लुम्बिनी । पर्यटक सेवा सुधार गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको ल्याएका अत्याधुनिक विद्युतीय सवारी साधनहरू थन्किएका छन् । अनियमितता, प्रशासनिक लापरवाही र अनधिकृत प्रयोगका कारण बिग्रिदै विद्युतीय सवारी साधनहरू यस्तो अवस्थामा पुगेका हुन् । जसले राज्यको सम्पत्ति र पर्यटक सेवामा असर पारेको छ ।
यहि वैशाख १३ गते लु १ झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्र भित्रको सडकमा अनियन्त्रित भई दुर्घटनामा पर्यो । कोषका उपाध्यक्ष ल्यारक्याल लामाले आफूसँग ल्याएर नियुक्ति विवादमा रहेका जीवन बस्नेतले चलाउदै गरेको उक्त भ्यानको अगाडिको भागमा क्षति पुगेको छ ।
यसअघि, २०८० साल चैत्र २३ गते, लु १ झ ६९६ नम्बरको सोही भ्यानलाइ अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको भन्दै स्थानीय अभियानकर्ताहरूले पर्सा चोकबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । चालकसहित गाडीमा सवार २ व्यक्ति न त लुम्बिनी विकास कोषका पदाधिकारी थिए, न कर्मचारी ।
त्यस्तै, २०८० साल साउन १९ गते, लु १ झ ६९७ नम्बरको बिद्युतीय भ्यान लुम्बिनी विकास कोषको सूचना शाखामा कार्यरत कर्मचारी राजन बस्नेतले सवारी चालक अनुमतिपत्र बिना अनधिकृत रूपमा चलाउँदा दुर्घटनामा परेको थियो । उक्त भ्यान मर्मतमा करिब २८ लाख रुपैया खर्च हुने प्राविधिकको भनाइ छ ।
राजन बस्नेतले चलाएको सो इ‐भ्यानको ठक्करबाट लुम्बिनी साँस्कृतिक नगरपालिका ७ पक्डिहवाबस्ने ४० वर्षिय रबिन्द्र यादव घाइते भएका थिए । उनको लु ३१ प १८६ नम्बरको मोटरसाइकल समेत क्षतिग्रस्त भएको यादवको भनाइ छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका ८ एकलास्थित सडकमा दुर्घटना भएको उक्त लु १ झ ६९७ नम्बरको बिद्युतीय भ्यान राजन बस्नेतले चलाएको स्थानीयको दावी थियो । लुम्बिनी बिकास कोषमा कर्यरत सवारी चालक गोबर्धन पोखरेललाइ सवारीचालक खडागरी इन्स्योरेन्सको प्रकृया पूरा गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरिक्षक दिपक मगराठीले बताए ।
लुम्बिनी विकास कोषका अन्य विद्युतीय सवारी साधनको अवस्था पनि लथालिंग नै छ । लु १ झ ६९४ भ्यान पछाडीतर्फ ठोक्किएको छ, ढोकामा ह्यान्डल छैन भने एउटा पाङ्ग्रा समेत खोलिएको छ । लु१ झ ६९५ नम्बरको भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भई स्टेशनमै बसेको छ । चार्जिङ स्टेशनमा देखिने ५ मध्ये चार बसको एसी बिग्रिएको छ । लु १ झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ ।
एशियाली बिकास बैंकको अनुदान सहयोगमा दक्षिण एशिया पर्यटन पूर्बाधार बिकास आयोजना अन्तरगतको क्लीन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धनका लागीभन्दै नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत लुम्बिनी विकास कोषको नाममा २०७९ जेठ १२ गते नामसारीभइ आएका उक्त क्षतिग्रस्त सवारी शाधनहरू ५ बस र १४ भ्यान मध्येका हुन ।
२०७७ मंसिर ९ गते लुम्बिनीमा १४ वटा विद्युतीय भ्यान र ५ वटा बस ल्याइएको थियो । ती अत्याधुनिक विद्युतीय सवारी साधनहरू वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक विद्युतीय बसमा १९ सिट र भ्यानमा ५ सिट क्षमता रहेको छ । एक पटक पूरा चार्ज गरेपछि कम्तीमा चार सय किलोमिटर गुड्न सक्ने उक्त बस–भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा छ ।
ʼउच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोषका ती १९ थान विद्युतीय सवारी साधनहरूलाई हरियो नम्बर प्लेटमा रूपान्तरणगरी सञ्चालनगर्नका लागी एक महिनाको समयसिमा तोकेर परमादेश जारी गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘उच्च अदालतले दिएको समय सिमा पनि नाघीसक्यो, गाडी दुरूपयोग ज्युँका त्युँ छ ।
‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारी शाधनहरुलाइ उद्देश्य अनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्य अनुसार प्रयोगमा ल्याइनेछ ।’
लामो समयसम्म खुल्ला आकासमुनी एकै ठाउँमा थन्किएर बस्नुपर्दा जामहुने, बिग्रिने र ब्याट्री डिस्चार्जहुने जस्ता डर भएर लुम्बिनी विकास कोषले आन्तरिक प्रयोजनका लागी गुडाउदैगर्दा केही सवारी साधनहरुमा सामान्य क्षति पुगेको स्वीकार्दै आगामी दिनमा त्यस्तो नहुने कोषाध्यक्ष भट्टराइले बताए ।
प्रतिक्रिया