आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ : देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने आफूले विश्वास लिएको बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मलाई विश्वास छ– आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ ।’

निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको पनि सभापति देउवाले बताए । ‘निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैं अग्र स्थानमा रहेको छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने विश्वास छ । व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले व्यापार र उद्योग गर्ने होइन, निजी संस्थाले गर्नुपर्छ ।’

प्रतिक्रिया