डा. सुवेदीको भूकम्प गीत

काठमाडौं । लोकसर्जक डा.शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । गीतमा भूकम्पको जोखिमबाट कसरी बच्ने भन्ने उपायका बारेमा सन्देश दिन खोजिएको छ । गीतमा गायक पशुपति शर्मा र गायिका देवी घर्तीको आवाज रहेको छ । गीतको शब्द संकलन सुवेदी तथा संगीत गायक शर्माले भरेका छन् । गीतमा भूकम्प र यसका बारेमा सर्जक सुवेदीले लेखेका छन्,

सर भूकम्प कसरी आउँछ ?
आजसम्म विज्ञानले पत्ता लाको’ छैन
कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन
कहाँ आउँछ भूकम्प आउने कारण के हो
धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो
कखग एबिसी सिके जसरी

पुष्पाञ्जलि म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतलाई शिव सुवेदी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा केशव बधुले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदको अभिनय छ भने केहीलाई विद्यार्थीका रुपमा समेत देखाइएको छ ।

पहिलो कुरा भूकम्पले मान्छे मार्ने होइन
तर हाम्रो घर भत्किए हामी बाचिँदैन
घर बलियो बनाम अब, जग दरिलो खनम
आफूले बनाम पहिले अरुलाई नि भनम
कखग एबिसी सिके जसरी …

गीतको भिडियोमा २०७२ साल बैशाख १२ गतेको भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिर्माणको विषयलाई समेत कलात्मक रुपमा देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा आधारित गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ । कलाकार डा.सुवेदीले स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् । उनले आफ्ना सुपरभाइजर जियोर्ज हेतेनीको आग्रहमा गीत तयार पारिएको जनाए । डा.सुवेदीले भने, उहाँ (हेतेनी) ले गत वर्ष पोखरामा भएको एक कार्यक्रममा म कलाकार भएको थाहा पाउनासाथ खुसी हुँदै गीत बनाउन सल्लाह दिनुभयो । उहाँकै सल्लाहले मलाई थप ऊर्जा मिल्यो र गीत बनाएँ । उनले गीतको भिडियो हेर्ने जोकोहीले पनि भूकम्पीय जोखिमका बारेमा आधारभूत शिक्षा लिन सक्ने बताए ।  डा.सुवेदीका अधिकांश गीत चर्चामा छन् । उनका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परँे भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नोपन’ लगायत गीत सार्वजनिक भएका छन् ।

प्रतिक्रिया