मानौँ राजा आए, त्यसपछि हुुन्छ के ?

२०४६ सालमा प्रजातन्त्र स्थापना भयो । २०६५ जेठ १५ मा गणतन्त्र आयो । २०७२ सालमा गणतान्त्रिक संविधान पनि आयो । जनताले झण्डै १७ वर्ष गणतन्त्र बेहोरे । कुनै पद्धती व्यवस्था शासन प्रणाली आफँैमा खराब हुँदैन । त्यसमा पनि लोकतान्त्रिक गणतन्त्र खराब शासन व्यवस्था होइन । संसारभर प्रजातन्त्र, मानवअधिकार र समाजवादको मान्यता छ ।

सर्वप्रथम त यस पंक्तिकार कुनै वाद, तन्त्र, सिद्धान्त, पथसँग प्रत्यक्ष, परोक्ष सरोकार राख्दैन । पंक्तिकार मात्र होइन आमजनता अहिलेको शासन रबैया र सञ्चालनप्रति सन्तुुष्ट छैनन् । यो कुरा बोल्न, लेख्न, भन्न र सुनाउन अनर्थ नहोला सायद, यो साँच्चिकै हामीले चाहेको लोकतन्त्र हो भने । नेपालको राजनीतिक वृत्तमा स्पष्ट ३ धुु्रव देखिएका छन् जुन चरम अवसारवादी, स्वार्थी, आत्मपरक, परिवारवादी, जहाँनीया, द्रव्यपिशाच र विकृत छन् ।

युवा, वामपन्थी र दक्षिणपन्थी :

पहिलो वर्गमा युुवाहरू छन् । जो तन्त्रभन्दा पनि सुशासनमा विश्वास गर्छन् खुुला विचार राख्छन्, कुनै व्यक्ति संस्थाप्रति खास आकर्षण राख्दैनन् । सामाजिकभन्दा एकल सोच राख्छन्, अरूलाई राम्रो नराम्रो दुुबै गर्दैनन् । दोस्रो वर्गमा बामपन्थीहरू छन् । उनीहरू १० चिरामा बिखन्डित छन् । दिन रात वाद बदल्छन्, जो हालकै अवस्थामा झुट बोलेर तर्कले जितेर अरूलाई नराम्रो भनेर सदा रजाइ गर्न रुचाउँछन् । वादको रटान छाड्दैनन् । तेस्रो वर्गमा मध्यमार्गी छन् । जो राजा र हिन्दू धर्मप्रति नरम छन्, बहुुलवाद चाहन्छन् तर प्रतिफल नआउँदा पनि मौन बस्छन् । आफूलाई प्रजातन्त्रको मानक ठान्दै सदा सत्तामा रहन रुचाउँछन् । विदेशीसँग डर मान्छन् । यी ३ वर्ग कांगे्रस, एमाले, माओवादी सबै पार्टीमा छन् । यिनीहरू सत्ता, पैसा र पावरका भोखा हुन् यसमा शंका छैन ।


यी तीनै वर्ग देशका लागि घातक छन, यद्यपि यी तीनै वर्गमा सकारात्मक पक्षहरू छन् । राम्रा त्यागी मान्छेहरू पनि छन् जो पार्टीमा नै बहिष्कृत छन् । राजा आउने र नआउने, राजा राम्रो नराम्रो, ठिक बेठिक भनेर यस पंक्तिकार दृष्टिकोण दिन चाहँदैन । तर देशको बारेमा सबै जनाले सोच्न पाउँछन र सक्छन्, विरोध गर्न सक्छन्, यसमा अन्यथा मान्नु पर्दैन ।

