एमाले सांसद ठाकुर गैरेले गरे पूर्वराजा ज्ञानेन्द्रलाई कारवाहीको माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् । सांसद गैरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो माग गरेका हुन् ।

सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य आयो, डा. फणिन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य, त्यस वक्तव्यको हेडलाइनमना लेखिएको छ, श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’, आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने बताए । ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ ?’ गैरेले प्रश्न गरे, ‘यो लेख्न कसरी सकिन्छ ? यो कसरी सम्भव भयो रु यो पाइन्छ कि पाइँदैन ? ।’

जो कोहीले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उनको आग्रह छ । अगाडि भन्छन्, ‘यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ? ।’

प्रतिक्रिया