शिक्षाका हस्ती खेलकुदमा : आफ्नोसँगै खेल क्षेत्रकै बद्नामी !

काठमाडौँ । शिक्षण पृष्ठभूमिका नाइटिंगल स्कुलका तेजुलाल चौधरी अहिले युवा तथा खेलकुदमन्त्री छन् । चौधरी मात्र होइन, नेपालको शिक्षा क्षेत्रमा सफल र नाम चलेका हस्तीको पनि खेलकुद क्षेत्रमा राम्रै उपस्थिति छ । झट्ट सुन्दा सफल शैक्षिक व्यवस्थापनको कौशल भएकाहरू अन्यत्र पनि सफल नै हुन्छन् भन्ने कुरा नेपाली खेलकुदमा सरोकार राख्नेहरू मान्न तयार देखिँदैनन् । कार्य दक्षताभन्दा पनि व्यक्तिगत लाभ, सम्बन्ध र निजी कुण्ठाका आधारमा निर्णय गर्ने स्वभावकै कारण मन्त्री चौधरीको कार्यकालमा नेपाली खेलकुद अत्यधिक विवादित भयो । नेपाल ओलम्पिक कमिटीको विवाद अन्तर्राष्ट्रिय निकायले मान्यता दिइसकेर समाधान भइसके पनि अनावश्यक गिजोल्ने काम मन्त्री चौधरीले गरेका छन् ।

नेपाली उसुमा मन्त्री चौधरीले नै झिकेको विवादका कारण राष्ट्रिय खेलकुद परिषद् हातामै तोडफोड भएको थियो । मन्त्री चौधरीको अयोग्यता यतिमा मात्र पुष्टि हुँदैन, बारम्बार पछाडि धकेलिएको १०औँ राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित गर्नेे निर्णय भइसकेको छ । व्यक्तिगत सम्बन्धका कारण जोकोहीलाई पनि अनावश्यक जिम्मेवारी दिने मन्त्री चौधरीका कारण खेल क्षेत्र बदनाम हुँदै गएको कुरामा सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघका धेरै सदस्य सहमत छन् ।

यस्तै, मन्त्री चौधरीले कुनै विवाद नै नभएको भारोत्तोलन संघ विघटन गर्दै करण चौधरीलाई संयोजक बनाउने निर्णय गरेका छन् । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ मन्त्री चौधरीले गरेका निर्णय अपरिपक्व भएका कारण एकपछि अर्को समस्या भोगेको बताउँछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिए पनि मन्त्रीकोे व्यक्तिगत कुण्ठाका कारण आफू नेतृत्वको संघमा समस्या थपिएको श्रेष्ठ बताउँछन् ।

यसैगरी नाइटिंगल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई परिषद् कार्यपालिका सदस्य बनाइएको छ । त्यसो त मन्त्री चौधरीले राखेपका ४ सदस्यलाई बर्खास्त गरे पनि अदालतले पुनस्र्थापित गरिसकेको छ । मन्त्रीले ओलम्पिक कमिटीमा, संघहरूमा विवाद निम्त्याएको, व्यक्तिगत निकटताका आधारमा जिम्मेवारी दिएका कारण नेपाली खेलकुद नै बदनाम भएको तथा छवि धुमिल भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला बताउँछन् । मन्त्री चौधरीले नैतिकताका आधारमा राजीनामा गर्नुको कुनै विकल्प नभएको धमलाको मत छ । एकपछि अर्को विवादास्पद निर्णय गरेका मन्त्री चौधरीको विरुद्धमा गत महिना कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय सानेपामा कालो झन्डा नै देखाएका थिए ।

ठुला विद्यालय सञ्चालक जिम्मेवारीमा

मन्त्री चौधरी मात्र होइन, सफल शैक्षिक व्यवस्थापनको पृष्ठभूमि भएका धेरै जनाको खेलकुद क्षेत्रमा उपस्थिति छ । यद्यपि खेलकुद क्षेत्रको जिम्मेवारीमा भने उनीहरू बारम्बार चुकेका छन् । संयोग नै हुन सक्छ, कम नाम चलेका विद्यालयको खेलकुदमा प्रभाव धेरै भए पनि ठुला विद्यालयका सञ्चालकले आवश्यकभन्दा बढी जिम्मेवारी पाउनु अझै आश्चर्यको विषय भएको छ ।

ग्यालेक्सी स्कुलकी सञ्चालक गीता राणा, शिक्षक संगठनका नेता बाबुराम थापा र जेम्स स्कुलका सञ्चालक राजेश खड्का नेपाल जिम्न्यास्टिक संघका उपाध्यक्ष छन् । तर, संघले विगत केही वर्षदेखि राष्ट्रिय प्रतियोगितासमेत गरेको रेकर्ड कतै छैन । जिम्न्यास्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित गलत नेतृत्वका कारण आफ्नो खेलको अस्तित्व नै संकटमा परेको कुरा स्वीकार गर्छन् । ‘विगत ३५ वर्षदेखि ध्रुवबहादुर प्रधान मात्र होइन, नेपालमा नाम चलेका र स्थापित व्यक्ति, हाम्रो संघमा आए । तैपनि सिन्को भाँच्ने कामसमेत गरेनन्,’ स्थापितले सौर्यसँग गुनासो गरे ।

