आमालाई वर्षको एक दिन मात्रै सम्झने होइन

हिन्दु धर्म र संस्कृतिअनुसार वैशाख कृष्ण औँसी तिथिलाई मातातीर्थ औँसी वा आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । शास्त्रमा बाबुभन्दा आमा १० गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भवः, आचार्यदेवो भवः भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । त्यसै गरी हाम्रो धर्म दर्शनले आमाबाबुलाई साथै गुरुलाई पनि स्वयं तीर्थकै प्रतिरूप मानेको छ । यसमध्ये आमालाई गंगा नामक तीर्थ भनेको छ भने बाबुलाई पुष्कर तीर्थ र गुरुलाई केदारतीर्थ मानेको छ ।

मातातीर्थ पर्वको प्रथा कुन बेलादेखि चलेको हो भन्ने विषयमा एउटा किंवदन्ती पनि छ । धेरै वर्ष अगाडि थानकोट नजिकै एउटा चौर थियो । त्यहाँ दिनदिनै एक बथान गोठालाले आफ्ना गाईबस्तु चराउने गर्दथे । एक दिन अचानक एक जना गोठालाले फ्याँकेको रोटीको टुक्राहरू बिलाएर गयो, त्यसले धेरैपटक रोटीका टुक्राहरू फ्याँक्दा पनि प्रत्येकपटक बिलाएर गएकोले त्यस कार्यको अनुशरण गरी अरु गोठालाहरूले पनि रोटीको टुक्रा फाले । तर, त्यहाँ आमाको मृत्यु भइसकेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू मात्र बिलाए र आमा जीवित रहेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू बिलाएनन् । फेरी यस्तै प्रकारको घटना त्यही एक दिन मात्र भयो र भोलिपल्ट देखि भएन । किनभने त्यस दिन वैशाख कृष्णपक्ष औँसीको दिन थियो ।

त्यसकारण त्यस दिन र त्यस स्थानको महत्व बुझी त्यो ठाउँ वैशाख कृष्णपक्ष औँसीका दिन मृत आमाहरू आएर आआफ्ना छोराछोरीहरूको हातबाट प्रदान गरिएका खाद्य बस्तुहरू ग्रहण गर्न आउने ठाउँ रहेछ भनी विचार गर्न थालियो । अनि त्यसै स्थानमा मानिसहरूले एउटा कुण्ड बनाई मातातीर्थ नामकरण गरेर बर्सेनि मातृ दिवस मनाउन थाले । सो कुण्डमा आफ्नै दिवंगत आमाको छाया पनि देख्न सकिन्छ भन्ने जनविश्वास पनि रहेकोले सो कुण्डमा प्रत्येक वर्ष आजकै दिन घुइँचो लाग्छ ।

आमाको मुख हेर्ने दिनकोरूपमा परिचित यस दिनमा आमा हुने छोराछोरीले आमालाई स्वादिष्ट व्यञ्जन, कपडा, सगुन उपहार दिई दर्शन गर्छन् भने आमा नहुनेले तर्पण, सिदा दिई श्राद्ध गर्दछन् । आमाले हामीलाई यस धर्तीमा ल्याइन्, हुर्काइन, पढाइन्, लेखाइन र योग्य नागरिक बनाइन्, उनीभन्दा ठुलो तीर्थ हाम्रालागि अरू केही हुन पनि सक्दैन । सन्तानले जति नै दुःख दिए पनि उनी कहिल्यै पनि कुभलो चाहँदिनन्, हरबखत कुनै परबाह नराखिकन उनी हरहमेशा निःस्वार्थ भावले आफ्नो सन्तानको उद्धार मात्र चाहन्छिन्, भलाई चाहन्छिन् ।

आधुनिक युगमा मात्र होइन प्राचीन युगमा पनि आफ्नी आमासरह मातृभूमिलाई पनि पवित्र मानिएको छ । जस्तै संस्कृत भाषाको एक उक्ति छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात आमा र जन्मभूमि भनेको स्वर्गभन्दा पनि ठूला हुन् । त्यसैले हामी आफ्नो आमालाई जस्तै आदर र सम्मान गर्छौं, त्यस्तै आफ्नो मातृभूमिलाई पनि आदर सम्मान र माया गर्नुपर्छ र मातृभूमिको हित हुने कार्यमा लाग्नुपर्छ । हाम्रो शास्त्रमा के उल्लेख छ भने आमालाई राम्ररी खुसी पार्नेको दरसन्तानको समेत कल्याण हुन्छ ।

आमा स्वर्गारोहण भइसकेकका छोराछोरीहरू आफ्नो जन्म दिने आमाको सम्झना गर्दै विभिन्न किसिमको पवित्र तीर्थमा स्नान गरी श्राद्धसमेत गर्ने गर्दछन् । आमा नहुने छोराछोरीले नुहाएर पवित्र भई सीधा दान गर्दछन् । साथै स्वर्गीय आमाको आत्माले शान्ति पाओस् भनेर देवीदेवताको मन्दिरमा गई आमाको सम्झनामा धूपदीप बाली पूजाआजा गर्ने चलन छ ।

आमाकै विशेष स्नेह र लालनपालनमा हामी हुर्किएका हुन्छौँ । आमा जननी हुन् । आमाको त्याग, तपस्या तथा मायाको उदाहरण पृथ्वीमा अर्को पाइत्र । हामीलाई सास फेर्न सम्भव बनाउने व्यक्ति आमा करुणाकी मूर्ति हुन् । आमाको करुणाभावले नै सन्तानको जीवन उद्धार भएकोे हुन्छ । सन्तानकोे भावनात्मक शक्ति तथा आत्मबल बलियो र स्थिर बनाइराख्ने शक्ति आमामा हुन्छ । आमाले आफ्ना सन्तान हुर्किसक्दा पनि उनीहरूका हरकुरामा चासो र ख्याल राखेकी हुन्छिन् ।

यसर्थ सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा ठूलो हो । तर, के हामीले आफ्नी आमालाई उहाँले हामीलाई जन्म दिँदाको समयमा के–कस्तो अनुभव गर्नुभयो ? भत्रे सामान्य कुरा कहिल्यै सोधेका छौँ ? सन्तान जन्म दिँदा भोगेका सुख–दुःखका अनुभवले महिलाको मनमा दूरगामी असर पारेको हुन्छ । धेरै आमाले पहिलो बच्चा जन्माएपछि अब अर्को बच्चा पाउन नपरोस् भत्रे दुःखपूर्ण अभिव्यक्ति दिएको सुनिएको छैन । आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागतरूपमा आफ्नो संस्कृतिको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन चलिआएको छ । त्यसैले यो पर्वसँग धार्मिक आस्था मात्र गाँसिएको नभई भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यही प्रेम, आस्था र श्रद्धालाई प्रत्येक व्यक्तिले आफ्नी आमाप्रति दर्शाइनुपर्ने भावभक्तिकारूपमा आजको यस दिनलाई मनाउनुको प्रमुख सामाजिक विशेषता नै हो ।

हाम्रो समाजले माता, पिता र गुरुलाई सम्मान गर्नकै लागि भए पनि वर्षको एक दिन पर्वकै रूपमा यी दिनहरूलाई अगाडि सारेर सोको गरिमा झन् बढाएको पाइन्छ । मातृऔँसी, कुशेऔँसी र गुरु पूर्णिमा यसका उदाहरण हुन् । यसको मतलब यो होइन कि वर्षको एक दिन उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अनि बाँकी दिनहरूमा कुनै वास्ता नगर्ने । आमा शब्द नै सन्तानका लागि अति प्रिय छ ।

आमाप्रतिको आस्थालाई हामीले जगाइराखौँ, जोगाइराखौँ । फलतः हामीमध्ये झुक्किएर पनि वृद्धाश्रममा आफ्ना बाबु आमालाई राख्ने कोशिस नगरौँ । त्यस्तै गरी वर्षको एकदिन अर्थात् सामाजिक सञ्जालमा आजकै दिन आमाको फोटो राखेर सम्झिनुभन्दा प्रत्येक पलमा आमाको ममतामयी स्पर्श, स्नेह, त्याग, संघर्ष आदिको स्मृति गरौँ ।

प्रतिक्रिया