काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ । बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा देशभर कुल २० हजार ७६० हेक्टर जमिनमा चियारोपण गरिएको थियो । त्यस अवधिमा २ करोड ७० लाख किलोग्राम तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषकहरू छन् । अधिकृत पुरीले अघिल्लो आवमा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिए ।
यसैबीच २९औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बोर्डले जनाएको छ । त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डका अधिकृत पुरीले जानकारी दिए । यसवर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ दिवस आयोजना हुँदै छ ।
प्रतिक्रिया