नेपालको प्राकृतिक सम्पदा र यसको उपयोगका सम्भावना

जल सम्पदाको उत्पादन एवं उपभोगको महत्वबारे जनता सचेत भए भने ले जलाधार स्रोत पनि जोगिन्छन् । यसकारण जल सम्पदाको श्रोतको रक्षा गरी वातावरणीय सन्तुलन कायम राख्न वनजंगललाई दिगो रूपमा बचाइराख्ने कार्यक्रम एवं योजनाको अति आवश्यक देखिन्छ ।

रुद्रप्रसाद पाठक

नेपाल प्रकृतिले नै अनुपम रूपमा वरदान दिएको विविध प्रकारका सम्भावना भएको देश हो । भुगोलको हिसाबले नेपाल विश्वमा सानो देश भएता पनि प्राकृतिक विविधता अनि जलसम्पदाको हिसाबले धनी देश हो । विश्वका सबैभन्दा अग्ला १४ हिमाल मध्ये १० वटा नेपालमै पर्दछन् भने नेपालका उच्च हिमाली क्षेत्रबाट बग्ने नदीनालाहरूबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत् ऊर्जा निकाल्न सकिने सम्भावना देखिएको छ । विद्युत् ऊर्जा उत्पादनबाट स्वदेश भित्रको आवश्यकता सहजै पूर्ति भएर बाहिरी देशहरूमा पनि निर्यात गरी अर्थतन्त्र बलियो बनाउन सकिने सम्भावना एकातिर छ भने अर्कोतर्फ रोजगारीको सिर्जना गरी दक्ष जनशक्तिको विदेश पलायन रोक्न सकिन्छ ।

जल सम्पदाको उपयोगबाट घरायसी दाउरा लगायतका लागि वनजंगलमा भर पर्नुपर्ने अवस्थाको न्यूनीकरण भई वनजंगलको रक्षा एकातिर हुन्छ भने विदेशबाट आयात गरी ल्याएको इन्धनको सट्टा घरायसी प्रयोगका साथै विद्युतीय ऊर्जाबाट चल्ने सवारी साधनबाट देशको आन्तरिक अर्थतन्त्र बलियो हुने, पर्यावरणको रक्षा, वनजंगलको रक्षालगायत चुरे क्षेत्रमा हुने वनजंगल फडानी कम भई तराई क्षेत्रमा हुने बाढीपहिरो भू–क्षय कम भई तराई क्षेत्रमा पानीको संकट एवं मरुभूमीकरण समाधानको समेत मार्गप्रसस्त हुनेछ ।

यस्तो कामबाट समुदाय स्तरबाट नै वनजंगलको रक्षा गर्नुपर्ने रहेछ भन्ने स्वस्फुर्त रूपमा जनचेतना फैलिई पहाडीलगायत चुरे क्षेत्रका पानीका मुहान सुक्न पाउँदैनन भने अर्कोतर्फ अतिवृष्टि, अनावृष्टिको समस्या कम भई यसले मानव स्वस्थ्यमा परेको असर न्यूनीकरण गर्छ । साथै जैविक विविधताको रक्षा गरी वातावरणीय सन्तुलन कायम हुने सम्भावनासमेत देखिन्छ । वातावरणीय सन्तुलन कायम भएपछि हिमालको हिउँको समेत रक्षा भई सदावहार हिमनदी बगिरहनमा मद्दत पुग्दछ भने यसबाट दिगो विद्युतीय ऊर्जा उत्पादनमा मद्दत पु¥याउँदछ ।

