‘नेपाल भ्रमण वर्ष २०२५’ को पूर्वसंकेत राम्रो देखिएको छैन । अघिल्लो वर्षको सुरुका ३ महिनाको तुलनामा चालु वर्षको सुरुका ३ महिनामा विदेशी पर्यटकको आगमन करिब ३ प्रतिशत घटेको अध्यागमन विभागले जनाएको छ । सन् २०१९ को अन्त्यताका सुरु भएको विश्वव्यापी कोभिड महामारीका कारण ‘नेपाल भ्रमण वर्ष २०२०’ असफल भएबाहेक अहिलेसम्मका नेपाल भ्रमण वर्षमा पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको नजीर छ । हुन त अझै सिंगो ९ महिना बाँकी रहेका कारण निराश भइहाल्नुुपर्ने अवस्था भने छैन । विशेषगरी छिमेकी देश चीनमा सरकार तथा पर्यटन व्यवसायीहरूले ‘नेपाल भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार तीव्र रूपमा अघि बढाएको समाचार आएका छन् ।
चीनमा हरेक महिना पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइएको छ । पर्यटन प्रवद्र्धनका लागि चीन लक्षित कार्यक्रमलाई निरन्तर अघि बढाउनु सकारात्मक पाटो हो । किनकी कोभिड–१९ को संक्रमणपूर्व सन् २०१९ मा चिनियाँहरूले झण्डै १७ करोडको संख्यामा विदेश भ्रमण गरेका थिए । विश्व पर्यटन संगठनका अनुसार सन् २०२३ मा चिनियाँ पर्यटकले विश्वमै सबैभन्दा बढी लगभग २ खर्ब अमेरिकी डलरबराबर खर्च गरेका थिए । विश्वका पर्यटन बजारका लागि चिनियाँ पर्यटक मुख्य ग्राहक हुन् भन्ने कुरा यो तथ्यांकले प्रष्ट पार्छ । तर करिब १ हजार ४०० किलोमिटर सीमा जोडिएको छिमेकी देश चीनबाट नेपाल आउने पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न सकेको छैन । नेपाल भ्रमण वर्ष २०२५ तथा पर्यटकीय दशक सन् २०२३–२०३३ लाई सफल बनाउन चिनियाँ पर्यटक लक्षित कार्यक्रम जरुरी छ ।
सन् २०३३ सम्ममा विदेशी पर्यटकको आगमन वार्षिक ३५ लाख पु¥याउने सरकारको लक्ष्य महत्वाकांक्षी होइन । किनकी दक्षिणको छिमेकी देश भारतको कश्मीरमा मात्रै वार्षिक ३५ लाख र उत्तरको छिमेकी देश चीनको तिब्बतमा वार्षिक ५ करोड पर्यटक भित्रिने गरेको तथ्यांक छ । यस हिसाबले पनि विश्व पर्यटनका प्रमुख स्रोत चीन र भारत हुन् भन्ने कुरा स्वतः पुष्टि हुन्छ करिब डेढ–डेढ अर्बको हाराहारीमा जनसंख्या रहेका चीन र भारतबीच रहेको हाम्रो देशमा विदेशी पर्यटकको आगमन वार्षिक ११ लाखमा सीमित रहनु भनेको सरकारको कमजोरी हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ रहेको देश नेपाल प्राकृतिक सौन्दर्यको दृष्टिले पनि अनुपम मानिन्छ । तर पनि पर्यटन व्यवसाय अपेक्षित रूपमा फष्टाउन नसक्नुमा निजी क्षेत्रका पनि कमीकमजोरी रहेका छन् । निजी क्षेत्रले ठुला होटलहरूमा जुन ढंगले लगानी गरेको छ, त्यही ढंगले प्रचारप्रसारमा पनि लगानी गर्नु जरुरी छ ।
कोरानाकाल अघि र पछिको विदेशी पर्यटक आगमनको तथ्यांकलाई केलाउने हो भने नेपाल भ्रमण वर्ष २०२५ र पर्यटकीय दशक २०२३–२०३३ सफल बनाउन चिनियाँ पर्यटककै भूमिका महत्वपूर्ण हुने देखिन्छ । त्यसो त चिनियाँ पर्यटक आगमनसँग नेपालका अन्य स्वार्थसमेत जोडिएका छन् । पहिलो कुरा त नेपालको चीनसँग व्यापार घाटा निकै ठूलो छ । दोस्रो कुरा लुम्बिनीको भैरहवा र चीनको ऋण तथा प्राविधिक सहयोगमा पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेका छैनन् । छिमेकी भारत सकरात्मक नहुँदा व्यावसायिक उडान हुन नसकेका यी विमानस्थल सुचारु गर्न पनि चिनियाँ पर्यटकलक्षित कार्यक्रम ल्याउनु जरुरी छ ।
भारतबाटजस्तै चीनबाट पनि वार्षिक ३–४ लाखको संख्यामा मात्र पर्यटकहरू आउने हो भने पनि यी विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन सक्छन् । उचित पहल हुने हो भने वार्षिक १७ करोड जनता विदेश घुम्न जाने चीनबाट ३–४ लाख पर्यटक नेपाल आउनु ठुलो कुरा हुँदैन । त्यसो त स्थलमार्ग प्रयोग गर्न रुचाउने पर्यटकहरूको संख्या पनि उल्लेख्य हुने गर्छ । तर तिब्बतबाट नेपाल प्रवेश गर्ने सडकहरूको अवस्था नाजुक छ । चीनबाट नेपालकोे सीमासम्म स्तरीय सडक बनिसकेका छन्, तर नेपालभित्र प्रवेश गर्नासाथ सडकको हालत खराब छ । पर्यटन दशक सफल बनाउने हो भने नेपाल र तिब्बत जोड्ने सडकहरूको स्तरोन्नति पनि उत्तिकै जरुरी छ ।
प्रतिक्रिया