प्रतिनिधिसभातर्फ एक सय स्थानको परिणाम सार्वजनिक

आम निर्वाचन—२०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । मतदान सम्पन्न भएको पाँचौं दिन बिहीबार अबेरसम्म प्रतिनिधिसभातर्फ एक सय र प्रदेशसभातर्फ दुई सय निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ३६ सिटमा जित हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका २२ जना उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले ९ र नेकपा एकीकृत समाजवादीले पनि ९ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।

यसैगरी पहिलो पटक चुनावी राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि दुई÷दुई सिटमा जित हात पारेका छन् ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले पनि एक÷एक निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । हालसम्म प्रतिनिधिसभा सदस्यमा चार जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ स्थानका लागि निर्वाचन भएको थियो ।

प्रदेशसभातर्फ भने हालसम्म दुई सय निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभामा हालसम्म नेपाली कांग्रेसले ७३, नेकपा एमालेले ५७, नेकपा माओवादी केन्द्रले ३५ स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा ३ सय ३० स्थानका लागि निर्वाचन भएको थियो ।

प्रतिनिधिसभाको मतगणना कार्य जारी रहँदा बिहीबार दुई पूर्वप्रधानमन्त्रीले आ—आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले हराएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

नेपालले आफ्नै पूर्वपार्टी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५ सय २२ मत ल्याए । गुप्ताले भने २६ हजार ९ सय २२ मतमात्र पाए ।

सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १ हजार ४ सय ११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४ सय ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरोजकुमारीले ३ सय ५३ मत पाएका थिए ।
पूर्वप्रधानमन्त्री नेपाल ०७४ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर, यसपटक उनी रौतहटबाट उम्मेदवार बनेका थिए । एकीकृत समाजवादी एमालेसँग विभाजित भएर बनेको दल हो । नेपाल यसपटक लोकतान्त्रिक—बाम गठबन्धनका साझा उम्मेदवार थिए ।
यसैगरी प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरले विजयी भएका छन् । उनी २६ हजार १ सय ३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

दाहालका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएका थिए । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मतमात्र प्राप्त गरे । उक्त निर्वाचन क्षेत्रमा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।
प्रचण्ड चौथो पटक सांसद बनेका हुन् । यसअघि ०६४ सालमा रोल्पा र काठमाडौं क्षेत्र नम्बर १० बाट विजयी भएका उनी ०७० सालमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । ०७४ सालमा भने उनी चितवनबाट निर्वाचित भएका थिए ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९ सय ८१ मतान्तरले पछि पार्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गरे । त्रिपाठीले भने २७ हजार ९ सय ५३ मत मात्र ल्याए । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४ सय ७५ मत पाए मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङले ८ सय ८२ मत ल्याए । धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भइसकेका छन् ।

यसैगरी खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतान्तरले हराएका हुन् ।

राईले ३१ हजार ३ सय ५१ मत पाएका थिए । भट्टराईले भने २८ हजार ६ सय ८२ मत ल्याए । जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९ सय १४, राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय १६ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २ सय ३९ मत ल्याएका छन् ।
यसैगरी मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह विजयी भएका छन् । सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरे । उनी दुई प्रभावशाली प्रतिद्वन्द्वीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

उनकी निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४ सय ३४ मत प्राप्त गरिन् ।
सिंहका अर्का प्रतिद्वन्द्वी राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत पाए । थापा यसपटक नेकपा एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बनेका थिए । मत गणनाको प्रारम्भमा तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि अगाडि बढ्न थालेका थिए ।

हेटौंडा वडा नम्बर ९ र १० को मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढेका थिए । अन्ततः उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २ हजार ३ सय ९६ मतले पछाडि पारे । उपाध्याय र थापाले सिंहलाई आफ्नो भोट काट्ने उम्मेदवारका रुपमा लिए पनि प्रतिस्पर्धीका रुपमा भने लिएका थिएनन् ।

यसअघि ०५४ सालमा पहिलोपटक मेयरमा राप्रपाबाट चुनाव लडेका सिंह एमालेका डोरमणि पौडेलसँग एक हजारभन्दा बढी मतले पराजित भएका थिए । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग र ०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर ३ मा एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भएका थिए ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार ५ सय ३१ मतसहित तेस्रो भएका थिए । सिंहले पञ्चायतकालदेखिका नै कमल थापालाई साथ दिंदै आएका थिए ।

यसैगरी नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शसांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई हराए । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
यसैगरी परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका हुन् ।

