पौडीका लागि तयारी तीव्र

वीरगन्ज, ८ फागुन । आउँदो सातादेखि धनगढीमा सुरु हुने छैटाँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीका स्पर्धा भने वीरगन्जमा हुँदै छन् । धनगढीमा आवश्यक पूर्वाधार नभएकाले वीरगन्जले यो अवसर पाएको हो ।
वीरगन्जको आदर्शनगर स्विमिङ पुल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकाले पौडी वीरगन्जमा गर्न लागिएको नेपाल पौडी सङ्घका केन्द्रीय सदस्य युवराज सुनुवार बताउँछन् । सोही पुलमा छ वर्ष पहिले राष्ट्रियस्तरको पौडी प्रतियोगिता भएको थियो ।
उक्त स्विमिङ पुलमा फागुन १४ देखि १६ गतेसम्म पौडीका स्पर्धा हुनेछन् । त्यसअघि फागुन ११ र १२ गते क्षेत्रीय छानोट प्रतियोगिता सञ्चालन गरिनेछ । राष्ट्रियस्तरको प्रतियोगिताका लागि स्विमिङ पुलमा तीव्र रूपमा काम भइरहेको छ । स्विमिङ पुलमा अहिले सफा पानी भर्ने, पर्खाल र प्यारापिट रङ्गरोगन गर्ने, टुटेफुटेका संरचना मर्मत–सम्भार तथा परिसर सरसफाइ गर्ने काम भइरहेको छ ।
रङ्गरोगन र मर्मतमा मात्रै झन्डै दुई लाख ५० हजार रूपैयाँ खर्च हुने स्विमिङ पुल परिसरका सञ्चालक राजेशमान सिंह बताउँछन् । फागुन १० गते साँझसम्म सम्पूर्ण तयारी पूरा भइसक्ने सिंहको दाबी छ । (सौस)

प्रतिक्रिया