काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नआउन सक्ने बताएका छन् । शनिबार संघीय संसद् भवनमा बसेको नेकपा (एमाले) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाले वैदेशिक अनुदानका लागि स्थापना गरेको एमसिसी नआउन सक्ने भन्दै सहनुको विकल्प नभएको बताएका हुन् ।
उनले नेपालमा एमसिसी आउँछ कि ! भन्ने कतिपयको कुरा रहेको भन्दै एमसिसी कुनै देशमा पनि नजान सक्ने बताए । ‘एमसिसी अझै ४ वटा देशमा रोकिएको छैन । हाम्रोमा पनि आउँछ कि ! भन्ने कतिपयको कुरा छ । त्यसो नहुन सक्छ । हाम्रोमा नआउन सक्छ,’ उनले भने, ‘कहीँ पनि नजान सक्छ एमसिसी अब । अब एमसिसी आएन भने के गर्ने त ? त्यसमा सहनेबाहेक के विकल्प छ ?’
प्रधानमन्त्री ओलीले भविष्यमा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएको अवस्थामा सहुलियतपूर्ण ऋण तथा अनुदानसमेत कटौती हुने भन्दै देशले आफ्नो राष्ट्रिय तयारी गर्नुपर्ने बताए । उनले आफ्नो देश आफैँले विकास गर्नुपर्नेमा जोड दिए ।
यस्तै, प्रधानमन्त्री ओलीले नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले नेपालको आफ्नो पहिचान केही पनि छैन भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति कडा आलोचना गरेका छन् । उनले रेले नेपाललाई होच्याउन खोजेको भन्दै अहंकारी व्यक्तिको संज्ञा दिए । रेले राष्ट्रको सार्वभौमिकता र स्वाधीनता नबुझ्ने उनको भनाइ थियो । ‘नेपाललाई होच्याउन खोज्या हो त्यो । ती व्यक्तिमा बडा राष्ट्र अहंकार छ । तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन् । स्वाधीनता भन्ने कुरा बुझ्दैनन् । तिनले आकार मात्रै हेर्छन्,’ ओलीले भने, ‘हाम्रो सर्वाभौमसत्तालाई सम्मान गर्न नसक्ने, संकीर्ण मनका मान्छे हुन् । यस्ता एकाध मान्छेहरूले केही भने भनेर त्यसलाई फेरि देशकै सोचाइ हो, देशकै दृष्टि हो भनेर बुझ्नुहुँदैन ।’
बैठकलाई सम्बोधन गर्दै उनले संसद्को चालु अधिवेशनबाट थुप्रै विधेयक पारित गर्नुपर्ने उल्लेख गर्दै जस्तो पायो त्यस्तै विधेयक पारित हुन नदिन सांसदहरूलाई निर्देशन दिए । विधेयक ठिक ढंगले पारित भएन भने देशलाई वैचारिक र व्यावहारिक हिसाबले गलत दिशामा लान सक्ने उनले बताए ।
त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैंककबाट आउनासाथ सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर थुचुक्कै बसेको टिप्पणी गरे । ‘उहाँले आउनासाथ जबाफ दिनुभयो । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लाएर थुचुक्कै बसे,’ उनले टिप्पणी गरे ।
प्रतिक्रिया