पौडेलले २५ हजार ३ सय १८ मत ल्याए । रानाले भने १९ हजार ९ सय ४३ मत पाए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८ सय ७८ मत पाए । यो जितसँगै छैटौंपटक निर्वाचित हुने थोरै नेताको संख्यामा पौडेल पनि परेका छन् ।
पौडेलले ०७४ सालको चुनावमा पराजित भएका थिए । उनलाई त्यतिबेला तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले हराएका थिए । त्यसबेला संस्थापन इतर समूहको नेतृत्व गरिरहेका ७८ वर्षीय पौडेलले आफुसँगै तनहुँमा कांग्रेसका कुनै पनि उम्मेदवारलाई जिताउन सकेनन् ।

यसैगरी झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २९ हजार ३ सय १५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए ।

थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । उनले २२ हजार ४ सय ४८ मत पाए । साँवा ०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याए ।
यसैगरी चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो अन्तरले विजयी भए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पछाडि पारेका हुन् ।

लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याए । श्रेष्ठले भने १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४९ मतमा सीमित भए । सो क्षेत्रबाट ०७४ सालको निर्वाचनमा एमालेका पोखरेल निर्वाचित भएका थिए । चितवन २ मा ८४ हजार ३ सय १५ मत खसेको थियो ।
मतगणनाको प्रारम्भिक चरणमा तेस्रो स्थानमा रहेका लामिछानेले पछि आफ्नो अग्रता बढाएका थिए । चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले ठुलो सफलता हासिल गरेका छन् ।
भारी मतान्तरले विजयी भएपछि लामिछानेले आफु जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनुमात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । उनी नेकपा एमालेका चर्चित उम्मेदवार महेश बस्नेतलाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । बस्नेत एमालेका अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै निकट मानिन्छन् ।

यसअघि ०७४ सालको निर्वाचनमा बस्नेत सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । यसपटक भने थापा २४ हजार २ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २ सय ७९ मत ल्याए । नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले ६ हजार ९ नौ ५४ मत प्राप्त गरिन् ।

यसैगरी ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । ३३ वर्षीया कार्की ३१ हजार १ सय ३६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृत खडकाले १२ हजार ९ सय ६३ मत ल्याएका थिए ।
उक्त निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रकी पम्फा भुसाल पनि उम्मेदवार बनेकी थिइन् । मन्त्रीको भूमिकासमेत निर्वाह गरेकी भुसालले ८ हजार ७ सय ६९ मतमात्र ल्याउन सकिन् । निर्वाचन जितेपछि कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् ।

यसैगरी दाङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेललाई पराजित गरिन् । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहिसकेका चर्चित ब्यक्तित्व हुन् ।
शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरिन् । पोखरेलले भने २६ हजार ६ सय ८० मतमात्र प्राप्त गर्न सके । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले पनि १४ हजार २ सय १५ मत ल्याएका थिए । शर्मा पूर्वसामान्य प्रशासनमन्त्री पनि हुन् ।

निकै कडा प्रतिस्पर्धाबीच शर्माले एमाले महासचिव पोख्रेललाई १ सय ९७ मतान्तरले हराइन् । उनले मतगणना सुरु भएदेखि अन्तिमसम्म पोखरेललाई पछि पारेकी थिइन् । उनी यसअघि ०७० साल र ०७४ सालमा समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।

यसैगरी अर्घाखाँचीबाट नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले ४२ हजार ६ सय ७५ मत ल्याए । नेपाली कांग्रेसका पुष्पा भुसाल गौतम भने ४० हजार ९ सय ४५ मत ल्याउँदै दोस्रो स्थानमा रहे । एमालेका केन्द्रीय सचिवसमेत रहेमा रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका अर्जुन जोशीलाई २ हजार २ सय ६३ मतान्तरले हराउँदै गिरीले संसदको यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८ सय ७२ र जोशीले २७ हजार ६ सय ९ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १ सय ७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरे ।

यसैगरी राप्रपाका ज्ञानबहादुर शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । शाही २२ हजार ८ सय १९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९ सय ५९ मत ल्याइन् ।

यसैगरी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मतले हराएका हुन् । सापकोटाले ३० हजार ३ सय ७४ र नेपालले २७ हजार १८ मत पाए ।

यसैगरी गोरखाका क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले हराएका हुन् । बजगाईँले ३३ हजार ४ सय २८ मत पाए । बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याए ।

यसैगरी म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गरे । गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मतान्तरले हराएका हुन् । गर्बुजाले २४ हजार २१ र श्रेष्ठको २० हजार १ सय ८९ मत ल्याए ।

