काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।
थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए । लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा उनले आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाइ डिल गरेको अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? दुई–तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ, त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’ थापाविरुद्ध परेको अवहेलना मुद्दाको पहिलो पेसी मंगलबार तोकिएको बताइएको छ ।
प्रतिक्रिया