काठमाडाैं । काभ्रेको भुम्लु गाउँपालिका–५ मा जन्मिएका राजन खरेल पेशाले सिनेमाटोग्राफर हुन् । चलचित्र, म्युजिक भिडियो तथा वृत्तचित्रको छायांकन गर्दै आएका खरेलले ‘दुर्गामाण्डौ,’ ‘कुइँनेटो’ र चलचित्र ‘चिट्ठी’ मा छायांकारको रुपमा काम गरेका छन् । यस्तै, उनले ‘हामी किसानी,’ ‘कर्महारा चेली,’ ‘म त गीत गाउँछु हजुर,’ ‘मलाई बुद्धले देखाको,’ ‘तिमी पागल पागल,’ ‘हाम्रो साझा हिमाल’ लगायत दर्जनभन्दा बढी म्युजिक भिडियो र सोही संख्यामा वृत्तचित्रहरुको पनि सफल छायांकन गरिसकेको जानकारी दिए ।
संसारकै अग्लो स्थानमा छायांकन गरिएको ‘हाम्रो साझा हिमाल’ बोलको गीति भिडियोले सन् २०१९ मा विश्व कीर्तिमानी कायम गर्न सफल रहेको थियो । उक्त गीतको छायांकन खरेलले नै गरेका हुन् । यसैगरी, ‘हाम्रो साझा हिमाल’ बोलको गीतको भिडियोमार्फत खरेलले दुबईमा एम.एस.एन. एक्सिलेन्सी अवार्ड २०२१ मार्फत सर्वोत्कृष्ट छायांकारको अवार्डसमेत प्राप्त गर्न सफल भएको सुनाए । त्यसलगत्तै सन् २०२० मा छायांकार खरेलले सोही शीर्षकमै बनेको रेकर्डलाई ब्रेक गरेर फेरि अर्को विश्व कीर्तिमानी कायम गर्न सफल भएका थिए । सोलुखुम्बुको गोक्योमा सम्पन्न भएको एभरेस्ट अनर अवार्ड २०१९ मा दुर्गामाण्डौ चलचित्रमार्फत सर्वोत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरेका खरेल भने सन् २०२३ मा स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘खहरे पाँगु वृत्तचित्र’ मार्फत सर्वोत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरेको उनले सुनाए ।
त्यसैगरी, नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका खरेललाई गौरीशंकर च्छोरोल्पा मिडिया र हिमाल एफएमले साहसिक कला सम्मानबाट सम्मानित गरिसकेका छन् । पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) को कोषाध्यक्ष रहेका खरेल नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठन र राष्ट्रिय लोकसांस्कृतिक संघको केन्द्रीय सदस्य हुन् । उनी विभिन्न संघ संस्थामा समेत आबद्ध रहेका छन् । दृश्यमा चाँगुनारायण नगरपालिका, बागमती सभ्यताको इतिहास, दृश्यमा भुम्लु गाउँपालिका, खहरे पाँगु, यात्रा से–फोक्सुन्डो, यात्रा काठमाडौं टु गोक्योलगायतका दर्जनौँ प्रवद्र्धनात्मक वृत्तचित्र र एनिमल नेपालको प्रस्तुति र परिवर्तन नेपालको सहकार्यमा तयार भएको नेपाल टेलिभिजनबाट पाक्षिक रुपमा प्रदर्शन हुँदै आएको एनिमलसम्बन्धी बनेको वृत्तचित्र ‘द भवाइस लेस भ्वाइस’ को छायांकन पनि खरेलले नै गरेका थिए । त्यसका साथै खरेलले दर्जनाँै टेलिभिजन कार्यक्रम र विज्ञापनको समेत छायांकन गर्दै आइरहेका छन् ।
चलचित्र, वृत्तचित्र, गीत संगीतको भिडियोको प्रोडक्सन गर्नका लागि कलिउड हव प्रोडक्सन प्रालि तथा समाचार पोर्टल द लाइफ स्टाइल नेपाल डटकमलाई सञ्चालनमा ल्याएका खरेलले आफ्नै नेतृत्वमा कर्पोरेट विजनेस अवार्डको समेत आयोजना गर्दै आएका छन् । छायांकारकै रुपमा आफुलाई नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा स्थापित गराउँदै आएका खरेल यस क्षेत्रमा मिहिनेती तथा लगनशील र इमान्दार छायांकारको रुपमा चिनिन्छन् । विषेश गरी चलचित्र र गीति भिडियोहरुमा आफूलाई व्यस्त राख्ने उनले समयले भ्याएसम्म वृत्तचित्र तथा अन्य कार्यमा पनि छायांकारको रुपमा काम गर्दै आएको बताए ।
प्रतिक्रिया