बा तपाईं किन बुढो हुनु भा ?

मेरा बा सधैँ जवान रहनुहुन्छ भन्ने मेरो भ्रम तोडिइसकेको छ । मलाई ताते गराउने मेरा बालाई आज हामी ताते गराउँछौँ, मलाई लेखपढ गर्न सिकाउने मेरा बाका हातबाट आज अक्षर बन्दैनन् जसले गर्दा उहाँका मनका कुरा अर्काले लेखिदिनुपछ । कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँशु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् ।

सुषम रिसाल खतिवडा

मेरा ९६ वर्षीय बाको म हातखुट्टाका नङ काटिदिँदैछु्र । खुट्टाका नङ सबै खिइसकेका छन्, बुढी औँलाका नङ त फुसफुस गर्ने माटोजस्ता भइसकेका छन् । अलि अगाडिसम्म खुट्टा छुन नदिने मेरा बा अचेल म माइत जाँदा ‘नङ काट्ने बेला भको छ’ भन्दै हातखुट्टा देखाउनुहुन्छ ।


उतिसारो अस्पताल जान मन नगर्ने बाले आँखा जँचाउन कहिले जाने ? भनेर ३–४ पटक सोधिसक्नुभएको थियो । एक दिन झरी नपरेको मौका पारेर दिदी सुष्मा र मैले बालाई मातृका आँखा अस्पताल लग्यौँ । डाक्टरले सबै जाँच गरेर भन्नु भो, ‘अब बाका आँखा चस्मा लाएर पनि खासै देखिँदैनन्, लेखपढ गर्न कम गर्नुस् बा ।’ लेखपढ (अचेल त पढ मात्रै) मै सबैभन्दा बढी रमाउने मेरा बा डाक्टरले एकपटकमा आधा घण्टा भन्दा बढी नपढ्नुस् अर्थात लेखपढ गर्ने क्रममा आधा पौने घन्टामा आँखालाई आराम दिँदै गर्नुस् भनेपछि बा निरास हुनुभो र रुन्चे हाँसो हाँस्नुभो ।


प्रत्येक मंगलबार बिहान ७ बजे रेडियो सगरमाथा एफएम १०२।४ मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम कुरोकन्थोमा हालसालैको एउटा मंगलबार ‘नमस्कार म भैरब रिसाल’ भन्दै बा बोल्न थाल्नुभो । सुरुको १–२ मिनेट स्वर टाँठो थियो तर बिस्तारै स्वर मलिन हुँदै गयो, कफ अड्किएको गलालाई सफा गर्दै माफ गर्नुहोला भन्दै, लर्बरिएर लगभग नबुझिने बोलीमा एउटै कुरालाई घरिघरी दोहोर्याउँदै १० मिनेटको कुरा गर्नुभयो । कोठा बाहिरको कौसी बालाई बिरानो भएको निकै भइसक्यो । कोठामै भएको शौचालय भने अहिलेसम्म बिरानो भइसकेको छैन ।

बिहान उठेपछि राति नसुतुन्जेल ८–१० पटक मुस्किलले १० पाइलामा पुगिने शौचालय बल्लबल्ल भित्तो समाउँदै वा कसैको सहारा लिँदै जाँदै हुनुहुन्छ । बाथरूममा राखिएको टुलमा बसेर आफैँ खलल नुहाउनुहुन्छ । सधैँ लेख्न सक्नुहुन्न, अक्षर नै बन्दैनन् भन्नुहुन्छ तर पनि श्रमिक साप्ताहिकका लागि समसामयिक लेख उपलब्ध गराउँदै हुनुहुन्छ्र । बुबा बसेर टिपाउनुहुन्छ, नातिनी बुहारी अनुपाले लेखिदिन्छिन् । आफैँ दाह्री काट्ने बुबा अब सक्नुहुन्न, बेलाबेलामा ठाकुरले आएर काटिदिन्छन् ।

सकेसम्म निम्ता गरेका कार्यक्रम नछुटाउने बुबा अब कार्यक्रमहरूमा जान छोड्नुभयो, भन्नुहुन्छ – गोडाले जिउ बोक्नै मान्दैनन् कसरी जानु र ? त्यसमाथि ठुलो बाटोबाट करिब १००–१५० मिटरभित्र मोटर नजाने गल्लीभित्रको घरको चौथो तलामा बसाईं छ, त्यसैले तलमाथि गर्न असम्भव प्रायः छ । उठेपछि अरू कसैले पुरै भर दिएर बाको जीउ थाम्नुपर्छ र डोर्याएर हिँडाउनुपर्छ । यस्तो अवस्थामा पनि गएको हप्ता मात्रै २ वटा कार्यक्रममा कार्यक्रमस्थलमै गएर सहभागी भएर सम्मान थापेर आउनुभयो भने एउटा संस्थाले घरमै आएर सम्मान गर्यो ।

