इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा इलाम आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकहरूको संख्या वृद्धि भएको पाइएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ४१ हजार ५१७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म १ लाख १७ हजार ७४० जना आन्तरिक र २३ हजार ७७७ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए ।
सबैभन्दा कम भदौमा ९१८ जना र सबैभन्दा बढी पुसमा ३६ हजार १२३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । पर्यटन सूचना केन्द्रको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा १ लाख ३३ हजार ४४५ जना पर्यटक भित्रिएका थिए । त्यसअघि आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २९ हजार ५८१ जना पर्यटक इलाम घुम्न आएका थिए । कोरोना संक्रमण बेला आर्थिक वर्ष २०७८/०७९ मा २९ हजार ८११ जना मात्र इलाम घुम्न आएका थिए ।
‘जोरकलस प्रवेशद्वारबाट भित्रिएका पर्यटकहरूको तथ्यांक मात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट समेत हजारौँ पर्यटकहरू भित्रिने गरेका छन्’, घिमिरेले भने, ‘कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको संख्या बढ्दो छ ।’
कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीय स्थलहरू घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकहरूको संख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुंगा, पानीटार, कुईभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रहरूमा बर्सेनि आन्तरिक र बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन् ।
इलाम
प्रतिक्रिया