प्रिमियरसिपमा शीर्ष ४ को होड रोमाञ्चक

लन्डन । इंग्लिस प्रिमियर लिगका शनिबारका २ खेलले शीर्ष ४ को दौड र रेलिगेसनको कथा दुवैमा नयाँ मोड ल्याएको छ । न्युक्यासल र चेल्सीले महत्वपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने यात्रालाई मजबुत बनाएका छन् । अर्कोतर्फ इप्सविच टाउन सिजन सकिनुअघि नै रेलिगेट हुने तेस्रो टिम बनेको छ ।
मुख्य प्रशिक्षक एडी हाउ निमोनियाबाट निको भएर डगआउट फर्केको दिन न्युक्यासलले सेन्ट जेम्स पार्कमा इप्सविचलाई ३–० ले पराजित ग¥यो । यस जितसँगै न्युक्यासल शीर्ष ५ मा उक्लिएको छ । यो अर्को सिजनको च्याम्पियन्स लिगमा सहभागिता सुनिश्चित गर्ने सर्त हो ।

यो नतिजा इप्सविचका लागि दुःखद् रह्यो । गायक एड शिरान आंशिक स्वामित्वमा रहेको क्लबले प्रिमियर लिगमा टिक्न सकेन र साउथह्याम्पटन तथा लेस्टर सिटीसँगै च्याम्पियनसिपमा फर्किएको छ । लगातार दोस्रो सिजन ३ वटै प्रोमोट भएका थिए । तर, फेरि रेलिगेट भएका हुन् ।

स्टामफोर्ड ब्रिजमा भएको अर्को खेलमा चेल्सीले एभर्टनमाथि १–० को संघर्षपूर्ण जित हात पा¥यो । पहिलो हाफमा निकोलस ज्याक्सनले गरेको गोल निर्णायक बन्यो । चेल्सी अहिले पाँचौँ स्थानमा पुगेको छ । न्युक्यासलभन्दा २ र म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि परेको छ ।

शीर्ष ७ टोलीबीच मात्र ५ अंकको दुरी छ । यसले अन्तिम खेललाई रोमाञ्चक बनाएको छ । शनिबार एस्टन भिल्लाले प्रिमियर लिग खेल खेलेन । यो टोलीले वेम्ब्ली स्टेडियममा एफए कप सेमिफाइनलमा क्रिस्टल प्यालेससँग भिडिरहेको छ । एफए कप अन्डरडग टिम भिल्लाले जित्न सक्ने आशा कायमै छ । म्यानचेस्टर सिटीले तगारो बनेन भने ।

लेस्टर सिटीका आइकन जेमी भार्डीले आफ्नो बिदाइ सिजनको सुरुआत वुल्भ्ससँगको ३–० को हारबाट गरे । उनले खेलमा पाएको पेनाल्टी अवसर गुमाएका थिए । वुल्भ्सका माथियस कुञ्हाले १ गोल र २ गोलमा असिस्ट गरे । उनलाई समर ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्न सक्ने चर्चा तातिएको छ ।

अर्कोतर्फ, रेलिगेसन खतरा टार्न संघर्षरत साउथह्याम्पटनले फुलहमसँग घरमै २–१ को हार बेहोर्न पुग्यो । अन्तिम समयमा गोल खाँदै साउथह्याम्पटन मात्र ११ अंकमा सीमित रह्यो । यो प्रिमियर लिग इतिहासमै सबैभन्दा कम अंक गर्ने कीर्तिमान हो । सन् २००७–०८ मा डर्बी काउन्टीले यो खराब कीर्तिमान बनाएको थियो ।
ब्राइटनले वेस्ट ह्यामविरुद्ध नाटकीय रूपमा ८९औँ मिनेट र इन्जुरी टाइममा गोल गर्दै ३–२ को जित निकालेको छ । वेस्ट ह्यामका लागि नयाँ प्रशिक्षक ग्राहम पोटरको सुरुआत भने निराशाजनक बनेको छ । ७ खेलदेखि टोलीको जितविहीन यात्रा जारी छ ।

क्रिस्टल प्यालेस र म्यानचेस्टर फाइनलमा भिड्ने
क्रिस्टल प्यालेसले एफए कप जित्ने अर्को मौका पाएको छ । शनिबार वेम्बली स्टेडियममा एस्टन भिल्लालाई ३–० ले हराउँदै प्यालेसले १७ मेमा मा हुने उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दक्षिण लन्डन क्लबको तेस्रोपटक एफए कप फाइनल प्रवेश हो । यसअघि सन् १९९० र २०१६ मा फाइनल पुगेको प्यालेस दुवैपटक युनाइटेडसँग पराजित भएको थियो । खेलको ३१औँ मिनेटमा एबेरेची एजले इस्माइला साको राम्रो पासमा शक्तिशाली प्रहार गर्दै प्यालेसका लागि पहिलो गोल गरे । साले दोस्रो हाफमा २ गोल थप्दै भिल्लामाथि प्यालेसको प्रभावशाली जित सुनिश्चित गरे । उनले ५८औँ मिनेटमा पहिलो र इन्जुरी समयमा दोस्रो गोल गरे ।

७ पटक एफए कप जितिसकेको भिल्ला पछिल्लो साता पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । भिल्ला प्रिमियर लिगमा शीर्ष ५ मा स्थान बनाउन प्रयासरत छ ।

प्यालेसका लागि जितको अन्तर अझै ठुलो हुन सक्थ्यो । जाँ–फिलिप माटेटाले ५३औँ मिनेटमा पेनाल्टी मिस गरे । कुनै ठूला प्रतियोगिताको उपाधि नजितेको प्यालेस अब फाइनलमा म्यानचेस्टर सिटी वा नटिङ्घम फरेस्टसँग भिड्नेछ । यी २ टोली आइतबार वेम्बलीमै आमनेसामने हुँदै छन् ।

प्रतिक्रिया