काठमाडौँ । अबदेखि भाटभटेनी सुपरमार्केट प्रालि र बिगमार्ट प्रालिले अरूले उत्पादन गरेका वस्तुमा आफ्नो लेबल लगाउन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुवै स्टोरहरूलाई सो निर्देशन दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने व्यवस्था छ ।
सोअनुसार विभागले दुवै स्टोरलाई यही १२ गते आफूले उत्पादन गरेका वस्तुमा मात्र कम्पनीबाट लेबल लगाउन निर्देशन दिएका हो । विभागले भनेको छ, ‘कम्पनीले उत्पादन गरेका वस्तुहरूमा मात्र कम्पनीबाट लेबल लगाउने तर अन्य आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन निर्देशन भएको छ ।’
उक्त निर्देशन १२ गतेदेखि नै पालना गरेको दुवै स्टोरहरूले जनाएका छन् । विभागका अनुसार आयातकर्ताको लेबल भएको वस्तु मात्र उक्त स्टोरहरूमा भित्रिने गरी निर्देशन पालना गर्ने प्रतिबद्धता भाटभटेनी र बिगमार्टले जनाएका छन् ।
त्यस्तै, विभागले स्वदेशी र आयात हुने सबै उत्पादनमा अनिवार्य लेबल लगाउन निर्देशन जारी गरेको थियो । विभागले गत १४ चैतमा सूचना जारी स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले बजारमा बिक्री वितरणमा पठाउनुअघि अनिवार्य रूपमा तयारी मालवस्तुमा लेबल लगाउन भनेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेकाले सोही ऐनको दफा २१ बमोजिम वस्तु वा सेवाको मापदण्ड निर्धारण गर्ने मार्गदर्शनको परिधिभित्र रहेर लेबल लगाउन विभागले भनेको थियो । सोही अनुरूप भएनभएको अनुगमन भइरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया