वडाध्यक्ष साहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष श्याम बाबु साहसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले वडाध्यक्ष साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०८०–०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । जनही ७ लाख ७९ हजार २०५ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले तीन महिनादेखि तीन वर्षसम्म कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया