मस्को । अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच मस्कोमा शुक्रबार ३ घण्टा लामो वार्ता भयो । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले सो वार्तामा भएको विषयलाई बाहिर ल्याएको छैन । तथापि राष्ट्रपति ट्रम्पले सामान्य रूपले प्रक्रिया अघि बढेको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्ण र निःशर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल हुने बताए । अमेरिकी प्रयासमा शान्ति सम्झौतामा उल्लेख गरिए बमोजिम धेरै मात्राको भूभाग रुसलाई दिएर युद्ध विराम गर्न युक्रेन तयार भइसकेको जनाइएको छ ।
अहिले सबैभन्दा चासो र जटिल विषय बनेको क्रिमिया कै विषय हो । ट्रम्पले सन् २०१४ देखि कब्जामा लिइएको क्रिमिया रुसलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् । विटकोफले यो वर्ष मात्र मस्कोको चौथो भ्रमण हो । ट्रम्पले बारम्बार युक्रेनलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले एक दिन अघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।
युद्ध पूर्णरूपमा अन्त्य हुने विषयमा भूगोलको सीमाको विषयमा कुरा गर्न जेलेन्स्की तयार भएको जनाइएको छ । टाइम म्यागेजिनसँगको पछिल्लो अन्तर्वार्तामा भने जेलेन्स्कीले अमेरिकी प्रस्ताव मान्ने पक्षमा आफूलाई तयार राखेका थिए ।
अहिले अमेरिकाका लागि शान्ति वार्ता अघि बढाउने विषयमा क्रिमिया सबैभन्दा झन्झटिलो हो । व्यावहारिक रूपमा क्रिमिया युक्रेनको हुने सम्भावना अति कम छ । यो अहिले रुसकै नियन्त्रणमा छ । तथापि यसलाई कानुनी अख्तियारी विरोधाभास पूर्ण हो ।
जेलेन्स्की बारम्बार सन् २०१८ मा ट्रम्प र विदेश मन्त्री माइक पोम्पोयोले क्रिमियाका बारे गरेको व्याख्याको सम्झना गर्न चाहन्छन् । सो समयमा पोम्पोयाले क्रिमिया रुसले लिएको कुरा अमेरिकाले स्वीकार नगर्ने तथा सो क्षेत्रमा पनि युक्रेनी सार्वभौमिकता लागू हुने कुरामा अमेरिका अडिग रहेको बताएका थिए । जेलेन्स्कीको बुझाइ के हो भने सोही समयमा ट्रम्पले क्रिमियाको सबालमा युक्रेनलाई साथ दिइनै सकेका थिए । तसर्थ अहिले यो कुरामा फेरबदलको आवश्यकता नै छैन ।
जेलेन्स्की युक्रेनको संविधानमा बाँधिएका छन् । ‘मलाई क्रिमिया कसैलाई दिने अधिकार युक्रेनको संविधानले दिएको छैन’, युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने । यो समस्या ट्रम्पको मात्र होइन । युद्धमा स्थायी समाधान खोज्नका लागि रुसले पनि युक्रेनको संविधान हेर्नु आवश्यक छ ।
यस वर्षको जनवरीमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल १० लाख रुसी सेना तथा ७ लाख युक्रेनी सेनाको ज्यान गइसकेको बताएका थिए । यसकारण उनी यस युद्धलाई बारम्बार रक्तपात पूर्ण भनिरहेका छन् । युक्रेनकै तथ्यांक अनुसार मार्च अन्त्यसम्ममा १ लाख ५८ हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ ।
प्रतिक्रिया