेख भएअनुसार विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण नीतिहरू निर्माण गरी व्यवहारमा नउतार्ने हो भने आगामी शताब्दीसमम विश्वव्यापी तापक्रम औसतमा दुई दशमलब आठ प्रतिशत र बढीमा पाँच प्रतिशत बढ्नेछ । उक्त नीतिहरू बनाई कार्यान्वयन गर्न नसकिएमा विश्वमा कार्बन उत्सर्जन पनि सन् २००० देखि २०३० को बीचमा २२ प्रतिशतदेखि ८८ प्रतिशतसम्म बढ्ने सम्भावना छ ।

एसियाली विकास बैंकको प्रक्षेपण अनुसार सन् २०८० सम्ममा दक्षिण एसियामा चारदेखि पाँच डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्नेछ । जसबाट उक्त क्षेत्रका जनतामा नकारात्मक प्रभाव पर्नेछ । आज वातावरणीय विनाशका कारण सम्पूर्ण मानवजातिको सामाजिक, आर्थिक, राजनीतिक लगायत सम्पूर्ण क्रियाकलापहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित छन् । विगतमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने तत्वहरूको वास्ता नगरी विकास योजनाहरू कार्यान्वयन गर्नाले अहिलेको अवस्था विद्यमान भएको हो ।

मानव जातिको प्रमुख सम्पत्तिको रुपमा रहेको भूमिमा बसोबास गर्नुको साथै विभिन्न व्यवसाय गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महत्व छ । परन्तु, केही वर्षयता वातावरणीय विनाशको कारण अतिवृष्टि तथा अनावृष्टिको कारण खेतीपातीमा नकारात्मक प्रभाव परेको
छ । यसबाट विश्वभरि नै भोकमरीको समस्या थपिने छ र सम्बन्धित देशका सरकारका बोझ बढ्नेछ । वर्तमान समयमा वातावरणीय विनाशको कारण विश्वभर नै जलजायु परिवर्तन भएकोले हो । जुन संसारका सबै देशहरूमा एक गम्भीर एवं चुनौतीको रुपमा देखा परेको छ ।

नेपालमा पनि वातावरणीय विनाशले नकारात्मक प्रभाव परेको छ । उदाहरणका लागि हाल काठमाडौंमा अधिकतम ३६ डिग्री सेल्सियस सम्मको तापक्रम मापन गरिएको छ । जुन विगतको वर्षहरूको तुलनामा बढी हो । यो जलवायु परिवर्तनको कारण भएको मौसमविद्हरूको भनाइ छ । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलब शून्य छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न थालेकोले यहाँका हिमश्रृंखला निरन्तर रुपले पग्लेर पानीका मुहान सुक्दै जाने सम्भावना बढेको छ । यसबाहेक अतिवृष्टि तथा अनावृष्टि जस्ता समस्याहरूले यहाँको जनजीवनमा नकारात्मक प्रभाव परेको छ ।

आज विश्वमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । फलतः केही पशुपंक्षीहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । यति मात्र नभई विभिन्न किसिमका महामारी एवं रोगको फैलावट र दैवी प्रकोपहरूको कारण धेरै नरसंहार हुने गरेको छ । परन्तु, आजसम्म पनि धेरैजसो देशका बासिन्दाहरूलाई यस सम्बन्धमा सचेत गराउन सकिएको छैन । वातावरणविदका अनुसार कुनै पनि देशमा वातावरण सन्तुलन कायम गर्न त्यहाँको कुल क्षेत्रफलको कम्तीमा पनि ४० प्रतिशत वनजंगलले ढाकेको हुनुपर्छ । तर, नेपालमा तोकिएको मापदण्डअनुसार वनजंगल विद्यमान नभएकोले यहाँको वातावरण त्यति सारै सकेको छैन । तर वाह्य असर भने नेपालमा पनि परेको छ । यति मात्र नभई यहाँ अव्यवस्थित रुपमा भौतिक संरचनाहरू निर्माणका कारण पनि वनजंगल अतिक्रमित भई वातावरण विनाशमा सघाउ पुगेको छ । तर, यसतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसकेकोले वातावरण विनाशको क्रम रोकिन सकेको छैन ।