नेपालमा जिम्न्यास्टिक प्रतियोगिता नभएको समेत धेरै वर्ष भइसकेको छ । नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको तथा शिक्षा क्षेत्रका यी हस्ती उपाध्यक्ष भएको जिम्न्यास्टिक संघको पनि वार्षिक साधारणसभा हुने गरेको छैन भने प्रशिक्षण पनि औँलामा गन्न सकिने स्थानमा भएका छन् । ‘मदर अफ स्पोट्र्स’ भनिए पनि नेपालमा कुनै गतिविधि नगर्ने जिम्न्यास्टिक संघको महासचिव लिटल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्द शर्मा छन् ।

ग्यालेक्सीकी सञ्चालक राणा नेपाली खेलकुदमा विवादकी पर्याय तथा कार्य दक्षतामा कमजोर मानिन्छिन् । २०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव विनोदशंकर पालिखेले गीता राणाको अध्यक्षतामा एन्फाको तदर्थ समिति गठन गरेका थिए । त्यसपछि राणाले न सो निर्णयलाई फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)बाट अनुमोदन गराउन सकिन्, न त पद नै त्यागिन् । उनको सोही हठका कारण नेपाली फुटबल क्षेत्र करिब ३ वर्ष बन्दी अवस्थामा रह्यो ।

८ वैशाख २०७१ मा नेपाल पौडी संघको साधारणसभामा राणा उपाध्यक्षको उम्मेदवार भएकी थिइन् । अहिले जिम्न्यास्टिक संघको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीमा उपस्थिति जनाएकी छिन् । नेपाल ओलम्पिक कमिटीको रेकर्डलाई आधार मान्ने हो भने गीता राणा नेपाल पौडी संघको पनि उपाध्यक्ष हुन् । जबकि उनी पौडीको साधारणसभामा उम्मेदवारी फिर्ता लिएर हिँडेकी थिइन् । फुटबल, पौडी र जिम्न्यास्टिक जस्ता संघमा आबद्ध उनी जुन संघमा उपस्थित भए पनि विवाद निम्तिने गरेको भुक्तभोगीहरू बताउँछन् ।

नेपाल शिक्षक संगठन, ललितपुर जिल्ला अध्यक्ष भएकै समयमा बाबुराम थापा ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षका रूपमा खेलकुद क्षेत्रमा उपस्थिति जनाएका थिए । सोही समयमा कार्यकाल पनि पूरा गर्न नपाई कार्यालयमा विद्रोह भएपछि बर्खास्त गरिएका थापा अहिले नेपाल जिम्न्यास्टिक संघमा छन् । शिक्षा क्षेत्रमा नाम चलेका उल्लेखित व्यक्तिहरूले पद ओगट्नेभन्दा बाहेक अन्य कुनै काम गरेको रेकर्ड खासै छैन । उनीहरू प्रायः मनोनीत सदस्यका रूपमा उपस्थित हुने गरेका छन् ।

ठुला शैक्षिक संस्थाको व्यवस्थापन गरेका व्यक्तिहरूको न्यून योगदानकै कारण शिक्षा क्षेत्रबाट खेलकुद क्षेत्रमा आएर राम्रो काम गर्नेहरू ओझेलमा परेका छन् । नेपाली भलिबलमा काठमाडौँको न्यु डाइमन्ड बोर्डिङ स्कुल र कास्कीको ज्ञानु बाबा स्कुलको महत्वपूर्ण भूमिका रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रिन्सिपल कुमार राई आफैँ भलिबल प्रशिक्षक रहेको न्यु डाइमन्ड नेपालको महिला भलिबलमा पायोनियर शक्ति हो । नेपाली भलिबलको राष्ट्रिय टोलीमा करिब १ दशक शान जमाएका प्रतिभा माली र कृपा अधिकारी सोही विद्यालयका उत्पादन हुन् । अहिले पनि न्यु डाइमन्डको तर्फबाट कम्तीमा पनि ३ जना खेलाडी राष्ट्रिय टोलीमा रहने गरेका छन् ।
महिला भलिबलमा प्रभाव जमाएको पोखराको ज्ञानुबाबाले त खेलकुदका लागि छात्रवृत्ति नै दिने गरेको थियो । राष्ट्रिय टोलीकी पूर्वसदस्य मञ्जु गुरुङ र परीक्षा गुरुङसहित हालकी राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सोही विद्यालयका उत्पादन हुन् ।

यसैगरी, अन्नपूर्ण स्कुलले बुद्धिचालको क्षेत्रमा राम्रै प्रभाव छाडेको छ । चेसमा अन्नपूर्णका हिमाल लामा र विनीता कपाली जस्ता राष्ट्रिय टोलीमा प्रभाव पार्ने खेलाडीको उदय भएको थियो । कुनै समय उमेर समूहको प्रतियोगितामा अन्नपूर्णको पकड थियो । साना विद्यालयले सकारात्मक भूमिका निर्वाह गरे पनि शैक्षिक क्षेत्रका हस्ती भनिनेहरूले विगतमा नै खेल क्षेत्रमा बचेको मर्यादामा समेत ध्यान नदिएका धेरै उदाहरण छन् ।

प्रतिक्रिया