धनगढी । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँबस्तीमा पुग्न थालेका छन् । किसानहरु यतिखेर धान भित्र्याउने चटारोमा छन् । उम्मेदवारहरु भने किसानहरुका खेतमै पुगेर मत माग्नमा व्यस्त छन् ।
यतिखेर कैलालीमा पनि चुनावी माहोल बढ्दै गएको देखिन्छ । कैलाली ५ (क) मा पनि खासगरी प्रमुख दलका उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डा लिएर मतदाता रिझाउन लागिपरेका छन् । कैलाली ५ (क) मा सत्तारुढ गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा हुने आँकलन गर्न थालिएको छ ।
कैलाली ५ (क) मा प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेशसिंह धामी चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमालेका नेता नेपालु चौधरी उनका प्रमुख प्रतिष्पर्धी रहेका छन् । यी दुवैबीच कडा प्रतिष्पर्धा हुने अनुमान गर्न थालिएको छ ।
धामीलाई सत्ता गठबन्धनको साथ रहेको छ भने चौधरी एकल प्रतिष्पर्धामा छन् । चौधरी गत निर्वाचनमा वाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरी दोहोरिने दाउमा छन् भने धामी सत्ता गठबन्धनको बलमा निर्वाचन जित्ने दाउमा छन् ।
धामी संसदीय यात्रामा प्रवेशका लागि दोस्रो पटक चुनावी मैदानमा छन् । गत निर्वाचनमा उनी निर्वाचन क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसका डिल्लीराज पन्तसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपटक उनी प्रदेशसभा (क) बाट चुनाव लड्दै छन् । यस पटक जित्नेमा भने धामी ढुक्क छन् ।
धामीले भने, ‘लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको राष्ट्रिय एजेण्डा लिएर गठबन्धन अगाडि बढेको छ, विकास र समृद्धिका लागि पनि गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ, जनताले गठबन्धनका उम्मेदवारलाई मत दिने र जित्नेमा म ढुक्क छु ।’
‘अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले जुन तरिकाले काम गर्नुपर्ने थियो त्यो गरेका छैनन्’, धामीले भने, ‘हामीले स्थानीय समस्याहरुलाई मध्यनजर गरेर केही महत्वपूर्ण समस्याहरु समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ, हामीसँग भिजन छ, भिजन सहित मतदातासम्म पुगिरहेका छौँ, यसकारण पनि चुनाव जित्छौँ ।’
जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगारलगायतका एजेण्डाहरु आफूहरुले अघि सारेको उनले बताए । गठबन्धन दलबाट दरिलो साथ पाउनेमा पनि उनि ढुक्क छन । उनले भने, ‘स्थानीय निर्वाचनभन्दा अहिले गठबन्धन सुदृढ हुँदै गएको छ, टोलटोलमा गठबन्धन दलका नेता, कार्यकर्ताहरु सँगसँगै गइरहेका छौँ, गठबन्धनबाट पूर्ण सहयोग रहनेमा विश्वस्त छु ।’
नेकपा एमालेका उम्मेदवार चौधरीले एमालेले राष्ट्र र राष्ट्रियताको मुद्दा अगाडि सारेको र कुनै पनि दलका नेताले राष्ट्र र राष्ट्रियताको सवालमा नबोलेका कारण आफूले चुनाव जित्ने बताए । उनले भने, ‘एमालेले मिचिएको नेपाली भूमिको सवालमा आवाज उठाउँदै आएको छ, नाकाबन्दीमा पनि एमाले अड्डि कसेर लागेको, राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने पार्टी एमाले मात्रै भएकाले जनताले एमाले नै रोज्छन् ।’
एमालेले विकास निर्माणका काम तीव्ररुपमा गरेका कारण आफूले चुनाव जित्ने चौधरीको दाबी छ । २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा हेर्ने हो भने सत्ता गठबन्धन एमालेभन्दा झण्डै ८ हजार मतले अगाडि छ ।
निर्वाचन क्षेत्र नं. ५ (क) मा पर्ने वडाहरुमा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले १२ हजार ७२५, नेकपा (माओवादी केन्द्र) ले ४ हजार ४११ र नेकपा (एकीकृत समाजवादी) ले ९ सय ३८ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले १० हजार ८९० मत पाएको छ । उम्मेदवारहरुका चुनाव जित्ने आ–आफ्नै दावी भएपनि कसले जनताको मन जितेर निर्वाचित हुन्छन् त्यो भने निर्वाचनपछिको मत परिणामले बताउने छ ।
कैलाली
प्रतिक्रिया