‘कलह एकीकृत’ हुने त्रास, घरझगडा सल्टिने आस !

जनमत र नाउपाबीच एकता तय

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको संरक्षकत्व तथा रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच १७ वैशाखमा एकता घोषणा हुने भएको छ । २ पार्टीबीच काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकता घोषणा गरिने जनाइएको छ ।

लामो समयको गृहकार्यपछि यी २ पार्टीबीच एकता हुन लागेको हो । एकता घोषणा हुने भए पनि दुवै पार्टीका नेता, कार्यकर्ताबीच भने एकीकृत पार्टीमा पनि अहिलेका पार्टीमा झैँ कलह बढ्ने हो कि भन्ने आशंका कायमै छ । जनमत पार्टीमा आन्तरिक कलह बढ्दो छ । त्यस्तै, नाउपामा पनि उस्तै प्रकारको कलहले घर गरेको छ । एकीकृत पार्टीलाई कलहमुक्त गर्नुपर्ने चुनौतीमा दुवै दलका नेताहरू छन् ।

दुवै पार्टीले बोलाए केन्द्रीय कमिटीको बैठक

पार्टी एकताको विषयमा निर्णय गर्न दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नाउपाले १५ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै एकीकरणको दिन पनि सबै नेता–कार्यकर्तालाई अनिवार्य उपस्थित हुन भनेको छ । यता, जनमत पार्टीले पनि १६ वैशाखमा केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । दुवै पार्टीले एकता घोषणासभामा आउँदा आ–आफ्नो नागरिकता र परिचयपत्र लिएर आउन आग्रहसमेत गरेका छन् ।

मुख्य नेतृत्व रेशमको, कामको नेता सिके

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने सहमति जुटेको छ । पार्टीको पहिलो वरीयतामा संरक्षकका रूपमा रेशम चौधरी रहनेछन् भने कार्यकारी अध्यक्ष सिके राउत हुनेछन् । हाल नाउपा अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ भने सहअध्यक्षको जिम्मेवारीसहित तेस्रो वरीयतामा रहने जनाइएको छ । २५ जनाको सचिवालय, १०० जनाभन्दा बढीको संख्यामा केन्द्रीय कार्यकारिणी सदस्य र ४०० देखि ७०० जना हाराहारी केन्द्रीय कार्यसमिति सदस्य बनाइने गरी तयारी गरिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

यद्यपि, विधान प्रतिस्थापन कार्यदलले ठोस रूपमा सदस्य संख्याको विषय किटान गरिसकेको अवस्था नभएको भन्दै यसमा थपघट हुन सक्ने उनले बताए । दुवै पार्टीका ३/३ जना सदस्य रहने गरी विधान प्रतिस्थापन कार्यदल बनाइएको छ । सो कार्यदलले विधानसहितको संगठनात्मक संरचनाको सम्बन्धमा काम गरिरहेको छ ।


आफैँले जन्माएको पार्टीमा पत्नीलाई मनाएर पार्टी अध्यक्ष बन्न नसकेका रेशम एकीकृत पार्टीको जिम्मेवारी राउतलाई दिन तयार भएका छन् । पार्टी नेतृत्वको विवादमा परिरहने रेशम र रञ्जिताबीचमा कार्यकारी भूमिकामा सिके आएपछि यी २ जनाबीच हुने घरझगडादेखि राजनीतिक झगडासम्म मिलाइदिने महत्वपूर्ण व्यक्तिका रूपमा उनी रहने अपेक्षा नेता–कार्यकर्ताको छ ।

यसअघि रञ्जिताले आफ्नो ठोस भूमिका खोजेपछि एकतामा ढिलाइ भइरहेको थियो । नाउपा स्रोतका अनुसार राउतलाई पार्टी अध्यक्ष बनाउने जोडबल रेशमकै हो । उनले असन्तुष्टिकै बीचमा भए पनि सहअध्यक्षमा बल्लतल्ल पत्नी रञ्जितालाई मनाएका छन् । आफूले वैचारिक रूपमा सल्लाह, सुझावहरू दिने भन्दै पार्टीलाई सम्पूर्ण रूपले चलाउन रेशमले राउतलाई आग्रह गरिसकेका छन् ।

‘रेशमजीलाई पार्टीको कार्यकारी भूमिकामा जान कानुनले नै रोक्यो । उहाँको कुरा पत्नीले नै पनि टेर्नुभएन । भोलि पार्टीको भविष्य के होला भन्ने अन्योल भयो,’ सौर्य दैनिकसँग कुरा गर्दै नाउपाका एक नेताले भने, ‘नाउपा अब सिके राउतजीलाई जिम्मा लगाइने भएको छ । अब पति–पत्नीबीचको कलह पनि कम होला । राउतले ढुक्कले पार्टी चलाउनुहोला ।’

सौर्य दैनिकसँग कुरा गर्दै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले कसैको व्यक्तिगत अथवा पारिवारिक विषय पार्टी राजनीतिको विषय नबन्ने बताए । आफूहरूले व्यक्तिगत कुरामा भन्दा पनि देशको कुरामा चिन्तित भएर पार्टी एकता गरेको उनले सुनाए । ‘कसैको व्यक्तिगत र पारिवारिक झगडालाई राष्ट्रिय र पार्टीगत इस्यु बनाउनु हुन्न । पार्टी राजनीति र संसदीय राजनीतिमा के गर्ने भन्नेमा हामी कटिबद्ध छौँ । पारिवारिक र व्यक्तिगत समस्यामा चासो नदिई देशप्रति चिन्तित छौँ,’ उनले भने ।

मधेस केन्द्रितमा पहिलो, संसद्मा छैटौँ दल बन्ने

संघीय संसद्मा १४ वटा राजनीतिक दल छन् । आठौँ दलको स्थानमा रहेको जनमत पार्टीसँग ६ जना सांसद छन् । त्यस्तै ११औँ दल नाउपासँग ४ सिट छ । एकतापछि १० सिट संख्यासहित संघीय संसद्को छैँटौ ठुलो दलको हैसियत बन्नेछ । अहिले सरकारलाई समर्थन गरेर पनि ‘महत्वहीन’ बनिरहेका दुवै पार्टीको आगामी सरकारका लागि बन्ने अंकगणितमा भने महत्व बढ्ने देखिएको छ । संसदीय अंकगणितमा निर्णायक शक्तिका रूपमा नयाँ बन्ने दल हुने स्पष्ट देखिएको छ । तराई÷मधेस केन्द्रित राजनीतिक दलहरूमध्ये भने यो दल सबैभन्दा ठुलो राजनीतिक दल बन्नेछ ।

प्रतिक्रिया