बालाई तल ओह्रालेर कार्यक्रम स्थलसम्म लान सार्है गाह्रो भयो । भर्याङमा बल्लबल्ल बोकेर ओह्रालेर ह्विलचेयरमा राखेर लागियो, ल्याइयो । गोडा टेकेर उभिन बडो सकसका हुन्छ, थरथर काम्दै कसैको सहारामा बल्लबल्ल टेक्नुहुन्छ । कान ठ्याम्मै सुन्नुहुन्न भने पनि हुन्छ । त्यसैले फोन पनि सकेसम्म उठाउनुहुन्न, उताबाट बोल्ने जोसुकै होस् म कान सुन्दिनँ, घरै हुन्छु, यतै आउनुस् न है भन्दै फोन राख्नुहुन्छ्र । फोनमै गर्नुपर्ने कुराहरू भए आमा भाउजु वा घरका अन्य कसैले सुनिदिन्छ । तैपनि हरेकदिन बिहान ७ बजेदेखि ८ बजेको बीचमा दिदी र मेरो घरमा अनिवार्य फोन गर्नुहुन्छ, २–४ वटा निश्चित कुराहरू सोध्ने र भन्ने गर्नुहुन्छ ।

दाँत सबै खिइसकेका छन् तैपनि सबै झरिसकेका भने छैनन् । खिस्स मलिन हाँस्दा मुखभरी जस्तै खिइएका दाँतहरू देखिन्छन् । ओठले र्याल सम्हाल्न सक्दैनन्, मुखबाट र्याल चुहिरहन्छ पुछिरहनुपर्छ । कब्जियतले बेलाबेलामा दुःख दिरहन्छ, दिसा भएन भने घन्टौँसम्म कमोडमा बल गरेर कनेर बस्नुहुन्छ । दिसा आकोबेला गरे भइहाल्छ नि, कनेर नबस्नुस् भन्दा मान्नुहुन्न । कन्दा स्याँस्याँ एकदमै बढ्छ, मुटुको धड्कन धेरै तेज हुन्छ, पसिनाले जीउका लुगा लफक्कै भिज्छ, तैपनि भनेको पटक्कै मान्नुहुन्न । जिद्धी त महाजिद्धी पो हुनुहुँदो रहेछ नि हाम्रा बा, अहिले चिनिँदै छ ।

डाइपर लाउनुहुन्छ, दिसापिसाब पुरै डाइपरमै गर्नका लागि भनेर होइन, लिकसिक हुँदा बाहिर नपरोस् भनेर हो । डाइपर राम्रोसँग लाउन, दिसापिसाब गर्दा राम्ररी लाउन फुकाल्न गाह्रो हुन्छ्र । बुबाका हातले धेरै बल लाएर त्यति गर्न पनि सक्दैनन् त्यसैले डाइपर यथोचित तरिकाले लागेको हुँदैन जसले गर्दा पिसाब लिक भएर लुगा पनि भिजिरहेको हुन्छ्र । डाइपर, सुरुवाल लाउन फुकाल्न नि हातको बल पुग्दैन, निक्कै गाह्रो हुन्छ्र भाउजुहरूले लाइदिन्छु भन्दा नि मान्नुहुन्न । २–४ पटक डाइपर फेरौँ, लुगा फेरौँ भन्दा पटक्कै मान्नुहुन्न ।

बाको कोठामा एउटा रिक्लाइनर सोफा छ, जसमा बसेर बाको दिन बित्छ । विहान उठेदेखि राती नसुतेसम्म त्यही सोफामा बस्नुहुन्छ । चिया पानी पिउने, खाना खाजा खाने, आगन्तुकलाई भेटघाट गर्ने, लेखपढ गर्ने सबै गतिविधि त्यही सोफामा बसेर नै गर्नेहुन्छ । दिउँसो सुत्ने, ढल्किने वा आराम गर्ने बानी छैन, त्यो सोफामा बस्दा थाहै नपाई जिउ पुरै देवेतिर ढल्किन्छ, वा वाहै पाउन हुन्न । टाउको हल्लिरहन्छ, सानोसानो गांठीको छोटोछोटो कदको मेरो बा अहिले त पुरै सुकिसक्नु भएको छ ।