यसैगरी डोटीबाट नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले प्रतिनिधिसमा सदस्यमा निर्वाचित भए । उनी तेस्रो पटक संसदमा पुगेका हुन् । ०७० र ०७४ सालमा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट संसद सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २ सय ६ मतान्तरसहित विजयी भएका हुन् । आलेले २७ हजार २ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् । कांग्रेसका बागी उम्मेदवार नरेन्द्रबहादुर खड्काले भने ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । उनी ९ हजार ७ सय मतान्तरसहित विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराए । घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याए । शाहले २७ हजार १ सय २० मत प्राप्त गरे । १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।

यसैगरी एमाले नेतृ विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई ०७६ सालको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पनि निर्वाचित भएकी थिइन् ।

यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २ सय ७४ मतले हराए । थापाले ४१ हजार १ सय १८ मत पाए । पौडेलले ३५ हजार ८ सय ४४ मत पाइन् । थापा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । सो क्षेत्रमा ०७४ सालमा पौडेल विजयी भएकी थिइन् ।

यसैगरी नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निकतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीलाई ६ हजार ४ सय ५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् । साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६ सय ४५ मत पाए । १ लाख ५ हजार ५ सय ७७ मतदातामध्ये ६४ हजार ७ सय ५२ मत खसेको थियो । ४ हजार ९ सय २० मत बदर भएको थियो ।

यसैगरी धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७ मतान्तरले पराजित गरेका हुन् । राईले ३० हजार १ सय १ मत ल्याए । थापाले २८ हजार ७ सय ४ मत पाए । स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत ल्याए ।

यसैगरी प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । उनी ४२ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका हुन् । सुवालका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत पाए । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार ७ सय ९३ मतान्तरले पछाडि पारे । उनी दोस्रो कार्यकालका लागि प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत प्राप्त गरे भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले ५ हजार २ सय ८३ मत पाए ।

यसैगरी झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । त्यसअघि ०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई हराएका थिए ।
लिङ्देन ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बनेका थिए । ०७८ सालमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर उनी अध्यक्ष चुनिएका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए ।

यसैगरी मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् ।

एमाले र जनता समाजवादी पार्टीबाट साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए । मण्डलले २१ हजार ८ सय २० मत ल्याए । माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याए । यादवले भने १७ हजार ३ सय ९० मत मात्रै ल्याए ।

यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत पाइन् । चौधरीले १८ हजार ८ मत ल्याए । एमालेका तपेन्द्र रावलले ५ हजार ९ सय १० मत ल्याए ।

०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट निर्वाचन जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिनाअघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । गत स्थानीय तह निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको थियो ।

यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५ सय ८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । साहले २३ हजार ५ सय ६४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी राउतले १९ हजार ९ सय ८२ मत मात्र ल्याए । काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३ सय १२ मत ल्याए ।

यसैगरी चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी ३४ हजार १ सय ८९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए । कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत पाए । पाण्डे नेकपा एमालेका उपाध्यक्ष हुन् भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

यसैगरी सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामशंकर यादव निर्वाचित भएका छन् । यादव कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । यादवले २९ हजार ४ सय ६२ मत ल्याए । चौधरीले २७ हजार ३ सय ७९ मत पाए । जनमत पार्टीका उम्मेदवार युगलकिशोर साहले ६ हजार ८ सय ४९ र स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५ सय २ मत ल्याए ।
यसैगरी सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भएका छन् । ३५ हजार ७ सय मतसहित ज्वाला निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत पाए । ज्वाला र शाहबीचको मतान्तर १५ हजार ९ सय ११ रह्यो । एमालेका उमेदवार राजेन्द्रवीर राय तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाए ।

यसैगरी रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उमेदवार प्रभु साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साह स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २ सय ३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४ सय ३७ मत पाए । जयसवालले २५ हजार २ सय मत ल्याए । माओवादी केन्द्रका उमेदवार रविन्द्र पटेलले ३ हजार ६ सय ५८ मत प्राप्त गरे । साह नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवार बनेका थिए ।

यसैगरी डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनी ११ हजार २ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका गणेशबहादुर शाहीलाई हराए । शाहीले ५ हजार ४ सय ९८ मत पाए । तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६ सय ६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

यसैगरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । प्रतिनिधिसभामा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित भए । कपिलवस्तु १ बाट प्रतिनिधिसभामा एमालेका बलराम अधिकारी विजयी भए । बैतडीबाट प्रतिनिधिसभामा एमालेका दामोदर भण्डारी विजयी भए । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी विजयी भए । उनले एमालेकी कोमल वलीलाई हराए ।

प्रतिक्रिया