दु:खको एउटै औषधी ‘आमा’

सुशी बस्नेत

दिल खोलेर रुनका लागि सबैभन्दा उत्तम ठाउँ आमाको काख नै हो । यो भनाई र आमाको सम्बन्ध परिपुरुक छन् । रुन होस् । या हास्न होस् । सबैभन्दा उत्तम ठाउँ आमाकै काख हो । जहाँ सबैको औषधी हुन्छ । एक श्रद्धा र माया प्रकट गर्ने विशेष साईनो छ भने त्यो हो आमाको माया प्रेरणा र स्नेह नै सन्तानको लागि अमुल्य सम्पत्ति हुन् ।

आज माता तिर्थ औँसी अर्थात नेपाली संस्कृतिमा ‘आमाको मुख हेर्ने दिन’ अत्यन्तै भावनात्मक र सांस्कृतिक महत्त्व बोकेको पर्व हो। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वलाई मातातीर्थ औँसी भनिन्छ। यस दिन सन्तानहरूले आफ्नी आमाप्रति सम्मान, माया र कृतज्ञता प्रकट गर्दछन् ।

साहस दिने चुनौती सङ्ग लड्न सिकाउने र आफ्नो खुसी धितो राखेर सन्तानको लागि बाच्न सक्ने कोही छ । भने ती हुन आमा ! आज आमा नहुनेहरूले पनि आमाको नाममा दियो बाली आमालाई सम्झिरहनुभएको छ होला । आमा हुनेहरुले आफ्नो आमाको काखमै बसेर खुसी साट्दै हुनुहुन्छ होला ।

आजको दिन, जसका आमा जीवित हुनुहुन्छ, ती आफ्नी आमालाई मिठा परिकार, फलफूल, र कपडा जस्ता उपहार दिँदै उनको आशीर्वाद लिन्छन्। आमा गुमाएका सन्तानहरू भने मातातीर्थजस्ता तीर्थस्थलमा गई पूजाआजा गरी मातृ सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दछन्।

आमाले हाम्रो जीवन दिनुभएको, हुर्काउनुभएको, माया र त्यागले पाल्नुभएको सम्झनामा यो दिन आमाप्रतिको आदर र न्यानो सम्बन्ध झल्काउने एउटा विशेष अवसर पनि हो ।“आमा” शब्द नै संसारको सबैभन्दा मिठो शब्द हो । जसमा माया, त्याग र अमर समर्पण समेटिएको हुन्छ । दुखको एउटै औषधि आमा, अप्ठ्यारोमा एउटै भर्याङ आमा अनि चुनौती सँग लड्न साहस दिने हिम्मतवाली आमा यि केवल शब्दहरु मात्रै होईनन् । भावना र मन सँग जोडिएका छन् । जसले आमाको अपार मायालाई सदैव आत्मसाथ गर्दछ ।

आमा एउटा यस्तो पात्र हुन्, जसको माया न त तुलनायोग्य हुन्छ, न त मापन गर्न मिल्ने। जन्मदेखि जीवनका प्रत्येक मोडसम्म, आमाले निःस्वार्थ साथ र हौसला दिनुहुन्छ । जब संसारले साथ छोड्छ, आमाको माया अझ मजबुत भएर उभिन्छ। आफ्नो दुख पिडालाई पटुकीमा लुकाएर पिडालाई हाँसोमा देखाएर सन्तानको खुसी चाहाने त्यो भगवान हुन आमा । टिलपिल गर्दै आँखाबाट खस्नै लागेका आँशु पनि सन्तानको लागि लुकाएर खुसीका लोलाहरु फुटाउने आमालाई सधैँ सम्मान छ । मेरी आमाको त्यो भिजेको आँचल, आधिरातमा उठेर सन्तानलाई हेर्ने नजर, नखाएको भाग बाँड्ने आदत यी सबै मेरा लागी प्रेरणाका स्रोत हुन् ।

वास्तमै आमाको माया त्यस्तो शक्तिशाली ऊर्जा हो, जसले जीवनका हरेक कठिनाइ सामना गर्ने हिम्मत दिन्छ । हरेक कठिनाई सँग जुध्ने सामर्थ्य दिन्छ । आमाविनाको घर घर जस्तो लाग्दैन । आमाको विनाको संसार शुन्यतामा अल्झिएको हुन्छ । घरी घरी आमाको सम्झना र मायाले झकझक पार्ने यो जिन्दगी पनि मेरै आमाको लागि समर्पित गर्ने छु । दुनियाँको अगाडी ठाडो शिर बनाएर सामाजिक सद्भाव सहित जिउँन सिकाउने मेरी आमा संसार भरकी आमालाई मिठो सम्झना सहित न्यानो माया छ।

प्रतिक्रिया