देशमा अल्छी, बेकामी, वाइघात, लफुुंगा, हुुल्लडको जमात बढदो छ । सकारात्मक सोच विचार, ज्ञान, सीप, विवेक हराउँदै छ । वर्तमान समयमा जुनसुकै वाद, पथ र तन्त्रले काम नगर्ने परिस्थिति छ । दोषारोपण गर्ने पन्छिने र उम्किने एकात्मक र जसरी पनि धन कमाउने सोच मौलाएको छ । २०४६ देखि २०६३ सम्मको अवस्था, २०६३ सालदेखि हालसम्मको अवस्थालाई केलाएर हेर्दा देशप्रति कोही पनि इमानदार देखिएन चाहे राजा या राजनीतिक दल । मात्र एक वर्ग इमानदार छ, जो यहाँ रोजगार पाउने आशा गुमाएर विदेशबाटै भए पनि रेमिट ल्याएर व्यक्तिगत रूपमा परिबार पाल्ने । समग्रमा देशको अर्थतन्त्र धान्नेहरू यिनै हुन् ।

राजावादीको आन्दोलन तथा माहोल

हुन त एउटा शक्ति सधैँ बाहिर रहँदा देशमा अमन चयन हुँदैन । यसकारण त्यो शक्तिलाई निश्चित स्थान दिँदा पनि हुन्छ, तर त्यो स्थान पाउनेले भन्दा त्यो स्थानका लागि लड्नेहरूले अन्य अभिष्ट राखेका पनि हुन सक्छन् । अन्यथा सबै वाद, पथ, तन्त्र ल्याउने आफ्नैका लागि घर भित्र्याउने जस्तै हुन्छ । अहिलेको विरोध गर्नेले आफू अहिलेकाहरू भन्दा भिन्न बन्न सक्नुपर्छ । परी आएको खण्डमा सत्ता बाहिर अर्थात सांसद पद पनि त्याग्न अघि सर्नुुपर्छ ।

जसरी गणतन्त्र आयो, त्यस्तै गरी राजतन्त्र बहाली भयो भने पनि ‘आया राम गया राम’ हुन्छ, साइनबोर्ड फेरिन्छ, लेटरहेड फेरिन्छ, कागजमा लगाउने छाप फेरिन्छ र लोगो फेरिन्छ, केही नयाँ, अधिकांश पुराना अनुहार, बाँकी प्रवृत्ति, विचार, सिद्धान्त, सोच विचार, व्यवहार, कार्यशैली पक्कै फेरिन्न किनकी हामी सबै नेपाली ठग्ने र लुुटने संस्कार बनेको छ । जसरी पनि धन कमाउने र कमाउनुपर्छ भन्नेहरूलाई नै रातो कार्पेट बिछ्याइन्छ । धनकै बाहुल्य हुन्छ, ठुलालाई चैन सानालाई ऐन हुन्छ । सत्ता र राज्य सञ्चालनको लागि सत्तारोहणका लागि देशी विदेशी सबैसँग आत्मसर्मपण गरिन्छ । बाँकी नयाँ केही हुन्न ढुक्क हुुनुुहोस् । तर अहिले सत्ताको दुुरुपयोग गरिरहेको एमाले, कांग्रेस, माओवादी र तराईका फाटफुट दलले अवसर गुमाउँछन् ।

अर्को कोही नयाँ आउँछन्, फेरि दोहन गर्छन् । यो भन्दा पूर्वाग्रह देखिन्छ राप्रपाले पनि कुनै बेला सरकारको नेतृत्व गरेको होइन र ? ग¥यो के ? भयो के ? राजा पनि थिएनन् र, गरे के ? हतारिए पारसलाई राजकुमार बनाउन । आफू राजा नै भइसकेपछि आफना दाजुको धन सम्पत्ति राज्यलाई दिने त्याग गर्नु पर्दथ्यो । संवैधानिक सोच पाल्नुपर्दथ्यो, सल्लाहकार गलत भए, काम गरेनन् । ज्ञानेन्द्र शाहलाई धेरै बेठिक भन्न किन सकिन्न भने उनि भागेनन्, मुुलुकमै रहे, मुलुकको माया गरे । यो सबल पक्ष हो, दुुर्वल पक्ष जनताले मन नपराउने छोरालाई राजकुमार बनाउन हतारिए । भलै पारिवारिक दबाब पनि होला, यद्यपि विचार नपुुगेको हो ।