आज नेपाललगायत विश्वका धेरैजसो देशहरूमा जनसंख्या वृद्धिको कारण अव्यवस्थित सहरीकरण, वनजंगल फडानी, जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण र ध्वनि प्रदूषण दिनानुदिन बढिरहेको छ । फलतः यो देशहरूमा वातावरणीय विनाश बढ्दो क्रममा छ । भविष्यमा यसलाई जटिल हुन नदिन अल्प र दीर्घकालीन उपायहरू यथाशीघ्र अपनाउन आवश्यक देखिन्छ । यसका लागि एकतर्फ सर्वप्रथम त जनसंख्या वृद्धि घटाउन आवश्यक छ भने अर्कोतर्फ वन विनाशको रोकथाम, आधुनिक प्राविधिक ट्राफिक व्यवस्थापन प्रणाली र बढ्दो औद्योगिक प्रदूषण न्यूनीकरण गर्न उत्तिकै जरुरी छ । यसबाहेक नियमित एवं प्रभावकारी रुपमा वायुको गुणस्तर परीक्षण र वातावरणसम्बन्धी जनचेतना बढाउनुपर्छ । जसको लागि तीनै तहका सरकारको सक्रियताको आवश्यकता छ ।
विश्व तापक्रममा हुने परिवर्तन प्राकृतिक र मानवीय कारणले हुने हो । खनिज तेलको खपत तीव्र रुपले बढ्नाले विश्वको तापक्रम बढिरहेको छ । आज विश्वमा वातावरणीय प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । तर विश्वव्यापी तापक्रम एक दशमलब पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्दा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी साझा सहमति हुन सकेको छैन । वास्तवमा विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशहरूमा भएका औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलापहरू नै हुन् ।
बढ्दो तापक्रमको कारण आगामी तीस वर्षभित्र विश्वका हिमालमा झन्डै एकतिहाइ हिउ रित्तिने अनुमान छ । फलतः यस क्षेत्रको पानीका स्रोतहरू विस्तारै सुक्ने छन् र मानिसहरूको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्नेछ । आज धेरैजसो देशहरूमा भौतिक वस्तुहरूको बढ्दो प्रयोग गरेर रमाउने चलन तीव्र रुपले बढिरहेको छ । जसको कारण यी देशहरूको वातावरण तीव्र रुपले विनाश भइरहेकोले उक्त चलनको परिवर्तन गरी प्राकृतिक चीजहरूमा रमाउने चलनको विकास गर्न आकृष्ट हुनुपरेको छ ।
वस्तुतः पृथ्वी हाम्रो साझा घर हो । यसको विनाश भएमा हाम्रो अस्तित्व नै मेटिनेछ । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । वर्तमानमा प्रकृतिको दोहन गरी विकसित देशहरू उन्नतिको शिखरमा पुगेका छन् । तर, यिनीहरूले वातावरण संरक्षणमा ध्यान नदिनाले विनाशको क्रम दिनहुँ बढिरहेको छ । हाल विज्ञान र प्रविधिको विकासले विभिन्न यातायातका साधनहरूको विकास भएको
छ । यी साधनहरूको नियमित रुपमा सञ्चालन गर्न बढ्दो मात्रामा कोइला, पेट्रोल र डिजेलको प्रयोग गर्नाले विश्वको वातावरण दिनहुँ दूषित भइरहेको छ । हाइड्रोजन ग्यासको प्रयोगले उक्त इन्धनहरूको प्रयोग घटाई वातावरण विनाश घटाउन सकिन्छ ।
हाइड्रोजन ग्यास पेट्रोल, डिजेल र पानीभन्दा सस्तो हुन्छ । त्यसैले यसको अधिकतम प्रयोग गर्न सके प्रत्येक वर्ष विदेशिने ठुलो धनराशि संचित्त भई अन्य विकास कार्यहरूमा लगानी गरी युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ । हाइड्रोजन ग्यासबाट एकतर्फ फलामको प्रशोधन गर्न सहज हुनेछ भने अर्कोतर्फ विद्युत र पानीको सदुपयोग गर्न सघाउ पुग्नेछ । जसबाट प्रत्येक व्यक्तिको आयआर्जन वृद्धि भई विश्व अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
विश्वमा वातावरण विनाशको कारण नेपाल पनि प्रभावित भएको छ । वास्तवमा दुई छिमेकी राष्ट्र भारत र चीनमा औद्योगिक तथा अन्य विकासका क्रियाकलापहरू तीव्र रुपले बढ्नाले यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ । यस सम्बन्धमा वार्ता गरी समाधान गर्न न त नेपालले चासो देखाएको छ न त छिमेकी राष्ट्रहरू नै तत्पर छन् । तसर्थ, यहाँको वातावरण दिनदिनै विनाशतर्फ उन्मुख छ । जुन न्यूनीकरण गर्न नितान्त आवश्यक छ ।

प्रतिक्रिया