काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा दुई जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।
उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ । साथै उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध गरेको छ ।
यसैगरी मंसिर ४ गतेको चुनावमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि त्यसबारेमा अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ । आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा पुगेको जानकारी निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले दिएका छन् ।
मंसिर ४ गते भएको चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन । कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ । एमालेले पनि आठ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ ।
बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ । यसैगरी त्रिवेणी नगरपालिका २, ३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८ बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ ।
टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ । टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गर्ने भएको छ । बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० गते हुनेछ । मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको हो । गत वैशाखमा पनि आयोगले बूढीगंगा नगरपालिकामा दोहोर्याएर स्थानीय तहको निर्वाचन गराएको थियो ।
प्रतिक्रिया