जलसम्पदको उपयोगले राष्ट्रिय एकतालाई मजबुत बनाई राष्ट्रियता प्रवद्र्धनमा समेत ठुलो टेवा पुग्ने सम्भावना देखिएको छ । तराईका मानिसलाई हिमाल एवं पहाडको नदीनालाको महत्व थाहा हुन्छ । चुरेक्षेत्रको संरक्षण र हिमालको हिउँको रक्षाको कारण बिजुली प्राप्त हुने मात्रै होइन बाढीपहिरोको जोखिम कम हुन्छ । तराई क्षेत्र मरुभूमीकरण हुनबाट जोगिने मात्रै होइन सिँचाइको सुविधाबाटसमेत तराई लाभान्वित हुन्छ । कृषि उत्पादन अझ बढ्छ । पहाडमा अपुग खाद्यान्न लगायतको जोहो तराईबाट हुन थालेपछि तराईबासीप्रति पहाडबासीको सद्भाव बढ्छ । यसबाट राष्ट्रिय एकताका साथै हिमाल, पहाड, तराईलगायत जातीय, भाषिक, धार्मिक, क्षेत्रीय विविधताको सामाजिक सद्भाव सहिष्णुतासमेत बलियो हुन पुग्छ ।

किनकी तराईकाले पहाडको महत्व थाहा पाउँछन् भने पहाडकाले तराईको महत्व थाहा पाउँछन् । यस्तो कामबाट कृषि पर्यटनको विकासको साथै नेपालका जलसम्पदा, सांस्कृतिक सम्पदा, धार्मिक सम्पदा, भौगोलिक सम्पदा, खानपिनको सम्पदाको रक्षा अझ प्रगाढरूपमा गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ भने नागरिकहरूमा स्वस्फुर्त रूपमा उत्पे्ररणाको भानसमेत हुन पुग्दछ ।

जलसम्पदाको उत्पादन एवं उपभोगको महत्वबारे जनता सचेत भए भने ले जलाधार स्रोत पनि जोगिन्छन् । यसकारण जल सम्पदाको स्रोतको रक्षा गरी वातावरणीय सन्तुलन कायम राख्न बनजंगललाई दिगो रूपमा बचाइराख्ने कार्यक्रम एवं योजनाको अति आवश्यक देखिन्छ । साथै जलसम्पदाको भरपुर उपभोग गर्ने गुणस्तरीय शिक्षा हौसला अनि विश्वास युवा वर्गमा बाँढनु पनि उत्तिकै आवश्यक हुन्छ । नेपालमा केही हुँदैन भन्ने युवा वर्गको निराश भावनालाई उत्साह उमंग सीप अन्ततोगत्वा कर्ममा बदल्नु आवश्यक पर्दछ ।

दिगो विद्युतीय ऊर्जा उत्पादनले अन्तर्राष्ट्रिय स्तरका कलकारखाना, उद्योग, यातायातलगायत घरेलु उद्योग स्थानीय स्तरमै खोल्न सकिने हुन्छ । उक्त कलकारखाना उद्योगबाट उत्पादित सामान सस्तो रूपमा आफूले उपभोग गर्न पाइने र बिदेशमा समेत निर्यात बढाउन सकिने सम्भावना देखिएको छ । यसबाट आत्मनिर्भर अर्थतन्त्रको बिकास, रोजगारीको सिर्जना, दक्ष जनशक्तिलाई देशभित्रै काम दिन सकिने हुन्छ भने देशभित्रै सस्तो रूपमा विद्युत् पाएर त्यसबाट काम हुन थालेपछि नागरिकमा देशभक्तिको भावनाको विकास एवं अझै बढी मिहिनेत गरौँ भन्ने भावनाको विकास हुन्छ । शान्ति र समृद्धिको नारा व्यवहारमै उत्रिन पुग्छ । भ्रष्टाचार गरेर होइन पौरख गरेर आय आर्जन गर्नुपर्दछ भन्ने मानवीय भावनाको विकास पनि हुन्छ । कसैले कसैको चाकरी गरेर होइन पौरखमा बाँच्ने संस्कारको पनि विकास गराउँछ । यो लोकतन्त्रको उच्च संस्कृति पनि हो ।

साच्चिकै भन्ने हो भने २०८० को दशक भनेको सूचना प्रविधिले भरिएको सिंगो विश्व हो । यो प्रविधिको अधिकांश बढी प्रयोग युवाहरूले गर्दछन् । यसैले हरेक कामको योजना बनाउँदा युवा जोश जाँगर एवं जिउँदो जाग्दो उमेरलाई केन्द्रविन्दुमा राखी काम गर्नु अति आवश्यक पर्छ । किनभने युवाबाट मात्रै सृजनशीलता उद्यम नवप्रवद्र्धन एवं कर्म सम्भव हुन्छ । उत्प्रेरणा, सुरक्षा परिचालन अनि गुणस्तरीय शिक्षा एवं सीप ज्ञानको प्रवाहबाट मात्रै युवाबाट लक्षित प्रतिफल पाउन सक्छौँ ।