यति पढिसक्दा तपाईंहरुलाई मेरा बाप्रति सहानुभुति जाग्ला, च्व च्व विचरा बुढा मान्छेले कस्तो दुख पाका रैछन जस्तो पनि लाग्ला तर त्यसो होइन । यी सब त बुढ्यौलीका लक्षणहरु हुन्, तपाईका घरमा पनि बुढाबुढी बाआमा हुनुहुन्छ भने उहाँहरु पनि यस्तै वा केही कम बढी यस्ता समस्याबाट गुज्रिरहनु भएको होला ।

यति सब भइकन पनि बाको खान्की र निन्द्रा राम्रो छ । बिहानको खानामा दालभात तरकारी, पिरो अचार, अचार पिरो नभए खुर्सानी, भएसम्म मासुको झोलसँग खानुहुन्छ । ठूलो कचौरामा सबै कुरा एकै ठाउँमा हालेर चम्चाले बिस्तारै एक सिता पनि खेर नफाली खानुहुन्छ र एक कप दूध पिउनुहुन्छ । दिउँसो अलिकति फलफूल, खाजामा थोरै केही (पाएसम्म मासुचिउरा) र बेलुका पनि एउटा रोटी अलिकति तरकारी अचार खानुहुन्छ र एक कप दूध पिउनुहुन्छ । दिउँसो र बेलुकाको खाना सारै थोरै भए पुग्छ तर बिहानको खाना भने उमेर अनुसार राम्रो खानुहुन्छ । बेलुका ठ्याक्कै ९ बजे ओछ्यानमा जाने बा सबा ९ बजे घुर्न थालिसक्नुहुन्छ । राति ३–४ पटक पिसाब फेर्न उठ्नुहुन्छ, खाटसँगै राखिएको युरिनलमा आफैँ उठेर पिसाब गर्नुहुन्छ ।


यही श्रावण २९ गते ९६ वर्ष पूरा भएर ९७ वर्ष लाग्ने मेरा बाको हालको दैनिकी र वर्तमान अवस्था यही हो । आज यस्तो कमजोर शारीरिक अवस्थाबाट गुज्रिरहनुभएका मेरा बा पहिलादेखि यस्तो होइन है । जब म बच्चा थिएँ, मेरा जवान (जवानको मतलब पनि खासै थाहा नहुँदै) बा त्यतिबेला निकै ब्यस्त, फुर्तिलो, तेजिलो हुनुहुन्थ्यो । मेरा बाले गर्न नसक्ने कुरा र काम केही छैनजस्तो लाग्थ्यो । मेरा बा सधैँ त्यस्तै रहिरहनुहुन्छ र म उहाँको छत्रछायामा सधैँ रहन्छु जस्तो लाग्थ्यो ।

जब आफू बालखबाट जवानीतिर लाग्दै गर्दा चालिसे पचासे पार गर्दै बुढेसकालतिर लाग्दै गरेका शारीरिक र मानसिक दुवै रूपमा सक्रिय बालाई देख्दा लाग्थ्यो मेरो बा कहिल्यै बुढो हुनुहुन्न, सधैँ यस्तै रहनुहुन्छ । तर मेरो यो भ्रम मात्र थियो, आज म आफू ५० बाट उकालो लागिसकेको छु, बाको उमेर पनि शतक पुग्न ४ वर्ष मात्र बाँकी भइसक्यो । उमेरजन्य नियम अनुरूप नै बुढेसकाल लाग्ने भए पनि मेरा बाको शारीरिक र मानसिक बुढेसकाल भने निकै ढिलो सुरु भएको हो । आजभन्दा १६ वर्ष अगाडि सन् २००८ मा हामी बुढाबुढी बाआमासँग अमेरिका र क्यानडा घुम्न गएका थियौँ । त्यतिबेला बासँग गरेको यात्रामा बाको जोश, जाँगर, चाख हाम्रोभन्दा निक्कै बढी थियो ।