समस्या नीति, कार्यक्रम, वाद, सिद्धान्तको हुँदै होइन, कुरा त कार्यशैली र कार्यान्वयन नै हो । जुुन बिल्कुल भएकै छैन । गाउँका केटाहरू विदेश गए, घर बनाए, टिभी जोडे, बच्चालाई बोर्डिङ पठाए, खाए लाए सहरमा डेरा सरे । ती केटाहरूलाई न राज्यले विदेश पठायो, न त रोजगारी नै मिलायो तर यो जस पनि लोकतन्त्रले लिन्छ । स्वभाविक विकास र परिवर्तनलाई पनि लोकतन्त्रको बल र बुताले गरेको भन्नु मैले हावा, पानी, घाम असिना, बादल, झरी ल्याए भन्नुसरह हो । देशमा एउटै व्यक्ति मन्त्री, प्रधानमन्त्री बनिरहन नदिन, विदेशीको एकछत्र दबाब हस्तक्षेप रोक्न, राजा र सबै दलहरू मिल्नुपर्छ ।

जसरी राजनीतिकदलहरूले गणतन्त्र ज्ञानेन्द्रकै कारणले आएको भन्छन्, यसैगरी यो लोकतन्त्र पनि लोकतन्त्रवादीकै कारणले गएको भन्ने दिन आउन सक्छ, जुन दिनसम्म प्रधानमन्त्री पद भागबण्डामा पालै पालो गरी कांग्रेस एमाले माओवादीले लिन्छन् । २०५२ सालदेखि एउटै मानिस पटकपटक प्रधानमन्त्री बन्छन्, फेरी गणतन्त्रवादीहरू रटान लगाउँछन्, लोकतन्त्रमा जनताका छोराछोरी प्रधानमन्त्री राष्ट्रपति बन्छन्, तर कसरी अर्को २० वर्ष पछिको राष्ट्रपती प्रधानमन्त्रीको लिस्ट तयार छ यो जनताले बुुझेका छैनन् । पक्कै बुुझ्छन्, जब देख्छन् ।

राजा तथा मूलधारका दल दुुबैले अहंकार तोडनुपर्छ । बिपी मुर्ख थिएनन् यहि भएर राजासँग जोडिए । महेन्द्र पनि मुर्ख थिएनन्, बाँकी त न नेता हुन्, न राजा नै । अवसरवादका पिण्ड हुन् । न यिनीहरूसँग सोच छ न त विचार न त योजना । राजावादी मित्रहरूले पनि राजा आएपछि अहिलेका गणतन्त्रवादीले झै लुट्ने नै सोचले राजाको पछाडि लागेको भए यो त्याग्नुस् । गणतन्त्रवादीले पनि ‘राजालाई खराब हामी सद्दे’ भन्ने भ्रम पालेर जनतालाई आँखामा छारो हालेर लुटिरहने सोच छाडनुस् ।

राजा जस्तै तपाईंहरूलाई पनि फाल्ने दिन आउँछ । राजाको विकल्प गणतन्त्र हो भने गणतन्त्रको विकल्प पनि छ नबिर्सनुस् । चिरस्थायी केही छैन । छ भने परिवर्तन हो, त्यसकाराण परिवर्तन रोक्न कुनै वादीको ताकत छैन । जसरी २०६३ सालमा राजाको ताकत भएन, यस्तै अन्य वादीहरूको पनि ताकत रहन्न । भलै प्रजातन्त्र चाहिएला, तर तपाईंको जस्तो नेतातन्त्र चाहिँदैन । म सुन्दै छुु गणतन्त्रको विकल्प छैन रे, किन छैन ? सब कुराको विकल्प छ भने गणतन्त्र के हो र विकल्प नहुने ?