हाम्रो देशको माटोलाई बुझ्ने गुणस्तरीय ज्ञान सीप युवा वर्गलाई दिने आवश्यकता टड्कारो रूपमा देखिन्छ । युवा वर्ग खासगरी काँचो माटोजस्ता भएकाले विदेशीको देखासिकी गर्ने प्रवृत्ति हुन सक्ने भएकाले गुणस्तरीय ज्ञान सीप दिँदा हाम्रो आफ्नो मौलिकताका साथै हाम्रो संस्कार संस्कृति भित्रको विज्ञान र समाजमा त्यसको सही शाश्वत अनुसरण हुन नसकेर देखिएका विकृतिको पनि जानकारी दिनु पनि उत्तिकै आवश्यक हुन्छ ।

नेपालका अधिकांश राष्ट्रिय विभूतिहरू युवा उमेरमा आफ्नो सर्वोत्कृष्ट काम गरी नेपालको इज्जत प्रतिष्ठा एवं योगदानलाई विश्वव्यापी गराएवापत आफू प्रतिष्ठित भएका छन् । जस्तै गौतम बुद्ध, सीता, कलाकार अरनिको, मोतीराम भट्ट, भानुभक्त आचार्य, भृकुटी आदिले आफ्नो त्याग, देश भक्ति सृजनशीलता एवं नवप्रवर्तन युवा उमेरमा नै गरेका थिए । यसकारण उल्लिखित प्रकृतिक सम्पदाहरूको भरपुर उपयोगमा युवा परिचालन अपरिहार्य मानिएको हो ।

नेपाल अहिले विश्वमानचित्रमा विकासोन्मुख गरिब एवं अविकसित देशको रूपमा चिनिएको देख्दा हरेक देशभक्त नेपालीको मन मुटु चसक्क पोल्नु स्वभाविक हो । प्रकृतिले अपार सम्भावना नै सम्भावना दिने तर हामी असम्भावनाले पलायन हुने, हाम्रो विभूतिहरूले शान्तिको पहिलो विगुल यहिबाट फुक्ने तर हामी र हाम्रो देश अशान्तिमा बाँच्ने, हाम्रा विभूतिहरूले हाम्रो कलालाई विश्वमा चिनाएर प्रतिष्ठित हुने तर हामी हाम्रो कला संस्कृति नै बिर्सने अर्काको कला संस्कृतिको अनुसरण गर्ने, हाम्रा चेलीले आफ्नो नारी इज्जतले विदेशमा प्रतिष्ठित गराउने तर वर्तमानमा हाम्रा चेली विदेशी कोठीमा बेचिनु पर्ने वर्तमान अवस्थामा युवावर्गको निखारिएको ज्ञान सीप, उच्च नैतिकता मनोबल लिएर अगाडि बढनुको विकल्प देखिँदैन । युवाका बलिया हृष्टपुष्ट पाखुरीले पसिना चुहाओस्, युवा जोश जागर साहसले मार्गदर्शन गरोस्, सिर्जनशील दिमागले स्रोत साधनको भरपुर प्रयोग गरी नवप्रवर्तन गरोस् नेपाली माटोलाई बुझ्ने गुणस्तरीय ज्ञान सीप पाओस् ।

८३ हजार मेगावाट विद्युत् निकाल्ने क्षमता हुँदाहुँदै पनि पुँजीको अभाव छ नेपाल गरिब छ प्रविधि छैन जनशक्ति छैन भन्ने बेकारको कुरा हो । हामीसित जोश, जाँगर, सीप, ज्ञान छ भने नेपाली जनताले चन्दा उठाएर पनि मितव्ययिता अपनाएर पनि त्यो गर्न सकिने प्रबल सम्भावना छ ।

प्रतिक्रिया