दसैंमा साहसिक खेलको आकर्षण

काठमाडौं । यसपालिको दसैं विशेष अनि एड्भेञ्चर हुने भएको छ । दसैंमा पहिले गाउँघर, शहर, वजार जताजतैं लिंगे पिङ, रोङटे पिङ हाल्ने गरिन्थ्यो र युवाहरू यस्तै भुल्लिन्थे । तर अहिले जमाना फेरिएको छ । गाउँघरमासमेत पिङ विरलै देखिन्छ ।

यस्तोमा अब युवाहरू ध्यान साहसिक खेलतर्फ गएको देखिन्छ । दसैंको बेलामा यस्ता साहसिक खेलमा भीड बढेको बताइएको छ । उसै पनि दसैं रमाइलो चाड । त्यसमाथि साथी भाइ,इष्ट मित्रसँगै परिवारजनसँग कुनै रमणीय गन्तव्यमा घुमघाम गर्न पाउनु निकै रोमाञ्चक हुने गर्छ । यसमा थप पछिल्लो समय एड्भेञ्चर अर्थात् साहसिक खेलले रोमाञ्चकताको थप परिभाषा नै बदलिदिएको छ ।

पछिल्लो समय साहसिक खेलमा भएको तीब्रतर विकासले र त्यसको बहुआयामिक पक्षले हामीलाई दर्जनौं विकल्पसमेत प्रदान गरेको छ । जस्तो पछिल्लो समय काठमाडौं उपत्यका वरपर नै बढ्दो जीपलाइन खेलको ट्रेन्ड, साहसिक र्याफ्टिङ्गसँगै बन्जीको विकासले एड्भेञ्चरलाई थप परिस्कृत गरेको छ ।

यसै परिदृष्यमा हामी तपाईंहरुलाई सामान्य खर्चमा पनि एड्भेञ्चर खेलको मञ्जा लिन सकिने केही आकर्षक गन्तव्यको जानकारी दिँदैछौं ।

भोटेकोशी बन्जी, एड्भेन्चर र्याफ्टिङ्ग

एड्भेञ्चर बन्जीका लागि पहिलो र निकै लोकप्रिय गन्तव्य हो भोटेकोशी बन्जी । काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोशीमा बन्जी जम्पिङ गरेर,तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ ।

धुलीखेल जीपलाइन

काठमाडौंबाट छोटो दुरीमा रहेको अर्को एड्भेञ्जर स्पोर्ट हो काभ्रेपलाञ्चोको धुलिखेल । जहाँ वर्ड वाइड एड्भेञ्चर प्रालिले सञ्चालनमा ल्याएको जिपलाई पछिल्लो समय निकै लोकप्रिय छ । धुलिखेलको थाक्लेडाँडादेखि खावासम्म एक हजार एक सय मिटर (१.१ किलोमिटर) मा सञ्चालित जिप लाइनमा ३ किसिमको एड्भेञ्चर खेल खेल्न पाइन्छ ।

क्लासिक,स्पाइडरम्यान र टेण्डम गरी तीन खेलका लागि लोकप्रिय धुलिखेल जीपलाइन पछिल्लो समय युवा पुस्ताका लागि मात्र नभएर बालबालिकादेखि प्रौढ (पाका उमेर) सम्मका लागि समेत उत्तिकै आकर्षणको केन्द्र बनिरहेको छ ।

नुवाकोट जीपलाइन

ऐतिहासिक तथा पर्यटकीय क्षेत्र नुवाकोटमा पनि जीपलाइन सञ्चालमा छ । काठमाडौंदेखि ७० किलोमिटरको मात्र दुरीमा रहेको नुवाकोटको प्राचीन नुवाकोटको साततले दरबार नजिकिदै दरबार एड्भेञ्चर प्रालिले आकर्षक रिसोर्टसहितको जीपलाइन सञ्चालनमा ल्याएको छ ।

पृथ्वी नारायण शाहको पालाको दरबार,भैरवी मन्दिरसँगै अन्य ऐतिहासिक तथा प्राचीन सभ्यताको अवलोकन पनि गर्न पाइने र एड्भेञ्चरको मज्जा समेत लिने पाइने यस क्षेत्रमा पछिल्लो समय स्वदेशीसँगै विदेशी पर्यटकहरुको आकर्षण बढ्दो छ ।

घ्याम्पेडाँडा जीपलाइन

काठमाडौंको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने भक्तपुरको रानीकोट घ्याम्पे डाँडामा सञ्चालित एड्भेञ्चर जीपलाइनको साथमा स्काई साइक्लिङ्ग,क्यापी साइक्लिङ्ग र स्वीइङको समेत मज्जा लिन सकिन्छ । काठमाडौंबाट १५ किलोमिटरको मात्र दुरीमा रहेको यस स्थानमा नेपाल क्यामिलोन होलिडेज प्रालिले यो एड्भेञ्चर स्पोर्ट सञ्चालनमा ल्याएको हो ।

रिसोर्टसहितको ए्भेञ्चर खेलको सुरुवात गरेको कम्पनीले जीपलाइनमा तीन किसिमको सुविधा प्रदान गरेको छ । १.२ किलोमिटरमा लङ जीपलाइन चलाएको कम्पनीले ४५० मिटरमा सर्ट जीपलाइन,३५० मिटरमा स्काई साइक्लिङ्ग,३५० मिटरमा क्यानपी साइक्लिङ्ग र स्वीइङ सञ्चालन गरिरहेको छ । यसैगरी त्रिशुली रिभरसाइट जीपलाइन वीथ र्याफ्टिङ्ग, द क्लिफ, कुश्माः विश्वकै अग्लो बन्जी, सराङकोट जीपलाइन, टावर बन्जी, हट बेलुन आदीमा खेलाडी झुम्मिएका छन् ।

प्रतिक्रिया