बिग्रेको देश, छटाएका जनता, मात्तिएका र आत्तिएका युवाहरू, लाचार अभिभावकहरू, उच्छृंगल जनमानस, स्वार्थी व्यवसायी, बिकाउ बुद्धिजीवी भएको देशमा कोही आउँदैमा सत्ता फेरिँदैमा १–२ जना चिच्याउँदैमा खास लुट, धन्दा, घुसघोरी, दण्डहीनता सकिन्न । यसका लागि सत्ताका भित्रका नेता र सत्ताबाहिरका जनता सबै सुध्रिन र सच्चिन आवश्यक छ । हामी सबैका हर्कत, तरिका र व्यवहारले साच्चै देश बिग्रेको हो । यसकारण विदेशीले हेपेका छन् । यो हेपिनबाट बँच्न, हरियो पासपोर्ट जोगाउन हामी आफूआफू सबैजनाले आफनो शैली बदल्नुपर्छ ।

नेता मात्र सुध्रेर पनि हुँदैन । राजा आउन्, देश बनाउन् । मेरो गुनासो छैन किनकी राजाको समर्थन गरेवापत या विरोध गरेवापत मैले कुनै कुत खाएको छैन । खान पनि नपरोस् । मेरो आसय न राजाप्रति, न गणतन्त्रप्रति प्रहार हो । तर कार्यशैली कार्यान्वयनप्रति हो । हौसला पनि छैन, समर्थन विरोध, आपत्ति, विमति, सहमति केही छैन तर देश बिग्रेको देख्दा रुन मन लाग्छ ।

देश बिगार्नेहरूले मैले बिगारेको छैन भन्छन् । आखिर बिगा¥यो कसले ? २–४ वर्ष चलाउने राजाले या २०४७ सालदेखि निरन्तर विभिन्न नाममा सत्तारोहण गर्नेले, या पटकपटक सिन्डिकेटबाट प्रधानमन्त्री बन्नेले । या सडकमा फोहोर फ्याक्ने नटेर्ने, छाडा काम नगर्ने, गफ चुट्ने, अधिकार र कर्तव्यमा नबोल्ने, कायर, लाछी, केवल मतदान मात्र गर्नेले ? सोचौँ । कोही आएर पनि देश बन्दैन । कोही नआएर पनि बन्दैन । देश जनताले बनाउने हो नेता जनता होइनन् कुरा बुुझौँ ।

संवैधानिक राजसंस्था, २०४७ सालको संविधान, धर्ममा मौन, राजनीतिक दललाई केही लगाम, समाजवादको बाटोमा उन्मुख बनाउन स्वास्थ्य र शिक्षा यातायात सरकारले चलाउने, सांसद संख्या घटाउने, प्रदेश खारेज गर्ने । राष्ट्रपति या प्रधानमन्त्रीको प्रत्यक्ष मतदानको हावादारी कुरा त्याग्नुपर्छ । किनकी नेपाल त्यो हदसम्म पुगिसकेको छैन । जनता अझै निन्द्रामा छन् । निदाएकाले प्रत्यक्ष मतदानबाट राष्ट्रपति प्रधानमन्त्री रोज्दा भोलि अर्को स्थिति आउँछ । राजा ज्ञानेन्द्रको मायाभन्दा मुलुकको माया र आवश्यकताले गर्दा २०४७ सालको संविधान फर्काउन उपयुक्त होला कि ?

संघियता औधी राम्रो होला, तर हामीले खर्च धान्न सकेनौँ । यो समस्या हो । लोकतन्त्र राम्रो हो, तर हामीले नेताको दण्डहीतना स्वेच्छाचारिता थेग्न सकेनौँ जहानीयाँ र पदलोलुपता पाल्न सकेनौँ । एउटा मुलुकुमा २ थरी कानुुन मान्न सकेनौँ ।

प्रतिक्रिया