प्रचण्डले भने– सरकारले लाज पचाएर शिक्षकहरुलाई अपमानित गरेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सरकारले लाज पचाएर शिक्षकहरुलाई अपमानित गरेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको भन्दै लाज पचाएर शिक्षकलाई अपमानित गरेको बताएका हुन् ।

शनिबार प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप प्रचण्डले लगाए ।

‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ, शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ, त्यसका लागि छोटो बाटोबाट लानुपर्छ,’ प्रचण्डले भने, ‘शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ, अदालतले पनि आदेश जारी गरिसकेको छ , त्यो पनि गर्न खोजेको जस्तो देखिँदैन, सरकार त्यसको निम्ति तयार देखिँदैन ।’

उनले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको आन्दोलनप्रति दोहोरो चरित्र देखाएको समेत आरो लगाए ।

‘प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,’ प्रचण्डले भने । साथै, अध्यक्ष प्रचण्डले लामो संघर्ष र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको पनि बताए

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु धेरै दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । शिक्षा ऐनलगायत विभिन्न माग राख्दै शिक्षकहरु गत चैत २० गतेबाट काठमाडौका सडकमा आन्दोलनरत छन् ।

प्रतिक्रिया