काठमाडौँ । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको संस्मरण संग्रह आधा शताब्दी पुस्तक बजारमा आएको छ । रु ५ सय मुल्य रहेको सो पुस्तकलाई हिमालयन सोसल जर्नी ट्रेकिङ कम्पनीले प्रकाशन गरेको हो ।
एक सय ९२ पृष्ठको सो पुस्तकमा आधा शताब्दी, हेलम्बु ट्रेकले जुराएको इटाली यात्रा, चौबीस घण्टापछि फर्केको जीवन, अन्नपूर्ण ट्रेक र अमेरिका यात्रा, द्धन्द्धले पारेको प्रभाव, व्यवसायमा प्रवेशका दिनहरु व्यवसायभित्र देखिएका विकृतिहरु, चार वर्षमा चार अप्रेसन, लुटतन्त्रको रमिता, यदि म छोरी भएको भए र पञ्चायतदेखि गणतन्त्रसम्मका अनुभव गरी जम्मा २१ वटा शिर्षकहरु समावेश छन् ।
पुस्तकमा लेखक सापकोटाले आफ्नो बाल्यकालदेखि उमेरले पचास वर्ष सेरोफेरोमा पुग्दासम्मका भोगाइ र अनुभूतिलाई सरल भाषामा उतारेका छन् । पर्यटनमा लाग्ने रहरदेखि सकस, संघर्ष र सफलताका प्रेरणादायी संस्मरणहरु रहेको पुस्तकमा पर्यटनभित्रका विकृति, विसंगति र अवसर, चुनौति छर्लङ्ग पारिएको छ ।
पञ्चायतदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तन र नेतृत्वको अभिलेखिकरण गर्नुको साथै पुस्तकलाई लेखकका देश–परदेशसम्मका तितामिठा अनुभुतिले सुसज्जित गरिएको छ ।
पुस्तकमा लेखकले धर्म, अर्थ, काम र मोक्षका विभिन्न पाटाहरुलाई मानवीय जीवनसँग जोडेर आफ्ना संस्मरणमा उतारेका छन् । केही दिन अघि राजधानीमा एक औपचारिक कार्यक्रमसहित लोकार्पण गरिएको सो पुस्तक लेखक सापकोटाको पहिलो प्रकाशित कृति हो ।
प्रतिक्रिया