विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।
यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् । मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रूपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरूले पर्यटकीय सम्भावना बोकेका छन् । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रूपमा परिचित छ ।
यतिबेला यहाँका स्थानीय एवं घरबास (होमस्टे) सञ्चालकहरू पर्यटकको पखाईमा छन् । दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ बर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरू यतिबेला बर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।
ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरू सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए । यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरू सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ । घरवास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘बर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब बर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।’
यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरूका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् ।
गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरू पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् । रासस
प्रतिक्रिया