त्यसबेला त त्यो कुरा त्यति महत्वपूर्ण लागेको थिएन तर आज सम्झँदा अचम्म लाग्छ । बा त्यति बेला ८० वर्षको हुनुहुन्थ्यो, डेढ महिना अमेरिका र क्यानाडाका विभिन्न ठाउँहरू घुम्न जाँदा उहाँको चाख, कुतूहलता, यात्राका क्रममा पटक्कै नथाक्ने शरीर, दिनको ८–१० घण्टा गाडीमा यात्रा गर्दा पनि आँखा झिमिक्क गर्न नपर्ने स्वभाव, अहिले सम्झँदा गजब लाग्छ । आफ्ना सबै काम आफैँ गर्ने, बिरलैबाहेक निश्चित समयमा सुत्ने र उठ्ने, नियमित ब्यायाम गर्ने बानी, खानपिनमा अनुशासित, कुनै पनि कुलतबाट धेरै टाढा, केही कुरामा लोभलालच नभएको निःस्वार्थ भावना, आफ्नोभन्दा अर्काको दुःख देख्ने स्वभाव भएको मान्छे बिरलै पाइन्छ ।

लत कुलत जे भने पनि आफ्नो र आफ्नो परिवारको भन्दा बढी अरूको, समाजको र राष्ट्रको बारेमा सोच्ने, सकेसम्म अरूको, समाजको र राष्ट्रको हित हुने काम गर्ने बानी, कसैसँग २ पैसाको लोभ र आश नगरेपछि आफ्नो परिवार र सन्तानको शिक्षादीक्षा र रोजगारीको लागि कसैसँग भन्ने वा सिफारिस नगर्ने भएपछि र आफ्नो स्वार्थ नहेर्ने भएपछि कसैसँग के को डर ? के को मोलाइजा ? लागेको र देखेको फ्याट्टै भन्दिने, चाहे जोसुकै होस्, चाहे जोसुकै रिसाओस् ?
बाको शब्दकोशमा डर भन्ने शब्द नै थिएन, जबकी राससमा काम गर्दा उहाँको राजनीतिक आस्था र गाउँप्रेमी स्वभावका कारण गाउँमा बाका बिरोधी र बालाई देख्न नसक्नेहरू टन्नै थिए ।

कोही त ज्यान मर्ने धम्की पनि दिन्थे । राससको जागिर, भक्तपुर दधिकोट गाम्चाको बसाईं । त्यो बेलाको गाम्चा, ठिमीदेखि हिँड्दै जानुपर्ने, जागिर सकेर फर्किंदा ८–९ त सधैँ बज्ने, कहिले त १०–११ पनि बज्ने । ठिमी काटेपछि क्वासीको मसानघाट हुँदै अगाडि बढेर बस्नेतको उकालो चढेपछि मात्रै गाउँ आउँथ्यो । बाटो एकदमै एकलास थियो, पञ्चायती गाउँलेहरू बेलाबेला बालाई ज्यान मर्ने धम्की पनि दिन्थे । त्यस्तोमा कहिलेकाहीँ त बालाई माया गर्ने गाउँका दाइहरू रातिराति पालो गरेर ठिमीसम्म लिन पनि जान्थे । यसरी सधैँभरि लिन जान सम्भव थिएन तर त्यस्तो अवस्थामा पनि बाको मनमा डरको लेस पनि हुँदैनथ्यो किनकी उहाँको मन, मस्तिष्क, कर्म सबै चोखो र निष्कपट थियो ।

मेरो (हाम्रो पुरै परिवारको) मजबुत सहारा, प्यारो वात्सल्यप्रेमी हाम्रा बाले कहिल्यै एक लबटो नहानी र ठुलो स्वरले नबोली हुर्किएका हौँ हामी । कसैले भेट्टाउन नसक्ने हिँडाइ, धेरैजसो हिँडेर, केही गुडेर र केही उडेर लगभग पुरै देश घुमेको व्यक्तित्व, तेजतर्रार बोली, ९५ वर्षसम्म चस्मा नचाहिएका तिखा आँखा, केही वर्ष अघिसम्म बकुल्ला चपाउने दाँत, कसैसँग नडराउने निडर व्यक्तित्व, हरदम समाजको लागि केही गरौँ भन्ने चाहना र हुटहुटी, आफ्ना पीडा कसैलाई नभन्ने स्वभावका धनी मेरा बा । तर, आज परिस्थिति फरक छ, मेरा बा सधैँ जवान रहनुहुन्छ भन्ने मेरो भ्रम तोडिइसकेको छ । मलाई ताते गराउने मेरा बालाई आज हामी ताते गराउँछौँ, मलाई लेखपढ गर्न सिकाउने मेरा बाका हातबाट आज अक्षर बन्दैनन् जसले गर्दा उहाँका मनका कुरा अर्काले लेखिदिनुपर्छ ।

कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँशु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् । बोल्दा मन भारी भएर भक्कानिनुहुन्छ, छिनछिनमा भावुक बन्नुहुन्छ । कोठामै भएको टिभी हेर्ने र रेडियो सुन्ने, आज पनि देशको र समाजको बारेमा चिन्तित हुनुहुन्छ । देश र समाजकै हितमा समर्पित मेरा बाको लाचारी, निरीहपन, पीडा लुकाई मुस्कुराउन खोज्ने मुस्कानलाई पचाउन सार्है गाह्रो हुँदोरहेछ ।

मायालाग्दो, टीठलाग्दो मुख लगाएर टुलुटुलु मुखमा हेर्नु, घुँडा दुख्न कस्तो छ ? भनेर सोध्दा ‘बढेको छैन’ भन्दै सामान्य हुन खोज्ने बुबाको आजको अवस्थालाई स्वीकार गर्नु आज हाम्रो वाध्यता बनेको छ । कहिलेकाहीँ पीडाले कच्याककुचुक हुने बाको अनुहार, टीठलाग्दो निरीहपनको साक्षी बन्नु हाम्रो लागि कठिन कर्म हो तर आजको सत्य यहि हो । बुढ्यौलीले स्वास्थ्य अवस्था सारै नाजुक भए पनि आज पनि मेरा बा सम्मानित बुढेसकाल बिताइरहनुभएको छ । बालाई घरपरिवार, समाज र यदाकदा राज्यले पनि माया गरेको छ । आज हामी सबै परिवार मिलेर बाको सेवा गरिरहेका छौँ ।

अझ बढी त बाआमासँगै बस्ने भाउजुले बाको स्याहारसुसारको सबै प्रबन्ध मिलाएर गरिरहनुभएको छ । हामी जजसले आ–आफ्नो ठाउँबाट जे–जे गर्न सकिन्छ र मिल्छ त्यही गरिरहेका छौँ र बाको वर्तमान अवस्थालाई सहज बनाउने र पीडा कम गर्ने कोसिस गरिरहेका छौँ । तर, पीडा भोग्ने त उहाँले नै हो । यो सत्य स्वीकार्न बाध्य छौँ हामी । उहाँले नभने पनि सबै पीडा महसुस गर्न सक्छु र । म बालख हुँदा हजुरबा हजुरआमासँग भीमफेदीमा बस्दा हनहनी ज्वरो आएर दाइदाइ (म बालाई दाइ भन्छु) भनेर छोरी कराई भनेर आ।बा। पाएपछि काठमाडौंबाट ४–५ घन्टामा भीमफेदी पुग्ने मेरो बा आज छोरी कतिबेला आउली भनेर आफ्नै कोठामा बसेर मेरो बाटो हेर्नुहुन्छ ।

लगभग १ दिन बिराई बासँग भेट्न गइरहन्छु र म तपाईंको साथमा छु है भन्ने भाव देखाउँछु । हर परिस्थितिमा उहाँको साथमा छु पनि । जति नै बाको दुःखमा दुःखी भए पनि उहाँका अगाडी सामान्य बन्नुपर्ने सत्य पचाउन अत्यन्त गाह्रो छ्र । हामीले जति नै सेवा सुश्रुषा गरे पनि उहाँको दर्द र पीडा बाँड्न सक्दैनौँ । हुन त मेरा बा अत्यन्तै भाग्यमानी हुनुहुन्छ । उहाँले सम्पूर्ण परिवारको माया, प्रेमसाथ, स्याहारसुसार सबै पाउनुभएको छ्र ।

अझ ठूलो कुर त उहाँले समाजको समेत साथ, सम्मान र माया पाउनुभएको छ जुन कुरा सबैको भाग्यमा र कर्ममा हुँदैन । बाभन्दा भाग्यमानी हामी परिवार छौँ, आज (जन्म दिन साउन २९) बाको ९७औँ जन्मदिन मनाउँदै छौँ जुन चानचुने कुरा होइन । यो उमेरसम्म बाको माया, सानिध्यता र आशीर्वाद पाएका छौँ, यो हाम्रो अहोभाग्य हो । कहिलेकाहीँ बा रुन्चे हाँसो हाँस्दै भन्नुहुन्छ – बुढो भइयो हगी ? त्यसको जवाफमा चिच्याउँदै भन्न मन लाग्छ – बा तपाई किन बुढो हुनु भा ?

(सुषम वरिष्ठ पत्रकार भैरव रिसालकी कान्छी छोरी हुन्)

प्रतिक्रिया