काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने आफ्नो निर्णय फिर्ता लिन गण्डकी प्रदेश सरकारलाई बुधबार निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि करको दर हेरफेर गर्दा त्यसले निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले उक्त निर्णय फिर्ता लिन आयोगले निर्देशन दिएको हो ।
आयोगले आफ्नो निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई २४ घण्टाको समय दिएको छ । आयोगले २४ घण्टाभित्र उक्त निर्णय फिर्ता लिएर त्यसको जानकारी आफुलाई गराउन पनि निर्देशन दिएको छ । करको दरमा छुट दिने नीतिगत निर्णय गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्न सक्ने भन्दै आयोगले उक्त निर्णय तत्काल खारेज गर्न निर्देशन दिएको हो ।
प्रदेश सरकारले गरेको निर्णय आचारसंहिताविपरीत रहेको आयोगको ठहर छ । करको दर हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री‚ प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले स्पष्टीकरण पनि सोधेको छ ।
उनीहरूलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही किन हुनु नपर्ने भन्दै २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ । निर्वाचन प्रयोजनका लागि आचारसंहिता पनि लागू भइसकेको छ । गण्डकी प्रदेश सरकारले गत असोज ८ गते घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया