विश्वास नेपाललाई ‘शिवशक्ति तिज म्युजिक अवार्ड’

काठमाडौं । गायक तथा गीतकार विश्वास नेपालले ‘शिवशक्ति तिज म्युजिक अवार्ड’ प्राप्त गरेका छन् । शनिबार राजधानीमा आयोजित नजिकै आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालीका तिजको कार्यक्रममा गीतकार नेपालले अवार्ड जितेका हुन् ।

बजारमा आएका गीत संगीतलाई लिएर आयोजना गरिएको म्युजिक अवार्ड वितरण सम्पन्न भएको हो । शुभकामना मिडिया सोलुसनको आयोजना तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा आयोजना गरिएको कार्यक्रममा उनले अवार्ड हात पारे ।

‘डालीमा चिल बस्यो, बैमानी मायासँग दिल बस्यो’ बोलको गीतमार्फत संगीत संयोजन विधामा आफू अवार्ड जित्न सफल भएको गीतकार नेपालले बताए ।

उक्त गीतमा गायक पशुपति शर्मा र गायिका निशा केसीको आवाजमा रहेको छ । सो अवसरमा गीतकार नेपालसहित अन्य धेरै कलाकारहरुले पनि विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।

साथै, उनले केही दिनअघि सम्पन्न १२औँ रमपम बिन्दवासिनी म्युजिक अवार्डमा पनि ‘शनिसार’ बोलको गीतबाट अवार्ड जित्न सफल भएको विश्वासले बताए ।

अर्घाखाँचीमा जन्मिएका विश्वास लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर गीत संगीतमा सक्रिय छन् । यस अवार्डले सङ्गीत क्षेत्रमा आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा मौलिकतामा ध्यान दिएर अझै क्रियाशील बन्ने गीतकार नेपालले बताए ।

प्रतिक्रिया